साप्ताहिक संवाददाता
माघ ३, २०७५
अभिनय र नृत्यमा रहर भएका तर सार्वजनिक जीवनमा आफ्नो कला प्रस्तुत गर्न नसकेकाहरूका लागि सामाजिक सञ्जाल टिकटक उत्कृष्ट विकल्प सावित भएको छ । मोबाइल एप डाउनलोड गरेपछि जो–कोहीले आफ्नो कला प्रदर्शन गर्न सक्ने टिकटकमा लोकप्रिय कलाकारहरूसमेत व्यस्त छन्, सर्वसाधारणको त कुरै बेग्लै ।
खासगरी टिनएजका युवतीहरू टिकटकमा झुम्मिरहेका छन् । यसबीच प्रदर्शनको तयारीमा रहेको चलचित्र गरुड पुराणबाट पदार्पण गरेकी अभिनेत्री प्रियंका सिंह ठकुरीले चलचित्रको अभिनय र टिकटकको भिडियोबीच तुलना गरेकी छिन् ।
उनको भनाइ छ– ‘चलचित्रमा अभिनय गर्नु भनेको घरमा बसेर टिक टक भिडियो बनाउनु जस्तो होइन । चलचित्रको अभिनयका लागि वर्कसप हुन्छ, निर्देशक हुन्छन् अनि दर्शकहरू पनि हुन्छन् । त्यसैले चलचित्रमा अभिनय गर्ने कलाकारले धेरै कुरामा ध्यान पुर्याउनुपर्छ ।’