साप्ताहिक संवाददाता
अमेरिकाको लस भेगासमा सधैंजस्तै यो वर्ष पनि कन्जुमर इलेक्ट्रोनिक्स शो (सीईएस) सम्पन्न भएको छ । गत जनवरी ८ देखि ११ सम्म लस भेगास कन्भेन्सन सेन्टरमा सञ्चालित उक्त शो विभिन्न नयाँ प्रविधि एवं उत्पादनहरूको प्रदर्शनी थियो । भविष्यमा कस्ता प्रविधि आउँदैछ भन्ने कुरा जान्न चाहनेहरूका लागि उक्त शो निकै महत्वपूर्ण रह्यो ।
हार्ले डेभिडसन लाइभवायर
हार्ले डेभिडसनको इलेक्ट्रिक मोटरसाइकल लाइभवायर साढे ३ सेकेन्डमै १ सय किलोमिटर प्रतिघण्टाको गतिमा गुड्न सक्छ । यसमा लिथियम आयोन ब्याट्री प्रयोग गरिएको छ । यो बाइक एकपटकको चार्जमा १ सय ७७ किलोमिटर गुड्न सक्छ ।
यसमा एचडी कनेक्ट नामक फिचर छ, जसले राइडर र बाइकलाई एलटीई प्रविधिको टेलिम्याटिक्स कन्ट्रोल युनिटले जोड्छ । यसका लागि हार्ले डेभिडसन एपसमेत प्रयोग गर्न सकिन्छ । यसले ब्याट्री डाटाका साथै नजिकको चार्जिङ स्टेसनका बारेमा समेत जानकारी दिन्छ ।