साप्ताहिक संवाददाता
कुनै एक जना खेलाडीले पूरा लिगको उपाधि होडमा कति फरक पार्न सक्छन्, त्यो अनन्त तामाङले प्रमाणित गरेका छन् । यसमा उनलाई गर्व भने हुनेछैन, न त अनन्तले ठूलो स्वरमा यस विषयमा कुरा गर्न सक्नेछन् । अनन्तले हालै सम्पन्न सहिद स्मारक लिग ए डिभिजन खेल्न पाएनन् । उनको नाममा लिगमा यस्तो दाउ खेलियो, जसले अन्तत: लिगको उपाधि होडलाई नै निर्णायक बनायो । यो दाउमा केहीले जिते, केहीले हारे ।
हारको कित्तामा उभिनेमा सबैभन्दा ठूलो नाम अनन्तकै रह्यो । उनलाई नेपाली फुटबलमा सबैभन्दा प्रतिभाशाली खेलाडी मानिन्छ । उनी उत्तिकै भलाद्मी पनि छन् अनि अनुशासित पनि, तर उनले लिग सुरु हुनुअघि एउटा यस्तो ठूलो भूल गरे, जसलाई लिएर उनलाई सधैं पछुतो भैरहनेछ । जति बेला लिग सुरु हुने तय भएको थियो, त्यति बेलासम्म उनी थ्रीस्टारकै खेलाडी थिए । लिग खेल्न उनले थ्रीस्टारसँग अनुबन्धसमेत गरेका थिए ।
लिगअघिका केही नकआउट प्रतियोगिता जित्न उनले थ्रीस्टारका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनी थ्रीस्टारको डिफेन्सका मजबुत खम्बा थिए । क्लबले उनलाई छाड्ने कुरै थिएन्, तर अनन्तले नजानेर अथवा बढी जानेर लिगकै लागि मनाङ मस्र्याङ्दीसँग पनि अनुबन्ध गरे । त्यहाँ जानुअघि अनन्तले थ्रीस्टारबाट खेलाडी फुकुवा चिठ्ठी भने लिएका थिएनन् । यही गल्तीका कारण उनले मनाङबाट समेत खेल्न पाएनन् ।
लिग सुरु भएपछि मनाङले उनलाई थ्रीस्टारबाट पनि खेल्न दिएन् । एकै पटक दुई क्लबसँग अनुबन्ध गर्ने खेलाडी एक वर्षको प्रतिबन्धमा पर्छ । अनन्तलाई यस्तो सजाय हुनुपर्छ भनेर कसैले उजुरी भने गरेनन् । थ्रीस्टार र मनाङ भने अनन्त कसका खेलाडी हुन् भन्ने बहसमै अल्झिरहे । दुवैले उनलाई फुकुवा गर्न चाहेनन् । कम्तीमा उनीहरू चाहन्थे, अनन्त थ्रीस्टारबाट पनि नखेलून्, मनाङबाट पनि नखेलून् ।
केही अरू क्लब, विशेषत: संकटा भने अनन्त कहिले फुकुवा होलान् र आफूले अनुबन्ध गरौंला भनेर कुरिरह्यो । आखिर अनन्तले लिग खेल्न पाएनन् । लिगमा अनन्तको अनुपस्थितिमा थ्रीस्टार वास्तवमै कमजोर देखियो, उसको डिफेन्स फिक्का रह्यो । लगातार लामो समयदेखि खेलिरहेका खेलाडीको अनुपस्थितिमा थ्रीस्टारलाई गाह्रो हुनु स्वभाविक थियो । त्यसैले उसको लय बिग्रियो, तर उनले नखेल्दा मनाङलाई भने केही पनि भएन । संकटालाई पनि अनन्त नहुनुले केही फरक परेन् । आखिरमा लिग मनाङले नै जित्यो ।
थ्रीस्टार दोस्रो हुन पनि सकेन्, तेस्रोमै चित्त बुझायो । दोस्रो स्थान संकटाले हात पार्यो । पछि थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले पनि माने, क्लबका लागि अनन्तको अनुपस्थिति निकै महँगो सावित भयो । नेपाली राष्ट्रिय टिमका प्रमुख खेलाडी अनन्तलाई भने यसले ठूलै क्षति नै पुर्यायो, आर्थिक रूपमा पनि, प्रतिष्ठामा पनि । लिगमा अनन्तको नाममा दाउ खेलिएकै थियो र यसले नै लिगलाई धेरै हदसम्म प्रभावित पनि गर्यो । यो खेलमा धेरै खेलाडी सक्रिय थिए । त्यसमा केहीले जिते, केहीले हारे । सबैभन्दा बढी हार्नेमा अनन्त नै रहे ।
अनन्तले हालसालै खप्तड गोल्डकपमा सहभागिता जनाएका छन् र यसपटक उनको क्लब रह्यो, उही पुरानो थ्रीस्टार । ललितपुरको यो क्लब फेरि एकपटक अनन्तलाई खेलाउने कुरामा उदार देखियो । जति बेला उनले धनगढीमा थ्रीस्टारका लागि फेरि एकपटक खेले, सबैले एउटै कुरा भने— अन्तत: अनन्त फेरि थ्रीस्टारमै ।