साप्ताहिक संवाददाता
पोखरा थिएटरको गन्धर्व नाटकघरमा नाटक निरमायाको मञ्चन जारी छ । पुस २७ गते मञ्चन प्रारम्भ भएको यो नाटक माघ १२ गतेसम्म चल्ने बताइएको छ । १ घण्टा ४० मिनेट लामो यो नाटकले दर्शकको मन जितिरहेको छ । यो नाटक वरिष्ठ साहित्यकार सरुभक्त श्रेष्ठले झन्डै ३० वर्षअघि लेखेका हुन् ।
गरिब, शोषित, दलित तथा यौनपीडित समाजको नाङ्गो यथार्थलाई अभिव्यक्त गर्ने नाटक निरमायाले दर्शकलाई मनोरञ्जनसँगै विशेष सन्देश पनि दिन्छ । नाटकले घरी दर्शकलाई रुवाउँछ, घरी हँसाउँछ भने कति बेला गम्भीर बन्ने अवस्थासमेत सिर्जना गर्छ । त्यतिमात्र होइन, नाटकमा समावेश गरिएको लाइभ संगीत र रत्यौलीले दर्शकसँगै कलाकारहरूलाई पनि जोस्याउँछ ।
यो नाटकका निर्देशक परिवर्तन कार्की हुन् । यसअघि नाटक बितेका कुरा निर्देशन गरी नाटक निर्देशनमा पदार्पण गरेका कार्कीले आफ्नो दोस्रो नाटकमा आफू खारिएको विश्वास दिलाउन सफल भएका छन् ।
नाटकमा प्रकाश घिमिरे, प्रमिला तुलाचन, बबिता मल्ल ठकुरी, अञ्जु दाहाल, रमेश बाबु तिम्सिना, निश्चल विमल, सुर्य सुवेदी, नवराज गिरी, रेवन राई, देव बस्नेत, गोविन्द रमण पराजुली, सन्दीप पाण्डे, ईश्वर कार्की, सोनिया कार्की, प्रतीक घिमिरे, मनिषा थापा, पार्वती थापा, धनबहादुर गायक, हरिबहादुर परियार, विनोद गायक, सौरभ तिम्सिना, विश्वराज पौडेल, विष्णु तिम्सिना आदि कलाकारले अभिनय गरिरहेका छन् । गन्धर्व नाटकघरमा मञ्चित यो २३ औँ नाटक हो ।
पोखरा थिएटरको प्रस्तुतिमा मञ्चन भएको यो पाँचौ नाटक हो । यो नाटक हरेक दिन साँझ पौने ५ बजे तथा शनिबार र बिदाका दिन अतिरिक्त शोसमेत मञ्चन भैरहेको छ ।
हाम्रो समाजमा देखिएको असमानताको खाडललाई नाटक मार्फत चित्रण गर्दा दर्शकले अपनत्व महसुस गर्छन् । नयाँ तथा पुराना कलाकारको अभिनयको मिश्रणले नाटक निरमायाको मिठास बढाएको छ । कलाकारहरूको वेशभूषा, प्रयोग गरिएका सामग्री, बोल्ने लबज तथा बानी–व्यवहारले दर्शकलाई वास्तविकताको अनुभूति गराउँछ ।