पोखराको सहारा क्लबले असहाय बालकहरूको सहयोगार्थ बर्सेनि फुटबल प्रतियोगिता आयोजित गर्दै आएको छ । विगत १७ वर्षदेखि निरन्तर सञ्चालन हुँदै आएको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताबाट बचत रकम क्लबले सहारा फुटबल एकेडेमीमा खर्च गर्छ । यो प्रतियोगिताको १७ औं संस्करण फागुन ९ गतेदेखि फागुन १८ गतेसम्म पोखरा रंगशालाको खेल मैदानमा सञ्चालन हुनेछ । प्रतियोगितामा विदेशी, ए डिभिजनका क्लबहरू, पूर्व र पश्चिम क्षेत्रका टिमहरू तथा आयोजक सहारा क्लब पोखरासहित कुल १२ वटा टिमको सहभागिता रहने क्लबले जनाएको छ । सहारा क्लबद्वारा सञ्चालित एकेडेमीमा हाल तेस्रो व्याचका १६ जिल्लाका २८ जना बालक आश्रित छन् ।
एकेडेमीमा कास्की जिल्लाका मात्र ८ जना बालक छन्, जसमा सन्तोष खत्री, निश्चल भण्डारी, रोजित नेपाली, सन्दीप क्षेत्री, अविशेक राना, सूर्य सुनार, समीर ढुङ्गाना तथा शेखर भेट्टाल छन्् । यो एकेडेमी सुर्खेतका कमल सोमै मगर, ताप्लेजुङका अनिस पोमु लिम्बू, पाल्पाका दानु चिदी मगर, तनहुँका सुस्मान दुरा, विशाल नेपाली तथा नवराज धमेलसमेतको सहारा बनेको छ ।
स्याङजाका स्वलोक गुरुङ, सन्देश गुरुङ तथा निरज विक, बाग्लुङका मुकु्न्द कुमार निउरे, झापाका सागर थापामगर, रुकुमका कुशाल बूढामगर, चितवनका प्रमिश गुरुङ, म्याग्दीका शंकर थापामगर, मुस्ताङका सुविन परियार, कैलालीका भागवत चौधरी तथा समीर चौधरी, पर्वतका शिशिर क्षेत्री, डोल्पाका सन्तोष शाही, लमजुङका युकेश गुरुङले पनि सहारा एकेडेमीको सहयोगमा आफ्नो भविष्य उज्वल बनाउने प्रयास गरिरहेका छन् ।
कक्षा ७ देखि ९ सम्म अध्ययनरत उनीहरू सबै पोखराको शिशु कल्याण आधारभूत विद्यालयमा पढ्छन् । उनीहरू बिहान ५ बजे उठ्छन् । विहानको खाजा साढे ५ बजे खान्छन् । ६ बजे उनीहरू फुटबल खेल्न तयार हुन्छन् अनि एकेडेमी परिसरमा रहेको फुटबल मैदानमा जम्मा हुन्छन् । झन्डै आठ बजेसम्म फुटबल खेलेपछि ९ बजे स्कुलतर्फ लाग्छन् । स्कुलबाट फर्किएपछि खाजा खाएर साढे ५ बजेदेखि फुटबल खेल्छन् । बेलुकाको खाना पश्चात् उनीहरू अध्ययनमा व्यस्त हुन्छन् । विद्यालयको होमवर्क लगायतका काम सकेर उनीहरू सुत्छन् ।
फेरि भोलिपल्ट उस्तै दैनिकी सुरु हुन्छ । परीक्षाको समय र बिदाका दिन भने उनीहरूको यो दैनिकीमा केही परिवर्तन आउँछ । लामो छुट्टिमा कोही आफन्तकहाँ जान्छन् त कोही अभिभावककहाँ । अन्य समयमा भने एकेडेमीमै रहेर अध्ययन एवं खेलमा मेहनत गर्छन् । उनीहरूलाई अत्यास नलागोस् भनेर एकेडेमीले विभिन्न कार्यक्रम मार्फत रिर्फेससमेत गराउँछ । सानै उमेरमा परिवार गुमाएका ती बालकलाई न्यानो माया र साथ प्रदान गर्दै एकेडेमी उनीहरूका लागि अघि बढ्न दरिलो सहारा बनेको छ । एकेडेमीमा रहेका २८ जना सँगै खेल्छन्, सँगै पढ्छन् त्यसले उनीहरूलाई एक्लो महसुस हुन दिँदैन ।
