साप्ताहिक संवाददाता
गायनमा आधारित लोकप्रिय रियालिटी शो नेपाल आइडल सिजन–२ का उत्कृष्ट छ जना प्रतिस्पर्धिहरु पहिलो पटक अष्ट्रेलियामा प्रस्तुत हुने भएका छन् ।
कन्सर्टमा नेपाल आइडल–२ का विजेता रवि ओड मुख्य आकर्षणका रुपमा रहनेछन् । नेपाल आइडल रवि ओडलाई प्रतियोगिताको उत्कृष्ट ६ मा पुग्न सफल विक्रम बराल, सुमित पाठक, अस्मिता अधिकारी तथा अमित बरालले कन्सर्टमा लोकप्रिय गीत–संगीत प्रस्तुत गरेर साथ दिने छन् । कार्यक्रममा पवन गिरीले पनि आफ्नो प्रस्तुती दिने कार्यक्रम छ ।
आगामी फेब्रअरी ८ अर्थात माघ २५ गते शुक्रवार सिड्नीको लिभरपूल स्ट्रिटस्थित सार्क होटलको स्पेस नाइट क्लबमा आयोजना हुने ‘नेपाल आइडल–लाइभ इन सिड्नी’ मा नेपाल आइडल–२ का विजेता, उपविजेतासहित उत्कृष्ट छ मा पुग्न सफल गायक–गायिकाहरु प्रस्तुत हुदैछन् । सिड्नीको लाइभ कन्सर्टको आयोजना नेपाली टचले गर्न लागेको हो ।
अष्ट्रेलियामै सक्रिय एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेसले यो वृहत सांगीतिक कार्यक्रमलाई मुख्य प्रायोजन गरेको छ ।
नेपाली समुदायको अत्यधिक बसोबास रहेको सिड्नीमा फेबु्रअरी ८ मा भव्य रुपमा कार्यक्रम सम्पन्न गर्ने गरि तयारी गरिएको नेपाली टचका फाउन्डर डाइरेक्टर दिपेश पुनले जानकारी दिएका छन् । ‘कार्यक्रमका लागि पर्चा पम्प्लेट वितरण गरिनुका साथै सामाजिक सञ्जालमा कार्यक्रमको प्रचारप्रसारलाई तीब्र बनाईएको छौं’, पुनको भनाइ छ ।
स्थानिय समय अनुसार साँझ ८ बजेदेखि प्रारम्भ हुने नेपाल आइडलको लाइभ कन्सर्टमा नेपालकी लोकप्रिय डान्स जक्की डिजे अर्पणा पनि सहभागि हुने छिन् । कार्यक्रममा सिड्नीमा बसोबास गर्ने स्थानिय कलाकारहरुले पनि प्रस्तुती दिने आयोजक नेपाल टचका सीईओ राज के गोस्वामीले बताएका छन् ।
कार्यक्रमको सञ्चालन नेपाल आइडलकी प्रस्तोता तथा अभिनेत्री रीमा विश्वकर्माले गर्ने छन् । नेपाल टचले यसअघि नेपाल आइडलको पहिलो संस्करणका विजेताहरुलाई पनि अष्ट्रेलियाको कन्सर्टमा प्रस्तुत गरिसकेको छ ।
कन्सर्टको टिकटका लागि यो लिंग फलो गर्न सकिने छ ।