साप्ताहिक संवाददाता
आफ्नो नाम जोडिएका विषयमा समेत प्राय: मौन रहन रुचाउने अनमोल केसीले पहिलो पटक एउटा विवादित विषयमा मुख खोले । ए मेरो हजुर–३ को एउटा गीतको छायांकनका लागि अमेरिका उड्नुअघि त्रिभुवन विमानस्थलमा अनमोललाई सञ्चारकर्मीहरूले घेरे ।
त्यही दिन उनले चलचित्र ‘ब्याचलर बन्टि’को साइनिङ अमाउन्ट फिर्ता गरेका थिए । अनमोलसँग उनले छाडेको भूमिका कसलाई सुहाउला भनेर जिज्ञासा राखियो । यसअघि त्यस्ता जिज्ञासामा अनमोल फिस्स हाँस्थे । यसपटक उनी हाँसेनन्, जोक गर्दै भनिदिए– ‘अहिले जति पनि छन् यो मार्केटमा प्रदीप, पल, सलिनमान उहाँहरूले गर्दा राम्रो हुन्छ ।’
वास्तवमा यी तीन जना अभिनेतासँगै अनमोलको प्रतिस्पर्धा छ । अनमोलको उक्त अभिव्यक्तिपछि सिने वृत्तमा यसलाई अपमानका रूपमा बुझियो । यो विषयलाई लिएर सामाजिक सञ्जालमा अनमोलको आलोचनासमेत भयो । खासगरी अनमोलले नाम लिएका अभिनेताका प्रशंसकहरू उनीसँग रिसाएका छन् ।