साप्ताहिक संवाददाता
सेकुवा नेपालको मौलिक खानेकुरा होइन । यो परिकार मूलत: मुस्लिम मुलुकबाट आयातित मानिन्छ । यद्यपि नेपालमा सेकुवाले पाएको लोकप्रियता हेर्ने हो भने यो नेपालको मौलिक परिकार जत्तिकै छ ।
सेकुवा मूलत: मासुलाई विभिन्न मसलामा मोलेर झिरमा उनी गोलको रापमा पोलेर तयार पारिन्छ । अहिले यही शैलीमा मासु मात्र नभएर विभिन्न हरिया तरकारीको सेकुवा समेत तयार पार्न थालिएको छ । हामीले अहिले जुन परिकारलाई सेकुवा भनिरहेका छौं त्यसलाई पश्चिमाहरू बार्बिक्यु भन्छन् । यसैगरी मुस्लिम मुलुकहरूमा पोलेर खाइने मासुलाई कबाब भनिन्छ । कबाब बनाउने विधि भने केही भिन्न हुन्छ ।
कबाब
कबाब बनाउन रातो मासुको किमालाई भुटेको चनाको पिठो, जिरा–धनियाँ, खुर्सानी, बेसार, गरम मसला, मरिचको धूलो, नुन, प्याज, हरियो खुर्सानीको टुक्रा, दही, नुन आदिसँग मोलिन्छ । मोलेको किमालाई फित्ता आकारको झिरमा हातले लेपेर कोईलाको रापमा ओल्टाइपल्टाइ सेकेर कबाब तयार पारिन्छ ।
सिक कबाब
यो परिकार पनि मुख्य रूपमा रातो मासुकै बनाइन्छ । यसलाई तयार गर्न कबाबकै जस्तै मासुको किमालाई भुटेको चनाको पीठोमा स्वाद अनुसार जिरा–धनियाँ, बेसार, खुर्सानी, गरम मसला, मरीचको धुलो, दही, टुक्रा पारेर काटिएको प्याज, लसुन अदुवाको पेष्ट तथा नुन हालेर मोलिन्छ । मोलिएको उक्त किमालाई हातले भाँडो भित्र अट्ने सिन्कामा लेपेर थोरै तेल हालेर डामिन्छ । यसरी डामेर पाके पछि उक्त भाँडोमा तेल हाली धूवाँ निकालेर बिर्कोले छोपिन्छ । यसरी छोप्दा कोइलाको धूवाँ पाकेको कबाबमा लागेर त्यसबाट धूवाँको बास्ना आउँछ । यही नै सिब कबाबको मुख्य विशेषता हो ।
बार्बिक्यु
बार्बिक्यु पनि विभिन्न मासु वा तरकारीहरू पोलेर तयार पारिन्छ । पश्चिमाहरू यसलाई बार्बिक्यु भन्छन् र यो विभिन्न देशअनुसार फरक–फरक स्वादको हुन्छ । जस्तो युरोपियन बार्बिक्यु, अमेरिकनभन्दा फरक हुन्छ भने मेक्सिकन बार्बिक्यु थाईभन्दा फरक हुन्छ । बार्बिक्यु बनाउन स्थानीय मसलाहरू प्रयोग गरिन्छ भने कतिपयले बार्बिक्यु सस प्रयोग गरेर मासुलाई १० –१२ घण्टा म्यारिनेट गरेर राख्छन् र भोलिपल्ट कोइलाको रापमा सेकेर पकाउँछन् ।
सेकुवा
सेकुवा मूलत: नेपालमा पोलेको मासुको परिकारलाई भनिन्छ । मासुलाई सामान्यत: ६ घण्टाभन्दा बढी जिरा, धनियाँ, धुलो खुर्सानी, बेसार, नुन, गरम मसला, मिट मसला, अदुवा–लसुनको पेस्ट आदिसँग मोलेर राखिन्छ । यसरी राखिएको मासुका स–साना टुक्रालाई झिरमा उनेर कोइलाको रापमा सेकेर पकाइन्छ । यो परिकार खाजाका रूपमा र मदिरा पिउनेहरूले सितनका रूपमा बढी प्रयोग गर्छन् ।