साप्ताहिक संवाददाता
मोबाइलबिनाको जीवन कल्पना गर्न नसकिने भएको छ । हरमानिसको हातमा हुने मोबाइल बहुउपयोगीसमेत बन्दैछ । प्रत्यक्ष कुराकानी गर्नदेखि लिएर मोबाइलमा एप तयार गरी त्यहींबाट बिरामी र चिकित्सकबीच सेवा आदान–प्रदान हुन थालेका छन् ।
अस्पतालहरूको विवरण, अस्पतालमा उपलब्ध चिकित्सक, चिकित्सक उपलब्ध हुने समय त सामान्य नै भए । नेपालमै कतिपय संस्था तथा अस्पतालले अनलाइनबाट परामर्श उपलब्ध गराउन थालेका छन् ।
ई–पेइङको सहायताले बिरामी र चिकित्सकको प्रत्यक्ष भेटघाटबिना नै त्यस्तो सेवा सम्भव भएको हो । चिकित्सक–बिरामी परामर्श मात्र नभएर औषधीहरूका बारेमा जानकारी दिने, रोग विशेष चिकित्सकको जानकारी तथा सम्पर्क गराउने एवं अस्पतालहरूको विवरण उपलब्ध गराउने काममा समेत मोबाइल एपको प्रयोग बढ्दो छ ।
अहिले चलनचल्तीमा आएका स्वास्थ्य सेवा र जानकारीसम्बन्धी एपमा हाम्रो डाक्टर, हस्पिटल्स नेपाल, मेडिकल रेकर्ड, नेपाल मेडिकल एसोसिएसन, ड्रिम्स नेपाल, हेल्थकेयर प्रोफेसनल्स, डक्टर्स नेपाल, बेस्ट मेडिकल एप्लिकेसन अग्रणी छन् ।