किरिया गरिसकेका व्यक्ति जिउँदै फर्किएपछि...

- साप्ताहिक संवाददाता

माघ ६, २०७५

कमाउने मान्छे नै बितेपछि तामाङ परिवारमा बज्रपात हुनु स्वभाविक थियो । दिनहरू बित्दै थिए, तीन महिनापछि सन्तोषीलाई साउदी अरेबियाबाट फेरि फोन आयो । फोनमा ‘सुवास दाइ त जिउँदै हुनुहुँदो रहेछ । अस्पतालमा उपचार हुँदैछ’, भन्ने खबर दिइयो । ‘खबर सुनेर अनुहारमा केही बेरका लागि हाँसो त आयो तर दाहसंस्कार गरेको शव कसको थियो भन्ने चिन्ताले थप पिरोल्न थाल्यो । पछि बुझ्दै जाँदा शव उनीसँगै दुर्घटनामा परेका कपिलवस्तुका टेकेन्द्र भण्डारीको रहेछ ।’

देशमा रोजगारीको अवसर नभएपछि धन कमाएर सुखी जीवन यापन गर्ने र सन्तानलाई राम्रो शिक्षादीक्षा प्रदान गर्ने सपनाका साथ बिदेसिएका श्रीमान्को दुर्घटनामा मृत्यु भएको खबर पाएपछि मोरङको बेलबारी– ११ की सन्तोषी तामाङ विक्षिप्त मात्र भइनन्, पतिको शव नेपाल झिकाएर दाहसंस्कारसमेत गरिन् । 

शव नेपाल ल्याएर दाहसंस्कार गरेको केही महिनापछि उनका पति सुवास तामाङको फोन आयो । सुरुमा उनले पत्याइनन् । उनी मूच्र्छा नै परिन् । त्यसपछि बारम्बार फोन आएपछि विदेशमै रहेका आफन्तहरूमार्फत श्रीमान् जीवितै भएको कुरा थाहा पाएपछि सन्तोषीलाई विश्वास गर्न करै लाग्यो । 

सुवास तामाङ वि.स. २०७१ मा साउदी अरेबियास्थित हुन्डाई कम्पनीमा मजदुरी गर्न त्यहाँ पुगेका थिए ।

उनी कार्यरत कम्पनीले उनको मासिक तलब बैंकमा जम्मा गरिदिन्थ्यो । तलब लिन सँगै काम गर्ने साथीहरू पनि जान्थे । त्यही क्रममा एकपटक तलब लिएर फर्कंदा गाडी दुर्घटना भयो । वि.सं.२०७२ असार २४ गते उनी दुर्घटनामा परेर मृत्यु भएको समाचार उनको परिवारलाई फोनमार्फत दिइयो । साउदी अरेबियामै रहेका सुवासका आफन्तले समेत उनको शव नेपाल पठाउन पहल गरे । १५ दिन नबित्दै उनको शव काठमाडौं पुर्‍याइयो । श्रीमती र बुबा हर्कबहादुर तामाङले उनको शव काठमाडौंबाट बेलबारी ल्याई विधिपूर्वक दाहसंस्कार गरे । 

कमाउने मान्छे नै बितेपछि तामाङ परिवारमा बज्रपात हुनु स्वभाविक थियो । दिनहरू बित्दै थिए, तीन महिनापछि सन्तोषीलाई साउदी अरेबियाबाट फेरि फोन आयो । फोनमा ‘सुवास दाइ त जिउँदै हुनुहुँदो रहेछ । अस्पतालमा उपचार हुँदैछ’, भन्ने खबर दिइयो । ‘खबर सुनेर अनुहारमा केही बेरका लागि हाँसो त आयो तर दाहसंस्कार गरेको शव कसको थियो भन्ने चिन्ताले थप पिरोल्न थाल्यो । पछि बुझ्दै जाँदा शव उनीसँगै दुर्घटनामा परेका कपिलवस्तुका टेकेन्द्र भण्डारीको रहेछ ।’

सुवासका अनुसार— दुर्घटना भएको दिन ‘मासिक तलब लिन एटिएम कार्ड लिएर एउटै कम्पनीमा काम गर्ने ४ जना तथा ट्याक्सी ड्राइभर १ जना गरी ५ जना गएका थिए । सबैले एटिएम कार्डमार्फत तलब निकाली भोलिपल्ट घरमा खर्च पठाइदिने भनेर केही साथीसँग सापटीसमेत मागी राति करिब १ बजे कोठा आउने क्रममा बाटोमा गाडी दुर्घटना भएको थियो । मेरो होस खुल्दा म अस्पतालमा थिएँ । सुवासले भने म अस्पताल बसेको तीन महिना भैसकेको रहेछ । अस्पतालमा मृतक टेकेन्द्र भण्डारीको मान्छे भनेर उनका आफन्त आउँदा रहेछन् । मलाई होस आएपछि भेट्न आउनेलाई मेरो घर भोजपुरको कुदाक काउले हो भनेछु । श्रीमतीको नाम पनि भनेछु तर मलाई त्यसो भनेको सम्झनाचाहिँ छैन ।

पटक–पटक त्यही कुरा गरेपछि अस्पतालले कम्पनीलाई खबर गरेछ । कम्पनीले मेरो घर परिवारमा खबर गरेछ र पछि मेरा आफन्त मलाई भेट्न गए । गाडीमा ५ जना भएकोमा म मात्र बाँचेछु । म ६ महिना अस्पतालमा बसेपछि ठीक भएर कम्पनीमा फर्केर काम गर्न थालें । त्यसपछि १८ महिनाजति काम गरेर घर फर्किएँ, तर मेरो मृत्यु भैसकेको तथा दाहसंस्कारसमेत गरिएको बताउँदै मेरा आफन्तले मलाई तँ घरमा आउनु हँुदैन भनेकाले मेरो जन्मथलो भोजपुरको कुदाक काउले हाल षडानन्द नगरपालिका पुगेँ । त्यहाँ पनि मलाई घरमा पस्न दिइएन ।

गाई बाँध्ने ग्वालीमा भकारीले बेरेर एउटा ठाउँ बनाइएछ । म गएर भकारीले बेरेर राखेको ठाउँमा पसेँ । केही बेरमा आमा आउनुभयो र ऐया–ऐया भनेर कराउनुभयो । म छक्क परें । मुनिबाट बुबाले के–के भो भनेर कराउनुभयो । म अझ आत्तिएँ । केही बेरमै आमाले छोरो जन्मियो भन्नुभयो र मलाई नुहाइदिनुभयो । बुबाले त्यसपछि मात्र मलाई हेर्नुभयो । गाउँलेहरूका अनुसार एकपटक मरेको भनेर काजकिरिया गरिसकिएको मान्छे ज्यूँदै फर्किंदा उसको पुनर्जन्म गराउन त्यस्तो प्रक्रिया अपनाउनुपर्दो रहेछ । संस्कारअनुसार मलाई पनि त्यसै गरियो ।

यतिबेला सुवास श्रीमती, १ छोरा र १ छोरीसहित मोरङको बेलबारी–११, लक्ष्मीमार्गमा बस्छन् । उनी पहिलेजस्तो छैनन्, हाँसेपछि हाँसेको हाँस्यै गर्ने, टोलाउने र एकहोरो भएका छन् । दुर्घटनामा लागेको चोटका कारण यस्तो भएको हुन सक्ने सन्तोषी बताउँछिन् । सुवासले अहिले बेलबारीमै सिटी रिक्सा कुदाएर जीविकोपार्जन गर्दै आएका छन् ।

 

प्रकाशित :माघ ६, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्