युवा अवस्थालाई एकदमै संवेदनशील मानिन्छ । यस्तो अवस्थामा किशोर–किशोरीलाई अभिभावकहरूले बेलैमा राम्रो निगरानीमा राख्न नसक्दा उनीहरू कुलतमा फसेर जघन्य अपराध गर्न पुग्छन् ।
भदौ २५ गते नै दमकका युवा व्यवसायी ३८ वर्षीय खेमराज पौडेलको आफ्नै व्यवसायिक सहकर्मीबाट हत्या गरियो । पौडेलको हत्या गौरीगन्जका २८ वर्षीय सद्दाम हुसेनले गरेका थिए । पौडेलको हत्याको कारण पनि आर्थिक लेनदेन नै थियो । असोज १ गते विराटनगर—१७ का १८ वर्षीय महम्मद अस्फाकको अपहरणपछि हत्या भयो । अस्फाकको हत्याको आरोपमा उनकै साथी २० वर्षीय मोहम्मद सद्दिम हुसेन र २१ वर्षीय मोहम्मद अरिफ आलम पक्राउ परे ।
विदेश जाने तयारीमा रहेका हुसेनले रमाइलोका लागि खर्च जुटाउन योजनाबद्ध रुपमा अस्फाकको अपहरण गरेकै दिन हत्या गरेर उनको परिवारसँग फिरौती मागे, तर असोज ७ गते ह्युमपाइपभित्र अस्फाकको शव फेला परेपछि अनुसन्धानका क्रममा पक्राउ परेका आलम र हुसेन अनुसन्धानकै क्रममा कात्तिक ९ गते इलाका प्रहरी कार्यालय रानीबाट फरार भए ।
कात्तिक २ गते विराटनगर–११ का १८ वर्षीय कुहिरा भनिने विशाल सहनीले विराटनगर–१९ का राहुल भगतको पेट तथा छातीमा छुरा प्रहार हत्या गरे । विशालको समूहले चाडपर्वको अवसर पारेर लागेको स्थानीय मेला घुम्ने क्रममा दुव्र्यवहार गरेको झोकमा भगतको हत्या गरेका थिए ।
माथि उल्लेखित घटनाहरू सबैमा अभियुक्त देखिएका युवाहरूको उमेर २८ वर्षभन्दा कम छ । घटनाक्रमअनुसार तीमध्ये केहीले प्रेम, केहीले तत्कालीन आवेग थेग्न नसक्दा त केहीले आर्थिक लेनदेनका कारण जघन्य अपराधको बाटो रोजेको देखिन्छ । युवा अवस्थालाई एकदमै संवेदनशील मानिन्छ । यस्तो अवस्थामा किशोर–किशोरीलाई अभिभावकहरूले बेलैमा राम्रो निगरानीमा राख्न नसक्दा उनीहरू कुलतमा फसेर जघन्य अपराध गर्न पुग्छन् ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय, विराटनगरले सार्वजनिक गरेको पछिल्लो ३ वर्षको तथ्याङ्क हेर्ने हो भने अपराधमा युवाहरूको संलग्नता डरलाग्दो देखिन्छ । आर्थिक वर्ष ०७४/७५ को अभिलेखअनुसार जघन्य प्रवृतिको अपराधमा युवा उमेर समूहको संलग्नता बढी छ । गत आर्थिक वर्षमा १ नम्बर प्रदेशका १४ जिल्लामा ७ हजार ६ सय ९१ वटा आपराधिक घटना घटेका थिए, जसमध्ये जघन्य अपराधका घटना ९ सय ९८ वटा छन् । प्रहरीले जघन्य अपराधमा संलग्न १ हजार २४ जना पुरुष तथा ५७ जना महिलासमेत गरी १ हजार ८१ जनालाई पक्राउ गरेको थियो ।
प्रदेश प्रहरीको अभिलेखअनुसार जघन्य अपराधमा १ हजार ८१ जना पक्राउ परेका मध्ये ३ सय २६ जना १६ देखी २५ वर्ष उमेर समूहका छन् । त्यस्तै २६ देखी ३५ वर्षसम्मका ४ सय ८७ जना, ३६ देखि ४५ वर्ष उमेरका १ सय ९० जना छन् । ४६ देखि ६० वर्षका ७४ जना, ६० वर्षमाथिका १ जना र १६ वर्ष मुनिका ३ जना रहेको देखिन्छ ।
प्रदेश नम्बर १ मा कर्तव्य ज्यान, जबर्जस्ती करणी, ज्यान मार्ने उद्योग, हातहतियार खरखजाना तथा लागू औषधमा संलग्नहरूमध्ये १६ देखि २५ वर्ष उमेर समूहका युवाहरूको संख्या बढी छ । आर्थिक वर्ष ०७३/०७४ मा प्रदेशमा कर्तव्य ज्यानका १ सय ३८ मुद्दामध्ये १ सय ४ जना १६ देखि २५ वर्ष उमेर समूहका युवाहरूको संलग्नता पाइएको थियो । जबरजस्ती करणीमा पनि चालू आर्थिक वर्षको ३ महिनामा दर्ता भएका १ सय ६० वटा मुद्दामध्ये ९२ वटा मुद्दामा युवाहरू संलग्न छन् । यसैगरी ज्यान मार्ने उद्योगका ८४ वटा घटनामा ५५ जना युवा संलग्न पाइएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर प्रवक्ता डिएपी सिद्धराज न्यौपानेले जानकारी दिए । यसैगरी हातहतियार खरखजना र लागूऔषध ओसार पसारमा पनि १६ देखि २५ वर्ष उमेर समूहका युवाहरूको संलग्नता बढी छ ।
बेरोजगार व्यक्तिले आफू अनुकूल उपलब्धि प्राप्त नगरेपछि अपराधतर्फ उन्मुख हुने जानकारहरू बताउँछन् । वरिष्ठ मानसिक रोग विशेषज्ञ डा. रोशन पोखरेलका अनुसार किशोर उमेरका युवाहरूमा अचानक स्वभाव परिवर्तन भै रिसाउने, झोक्किने, इन्टरनेटमा बढी झुम्मिने र अश्लील चलचित्र हेर्ने बानी देखिए उनीहरूलाई तत्काल चिकित्सकको सम्पर्कमा पुर्याउनुपर्छ । डा. पोखरेलका अनुसार एक्लै बस्न रुचाउँछन् वा ढोका थुनेर बस्छन् भने उनीहरू लागूऔषधको लतमा परेका हुन सक्छन् ।
मदिरा र लागूपदार्थको लत लागेका किशोर–किशोरीहरू ट्रयाकभन्दा बाहिर जान सक्छन् । उनीहरू बिस्तारै अपराधतर्फ उन्मुख हुन पुग्छन् । युवाहरूको व्यवहारमा अचानक आएको परिवर्तन बुझ्न सके बढी परामर्श र थोरै औषधिबाट उनीहरूलाई गलत बाटोमा जान बाट रोक्न सकिन्छ । महेन्द्र मोरङ क्याम्पस समाज शास्त्रका उपप्राध्यापक चन्द्र उपाध्याय सामाजिक विचलनका कारण युवापुस्तामा आपराधिक मनोवृत्ति बढ्दै गएको बताउँछन् ।