साप्ताहिक संवाददाता
रोहित अधिकारीलाई सानैबाट चलचित्रप्रति लगाव थियो । त्यहि लगावले उनले प्लस टु पछिको अध्ययननै चलचित्र निर्देशन तिर डोर्याए । निर्देशन पढ्दै गर्दा चलचित्रप्रतिको लगाव झनै बढेर गयो । फलस्वरुप उनले चलचित्र गाजलुमा लगानी गरे । उनी चलचित्र उद्योगमा भाग्यमानी निर्माताका रुपमा साबित भए । उनले पहिलो पटक लगानी गरेको चलचित्रले राम्रो व्यापार गर्यो । व्यापारसँगै उनले यो चलचित्रबाट राम्रो प्रतिकृया पाए ।
अभिनेता अनमोल केसी र सन् २०१३ की मिस नेपाल सृष्टि श्रेष्ठलाई शिर्ष भूमिकामा राखेर निर्माण गरिएको चलचित्रपछि उनी निक्कै चर्चामा आए । धेरैले उनलाई उम्दा चलचित्रकर्मीको उपमा समेत दिए । गाजलुले थुप्रै अवार्डहरु जित्यो । यो चलचित्र युकेमा एकैपटक २० वटामा पर्दामा रिलिज हुने पहिलो चलचित्र हो । गाजलुले नेपाली चलचित्रको घरेलु बजार त बढायो नै अन्र्तराष्ट्रिय बजार विस्तारमा पनि नयाँ आयाय दियो । पहिलो चलचित्रलेनै उनलाई अब्बल साबित गर्यो ।
गाजलुको प्रतिकृया र सफलतालाई हेरेर धेरैले अनुमान गरेथे, रोहितले तत्काल अर्को चलचित्र निर्माण गर्छन् । तर, उनी केहि समय मौन बसें । उनले चलचित्र बजार बुझेका थिए । यो बीचमा उनलाई केहि निर्देशक र स्क्रिप्ट राईटरले चलचित्र बनाउन अफर पनि गरें । तर, उनी हालै एक चलचित्रमा जोडिएका छन् । रोहितले दीपकराज गिरी र छक्कापंजा टिमसंगको सहकार्य गरेर नयाँ चलचित्र निर्माण गर्ने भएका छन् । दिपकराज र छक्कापंजा यूनिट अहिले नेपाली चलचित्र उद्योगमा निक्कै चर्चामा रहेका छन् । यो टिमसँग सहकार्य थालेका रोहितको पनि यतिबेला चर्चा चुलिएको ।
यो टिमसँग सहकार्य गर्न पाउँदा रोहित पनि खुशी छन् । उनले यो सहकार्यलाई विशेष अवसरका रुपमा लिएका छन् । रोहित भन्छन्, ‘चलेको टिम भएकाले पनि उहाँहरुका पछि धेरै लागेका थिए, तर मलाई विश्वास गर्नु भयो मसँग सहकार्य गर्न तयार हुनु भयो । यो मेरो लागि गर्वको विषय हो ।’
सामाजिक विषयवस्तुमा निर्माण गरिने उक्त चलचित्रको दीपकराज गिरीले स्क्रिप्ट लेखिरहेका छन् । रोहित र दीपकको सहकार्यमा निर्माण हुने उक्त चलचित्रलाई अहिले चर्चामा रहेका निर्देशक दीपेन्द्र लामाले निर्देशन गर्ने पक्का भैसकेको छ । फागुन अन्तिम साताबाट छायांकनमा जाने यो चलचित्रलाई लिएर रोहित निक्कै आशावादी देखिएका छन् ।
चलचित्र निर्देशन पढेर निर्माता बनेका रोहितले भविष्यमा आफू निर्देशन तिर पनि देखिने संकेत दिएका छन् । फरकधारका कलात्मक चलचित्रप्रति झुकाव राख्ने रोहितले केहि वर्षपछि निर्देशन तिर पनि हात हाल्ने बताएका छन् ।