साप्ताहिक संवाददाता
त्रिभुवन विमानस्थलको आन्तरिक उडानको वर्तमान पार्किङ स्थल ०५३/५४ सालताका ढिस्को मात्र थियो । विमान उडेको हेर्न, चढ्न तथा छोड्न आउनेहरू सोही ढिस्कोमा बसेर पोलेको खसीको मासुको सेकुवा खान्थे । त्यहाँ दीनानाथ भण्डारी खसीको मासुको सेकुवा बेच्थे भने विनोद लामा राँगाको सेकुवा बेच्थे । एयरपोर्टले उनीहरूलाई त्यहाँबाट हटाएपछि उनीहरू सिनामंगलमा सरे । त्यसपछि खसीको मासुको सेकुवा पारखीहरूलाई आकर्षित गर्न दीनानाथले आफ्नो पसललाई बाजेको सेकुवा बनाए भने लामाले पनि सोही स्थानमा सेकुवा कर्नर खोले । अहिले दीनानाथको सेकुवा फ्रेन्चाइज सेकुवा भैसकेको छ । नेपालमा सेकुवासँग जोडिएको सबैभन्दा ठूलो सफलताको कथाका रूपमा बाजेको सेकुवालाई लिइन्छ । बाजेको सेकुवा अहिले देशभित्र मात्र होइन, विदेशमा समेत विस्तारित छ ।
२०४४ सालतिर टुँडिखेलमा १८ वर्षको उमेरमा विनोद लामाले पहिलो पटक सेकुवा पोलेर बेचेका थिए । ‘त्यतिबेला दैनिक ५–६ प्लेट सेकुवा बेच्थे, एक किलो मासुबाट सुरु गरेको हुँ,’ अहिले चर्चित सेकुवामध्येको एक उही पुरानो एयरपोर्टको टाउन टप लामा सेकुवा कर्नर, सिनामंगलका लामा सम्झन्छन्, ‘त्यतिबेला सीलको साढे २ रुपैयाँ पथ्र्याे, दैनिक डेढ सय रुपैयाँलाई पनि निकै राम्रो कमाइ मानिन्थ्यो ।’
बीचमा उनले फेन्सी पहिरनको काम पनि गरे, त्यसमा उनको व्यापार पार लागेन । उनी फेरि सेकुवा पोल्न एयरपोर्ट पुगे । बीचमा फेरि कपडामा लोभिए । यद्यपि २०५० सालपछि पुन: एयरपोर्टमै सेकुवा बेचिरहेका छन् । एयरपोर्टबाट उनी २०५६ सालमा सिनामंगल सरे । लामा त्यसयता सिनामंगलमै निरन्तर सेकुवा बेचिरहेका छन् । सुरुवाती दिनमा बफ सेकुवा मात्र बेचेका लामा १० वर्षयता बफ, चिकेन, मटन, पोर्क आदि गरेर दैनिक ६० देखि ६५ किलो सेकुवा बेच्छन् । दैनिक ४० हजारभन्दा बढी कमाइ भएन भने धान्न सकिँदैन,’ लामा भन्छन्, ‘एभरेजमा ५० हजारको व्यापार गर्छौं । १९ जनाले रोजगारी पाएका छन् ।’ अहिले लामाले सबैभन्दा बढी बेच्ने बफ, त्यसपछि पोर्क अनि मटन र चिकेन सेकुवा हो ।
खसीको सेकुवाको अर्को चर्चित सेकुवा कर्नर मानिन्छ— पुरानो बानेश्वरस्थित मनकामना सेकुवा कर्नर । अध्ययनका लागि गोरखाबाट काठमाडौं छिरेका हरि केसीले २०५३ सालमा यसको सुरुवात गरेका हुन् । त्यसयता केसीले निरन्तर ग्राहकहरूलाई खसीको सेकुवा पस्किरहेका छन् । सुरुमा १ लाख लगानी गरिएको यो सेकुवा कर्नरमा अहिले ६ जनाले रोजगारी पाएका छन् । उनी जाडोमा १२ देखि १५ किलो सेकुवा बेच्छन् । ह्याकुला, कलेजो, सादा सेकुवा, चुस्ता सेकुवा आदि उनको मेनुमा छन् ।
