साप्ताहिक संवाददाता
४५ लाख रुपैयाँमा अभिनय गर्ने सम्झौता पत्रमा हस्ताक्षर गरिसकेका अभिनेता अनमोल केसीले प्रि–प्रोडक्सनमा रहेको चलचित्र ‘ब्याचलर बन्टि’ बाट हात झिकेका छन् । निर्माता सुदीप खड्कासँग केही अघि मात्र वैशाखदेखि फ्लोरमा जाने गरी सम्झौता गरेका अनमोलले साइनिङ अमाउन्डका रूपमा लिएको १० लाख रुपैयाँसमेत फिर्ता गरेका छन् ।
अनमोलले गत आइतबार औपचारिक रुपमा उक्त चलचित्र छाडेको घोषणा गरेका हुन् । भनिन्छ, अनमोललाई चलचित्रको कथा चित्त बुझ्दो लागेन । स्क्रिप्टमा समस्या नभए पनि कथा मन नपरेकै कारण अनमोलले ठूलो धनराशि पारिश्रमिक पाउने चलचित्र छाडेको बताइन्छ ।
‘मेरा लागि तयार पारिएको चरित्रमै मैले चित्त बुझाउन सकिन्, अनमोल भन्छन्– ‘आफूलाई नसुहाउने चरित्रमा जबर्जस्ती अभिनय गर्नु गलत हो जस्तो लागेर पछि सरेको हुँ ।’ अनमोलले आफ्नो अभिनय करियरमा पहिलो पटक सम्झौता गरिसकेको चलचित्र छाडेका हुन् ।