साप्ताहिक संवाददाता
दीपक आचार्यको परिचय धेरै छ । आचार्य चलचित्रमा लगानी गरेर निर्माता बने । विभिन्न चलचित्रको स्क्रिप्ट लेखे । दुई दर्जनभन्दा बढी डकुमेन्ट्री निर्देशन गरे । हाल उनी काकु नामले चर्चित टेलिश्रृंखला भद्रगोलमा अभिनय पनि गरिरहेका छन् ।
यति मात्र होइन भद्रगोलका श्रृंखला निर्देशक तथा स्क्रिप्ट राइटर पनि हुन् उनी । आचार्य भद्रगोल टिमले हालसालै सञ्चालनमा ल्याएको इचिवान नामक रेस्टुराँको म्यानेजिङ डाइरेक्टरसमेत हुन् । झन्डै २० वर्षदेखि नेपाली रंगिन दुनियाँमा सक्रिय आचार्यले सक्ने र भ्याएसम्म सबै काम गरेका छन् ।
टेलिभिजनमा कार्यक्रम चलाउँदा लागेको ऋण तिर्न दुबई गएका आचार्य फेरि फर्किएर कला क्षेत्रमै संघर्ष गर्न थाले । आचार्यका बारेमा धेरै कुरा धेरैलाई थाहा भए पनि उनका बारेमा एउटा कुरा भने धेरैलाई थाहा छैन । कुनै बेलाको चर्चित टेलिश्रृंखला मेरी बास्सै जन्माउने यिनै आचार्य हुन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ तर यथार्थ यही हो ।
मेरी बास्सैको पहिलोदेखि दर्जनभन्दा बढी स्क्रिप्ट उनैले लेखेका हुन् । उनले लेखेको पहिलो डमिको छायांकन गरेर मेरी बास्सै सुरुवात भएको थियो । हाल धुर्मुस–सुन्तलीको नयाँ चलचित्र सेन्टि भाइरस र आफ्नै एक चलचित्रको कथा लेखनमा व्यस्त आचार्यले लेखेको मेरी बास्सै मन पराइएपछि धमाधम टेलिश्रृंखलाको छायाँकन गरिएको थियो । यद्यपि अचम्मको कुरा मेरी बास्सैको इतिहासमा स्क्रिप्ट राइटरमा दीपक आचार्यको नाम कहिल्यै आएन ।