उनीहरू लालायित थिए सुन्दर गाउँ घुम्न । साथमा डर्ट बाइक लिएर निस्किए यात्रामा । बाइकमै साहसिक पदयात्रा गर्ने उनीहरूको योजना हो । उनीहरूका लागि यसपालिको गन्तव्य थियो— कास्कीको सुन्दर गाउँ सिक्लेस । सामान्यत: जहाँ सडक छ त्यहाँ सवारी साधन पुग्छ, तर आठ जना युवाको टोली सिँढीको बाटोमा सवारी साधन गुडाउदै गाउँ पुगे । उनीहरूलाई त्यहाँसम्म पुर्याउने व्यवस्था मिलाएको थियो ओजन एक्स्पिडिसन नेपालले ।
पोखराबाट ती युवा आफ्ना ज्यानको परवाह नगरी सिक्लेस गाउँका आँगनको सिँढी–सिँढी बाइक दौडाउँदै गाउँको पछाडि पर्ने भ्यू प्वाइन्ट पुगे । यात्रा कठिन र जोखिमपूर्ण थियो, तर उनीहरूको साहसले त्यसलाई सहज बनाइदियो । उनीहरूले सिँढीको बाटोमा बाइक चलाएको देख्दा गाउँलेहरूले चासो राखे । एक गाउँलेले सोधिहाले, तपार्इंहरूलाई आफ्नो शरीरको माया लाग्दैन ? बाइक राइडरले हाँस्दै जवाफ दिए— हामीले खोजेको ट्रयाक नै यस्तै हो । यो ट्रयाकलाई यस्तै रहन दिनु ।
यस्तो साहसिक यात्रा गर्न विदेशीले बढी रुचाउने ओजन एक्स्पिडिसन नेपालका सञ्चालक महेन्द्र गुरुङ बताउँछन् । विदेशीमा पनि रसियन पर्यटकको रोजाइमा पर्छ यस्तो ठाउँ । अब दोस्रो चरणमा सिक्लेसमा विदेशी र नेपाली गरी ४० जनाको बाइक राइड गराइने गुरुङले बताए ।
बाइक राइडमा गएका युवाहरूले गाउँलेहरूसँग कुराकानी पनि गरे । पुर्खाले बनाएको बाटोको महत्व बढाउदै बाइक राइडमार्फत पर्यटकीय स्थलको प्रचार गर्न सके यसको महत्व अझ बढ्ने उनीहरूले बताए । यसो भनिरहँदा गाउँलेहरूले खबर गरेर आउन आग्रह गर्दै आउँदा गाउँको चलनअनुसार स्वागत गर्ने जवाफ दिए । यस्ता साहसिक कार्यक्रमले विदेशी पर्यटकलाई आकर्षित गर्छ । यस्तो बाइक राईड नेपाली युवाहरूमा समेत बढ्दै गएको छ । नेपालमा एड्भेन्चर गेम र कार्यक्रमहरू आयोजना गर्दै जाने हो भने मात्र अहिलेको तथ्यांकअनुसार पर्यटनमा ४० प्रतिशत बृद्धी हुने उनीहरूको दावी छ ।
कास्कीको मादी गाउँपालिकामा पर्ने सिक्लेस गाउँमा गुरुङ कला–संस्कृतिको जीवन्त अनुभव गर्न पाइन्छ । सिक्लेस लमजुङ हिमालको काखमा अवस्थित छ । करिब ४ सय घरधुरी रहेको यो गाउँ झुप्प परेर बसेको छ । समुद्री सतहबाट २ हजार मिटरको उचाइमा रहेको यो गाउँबाट डेढ घण्टा उकालो चढेपछि मनमोहक रिसिङ डाँडा पुगिन्छ । गुरुङ संस्कृतिको धनी सिक्लेसमा चरा एवं वन्यजन्तु प्रेमीहरू रमाउन सक्छन् । उक्त क्षेत्रको जंगलमा विभिन्न पशुपन्छी पनि सजिलै देख्न सकिन्छ ।
पोखरा महानगरपालिका–१३ मा पर्ने काहुँखोलाबाट ३८ किलोमिटर उत्तरमा पर्छ सिक्लेस । सिक्लेसमा खान र बस्न स्थानीय बासिन्दाले सञ्चालन गरेका १५ घरमा घरबास (होमस्टे) तथा १२ वटा होटल उपलब्ध छन् । त्यहाँ स्पेसल लोकल अर्गानिक खाना, ढिँडो आदि खाना पाइन्छ । गुरुङ कला संस्कृतिको जीवन्त अनुभव गर्न पाइने यो गाउँ समुद्री सतहबाट २ हजार मिटर उचाइमा छ ।
यहाँ ढुङ्गाले छाएको एवं छापिएको गुजुमुच्च तर अत्यन्त सफा र सुन्दर नमुना बस्ती देख्न पाइन्छ । अन्नपूर्ण–२, अन्नपूर्ण–४, लमजुङ हिमाल आदि दृश्यले त्यहाँ पुग्दाको थकान तुरुन्तै मेटिन्छ ।
नेपालकै ठूलो गुरुङ बस्तीका रुपमा रहेको यो गाउँ अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गतको घलेखर्क सिक्लेस ईको ट्रेकभित्र पर्छ । यहाँ रहेका दुइवटा टावरबाट दृश्यावलोकन गर्न सकिन्छ । पर्यटकलाई आमा टोली बोलाएर स्वागत गर्ने चलन सिक्लेसमा छ । त्यहाँ ‘कफुचे’ हिम ताल
समेत छ ।
डर्ट बाइक राइडमा सिक्लेस यात्रा अवधि एक रात दुई दिन हो, जसको ७ हजार रुपैयाँ खर्च लाग्छ । त्यसमा फ्युल, खाने र बस्ने सुविधा, मेडिकल टिम, प्राविधिक टिम समेत उपलब्ध हुन्छ । बाइक बिग्रिए बोक्न ब्याकअप गाडीको समेत व्यवस्था हुन्छ । यस्तो यात्रा जोखिमसँगै रमाइलो पनि हुन्छ । यो एडभेन्चर मन पराउनेहरूको रोजाइमा पर्छ । ओजन एक्सिपिडिसन नेपालले यसअघि अपर मुस्ताङ, रारा ताल, मनाङ आदि ठाउँमा यस्तै कार्यक्रम सञ्चालन गरेको थियो । यो ट्राभल कम्पनी हो । यसको प्राथमिकतामा साहसिक पर्यटनमा छ । अग्ला पहाडदेखि होचा खोचसम्म आन्तरिक तथा बाह्य पर्यटकलाई पुर्याउने ओजन एक्सिपिडिसनको लक्ष्य छ । बाटो खनिएको तर व्यवस्थित तरिकाले सवारी सञ्चालन नभएका ठाउँमा आन्तरिक तथा बाह्य पर्यटकलाई पुर्याउँदै पर्यटकीय स्थलको प्रवद्र्धन गर्ने उद्देश्यले यस्तो कार्यक्रम सञ्चालनमा ल्याइएको हो ।