साप्ताहिक संवाददाता
पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्ड फेरि अर्को यौन स्क्यान्डलमा फसेका छन् । यसपटक ब्रिटिस मोडल जस्मिन लेनार्डले उनलाई विवादमा ल्याउने प्रयास गरेकी छिन् । फुटबलका ठूला खेलाडीहरूका बारेमा ट्विटरमार्फत विभिन्न आरोप लगाउने काम गर्दै आएकी लेनार्डले रोनाल्डोका साथ १० वर्षसम्म आफ्नो रमाइलो सम्बन्ध रहेको बताएकी छिन् । उक्त अवधिमा रोनाल्डोले आफ्नो शारीरिक एवं भावनात्मक शोषण गरेको उनको आरोप छ । यो जोडी १० वर्ष सम्म रिलेसनसिपमा थियो ।
यस्तो आरोप लगाइएको केही दिनपछि लेनार्डको ट्विटर एकाउन्ट अचानक डिलिट भयो । डेली मेलको समाचारअनुसार रोनाल्डोको धम्कीका कारण उनको एकाउन्ट डिलिट गरिएको थियो । यदि त्यसो नगरे लेनार्डको नग्न तस्बिर उनका पिताका साथै परिवारका अन्य सदस्यलाई पठाइदिने र हत्या गर्ने सम्मको धम्की रोनाल्डोले दिएको समाचार स्रोत बताउँछ । अर्कातर्फ रोनाल्डोका वकिलले उक्त समाचारको खण्डन गर्दै मानहानीको मुद्धा दर्ता गर्ने बताएका छन् ।
अमेरिकाकी ३४ वर्षीया पूर्वमोडल क्याथरिन मायोरगाले पनि २००९ मा लास भेगासको एक होटलको कोठामा बोलाएर रोनाल्डोले आफूविरुद्ध यौन दुराचार गरेको आरोप लगाएकी थिइन् । त्यसपछि मायोरगाको मुख बन्द गर्न रोनाल्डोले उनलाई ३ लाख ७५ हजार डलर दिएर सम्झौता गरेका थिए । केही महिना पहिले ब्राजिलकी मोडल एरिका कानेलाले रोनाल्डोविरुद्ध शोषण र अपमानको आरोपमा मुद्दा दर्ता गराएकी थिइन् । २०१६ मा ब्राजिलमा ‘मिस बमबम’ घोषित एरिकाले गत वर्ष दुई महिनासम्म आफ्नो रोनाल्डोसँग रोमान्स चलेको दावी गरेकी हुन् ।