सहारा एकेडेमीको स्थापना २०५८ सालमा भएको हो । फुटबल खेलाडी उत्पादन गर्ने सोचका साथ सुरु भएको एकेडेमीमा पहिलो पटक २ सय जनाले आवेदन दिए, जसमा सबै फुटबलप्रति रुचि भएकाहरू थिए । त्यसबाट २० जना छानिए । नेपाली फुटबलर अनिल गुरुङ एकेडेमीको पहिलो उत्पादन हुन् । २०६१ मा भने कठिन परिस्थितीका विभिन्न १६ जिल्लाका २० जना एकेडेमीमा भर्ना भए । छनौट गर्दा पहिलो पटकको जस्तो फुटबल खेलाडी मात्र प्राथमितामा थिएनन् । उनीहरूलाई विपन्न वर्ग तथा कठिन परिस्थितिका बालकबीचबाट छानियो । यसबाट पनि लक्ष्मण जिसी, अजित भण्डारी आदि खेलाडी जन्मिए ।
दोस्रो चरणका बालकहरू पास आउट भएपश्चात् २०७० को वैशाखदेखि पोखरा १७ दोविल्लामा एकेडेमी सञ्चालन गरी पुन: विपन्न वर्ग तथा कठिन परिस्थितिका ८ देखि १० वर्ष उमेर समुहका १३ जना छनौट गरिए । विस्तारै बालक छनौट गर्दै थप्ने क्रममा १६ जिल्लाका २८ जना बालक पुगे । राष्ट्रिय खेलकुद परिषद, जिल्ला फुटबल संघ, सञ्चारमाध्यम तथा विभिन्न संघसस्थाको सहकार्यमा ती बालकहरू छनौट गरिएका थिए । यसमा सधैं क्लबले तोकेको मापदण्ड पूरा गर्नेहरू छानिने संयोजक विक्रम थकालीले बताए । अहिले तीनै बालक एकेडेमीमा रहेर एकेडेमीले आफुप्रति लगाएको गुनअनुरूपको परिणाम देखाउने गरी मेहनत गर्दैछन् । राज्यले सहयोग गरेको खण्डमा फुटबल खेलाडी मात्र उत्पादन गर्ने अर्को एकेडेमी पनि सञ्चालन गर्न तयार रहेको थकालीले बताए ।
पोखराको सहारा क्लबद्धारा सञ्चालित एकेडेमीका संयोजक विक्रम थकाली भन्छन् । ‘आत्मा साक्षी राखी मन, वचन र कर्मले सेवा गरौं भन्ने भावनाका साथ एकेडेमी सञ्चालन गरेका हौं ।’ उनको टिममा बसेर केशबबहादुर थापा, हरिराम गुरुङ, विश्वराज बराल, राजु लालचन, सुर्दशन रञ्जित तथा रामजी कार्कीले सघाएका छन् । यसका अतिरिक्त थुपै्र शुभचिन्तकको साथ–सहयोग सहारालाई छ ।
एकेडेमीमा ४ जना कर्मचारी छन् । एकेडेमी सञ्चालनका लागि मासिक खर्च झन्डै १ लाख ८० हजार रुपैयाँ चाहिन्छ । उनीहरूले एकेडेमी सञ्चालनका लागि बर्सेनि आहा रारा गोल्डकप फुटबल प्रतियोगिता आयोजित गरेर बचत भएको रकम खर्च गर्ने गरेका छन् भने खर्च जुटाउन देउसी–भैलो कार्यक्रमसमेत सञ्चालन गरिन्छ । उनीहरूले विभिन्न दाताबाट उठाएको अक्षयकोषको रकम झन्डै १ करोड रुपैयाँ पुगेको छ ।
अक्षकोषको रकम तथा त्यसबाट प्राप्त हुने व्याज एकेडेमी सञ्चालनमा खर्च गर्नु नपरेको संयोजक थकालीले बताए । बेला–बेला विभिन्न व्यक्ति तथा संघ संस्थाका प्रतिनिधिहरू एकेडेमी पुगेर त्यहाँ रहेका बालकहरूलाई हौसला प्रदान गर्छन् । ती बालकहरूका लागि देश–विदेशमा रहेका नेपालीहरूले आर्थिक तथा अन्य सहयोग सहारा क्लबमार्फत प्रदान गर्दै आएका छन् ।