यस्तै कथा छ, अनामनगरमा ११ वर्षअघि खुलेको धराने सेकुवाको । अहिले धराने सेकुवाको शाखा नखीपोटमा विस्तार भएको छ । धराने सेकुवाका म्यानेजिङ डाइरेक्टर प्रेम राई भन्छन्, ‘अनामनगर आउटलेटले मात्र एभरेजमा २० किलोसम्मको व्यापार गर्छ ।’ पोर्क, चिकेन, मटन तथा बफ सेकुवाको ब्यापार गर्दै आएको धराने सेकुवा कालो बंगुरको सेकुवाका लागि चर्चित छ । राईका अनुसार अहिले धराने सेकुवामा सबैभन्दा बढी पोर्क सेकुवा रुचाइन्छ, त्यसपछि, चिकेन, मटन र बफ सेकुवा मन पराइन्छ ।
०६३ मा कपनको सरस्वतीनगरमा यांगतारु सेकुवा कर्नर स्थापना भयो । ४ लाखको लगानीमा खुलेको यो सेकुवा कर्नरले त्यतिबेला एक पटकमा ३०–४० जनालाई सत्कार गर्न सक्थ्यो । यांगतारुले अहिले एकैपटकमा ४ सय जनालाई सत्कार गर्न सक्ने क्षमता राख्छ । कार्बनरहित सेकुवाको स्वाद चखाउने यांगतारुको क्षमता विस्तार नेपालीहरूमाझ सेकुवाको लोकप्रियतासँग पनि जोडिएको छ । सुरुका दिनमा ५ केजीसम्म सेकुवाको ब्यापार गर्ने यांगतारुले अहिले दैनिक औसत ५० किलोसम्म सेकुवा बेच्छ । ‘हामी किलोका हिसाबले सेकुवा बेच्छौं,’ सञ्चालन धिरेन लिम्बू भन्छन् ।
सेकुवाको स्वादसँग जोडिएका मिठा सफलताका किस्सा हुन् माथिका यी उदाहरण । सेकुवा नेपालमा सर्वाधिक रुचाइने परिकारमध्ये एक हो । त्यसैले त अहिले राजधानीका अधिकांश सेकुवा कर्नरहरू सफलताको कथा भनिरहेका छन् । ग्राहकको रोजाइमा परेकै कारण विगत लामो समयदेखि सेकुवा बेचिरहेकाहरूले नाम र दाम दुवै कमाएका छन् । सेकुवाको लोकप्रियता कतिसम्म छ भन्ने कुरा, सेकुवा नेपालका सडकदेखि पाँचतारे होटलसम्म बेचिने कुराले पनि स्पष्ट पार्छ । काठमाडौंका सेकुवा कर्नरहरूको मेनुमा विविधता पनि छ— एक सयदेखि एक हजारसम्म प्लेटका । खासगरी नेपालमा खसी, कुखुरा, बंगुर, राँगा, माछा आदिका सेकुवा बढी प्रचलित छन् । सबैभन्दा बढी रुचाइने सेकुवा भने खसी, राँगा र बंगुर नै हुन् ।
लोकप्रियताकै कारण हुनुपर्छ, अहिले काठमाडौंमा सेकुवा मेला समेत हुने गरेको छ । सेकुवाबाट राम्रो आम्दानी हुने भएपनि यसको वार्षिक कारोबार कति हुन्छ भन्ने यकिन तथ्यांक भने उपलब्ध हुन सक्दैन ।
सेकुवा लोकप्रिय हुनुको कारण यसको स्वादलाई मानिन्छ । टेष्ट नै सेकुवा लोकप्रिय हुनुको मुख्य कारण मान्छन् धराने सेकुवाका म्यानेजिङ डाइरेक्टर प्रेम । सेकुवा मन पराइनुको कारणका सम्बन्धमा विनोद लामाको बुझाइ भने अलि फरक छ । लामा भन्छन्, ‘पोलेको मासुको स्वाद, अमन नहुने र पचाउन पनि सहज हुने भएकाले सेकुवा बढी रुचाइएको हो ।’