अभिनेत्री वर्षा शिवाकोटी गत मंगलबार गैरीधारास्थित भोजघर रेस्टुराँमा रामजी ज्ञवालीसँग ठोक्किन पुगिन् । त्यस क्रममा उनीहरूबीच अनौपचारिक रूपमा रमाइलो कुराकानी भयो ।
कान्छी छोरी सधैं घरबाहिर हुनुपर्दा अप्ठ्यारो लाग्दैन ?
मलाई त केही अप्ठ्यारो लाग्दैन, तर सुरु–सुरुमा मम्मी, हजुरबुबा र मेरो दाइले म त्यसरी घरबाहिर हुँदा मन दुुखाउनुहुन्थ्यो । अहिले उहाँहरूले मेरो प्रोफेसनको व्यस्तता र बाध्यता बुझ्न थाल्नुभएको छ ।
बिहान कतिबेला घरबाट निस्कनुहुन्छ ?
छायांकनको समयमा चलचित्र युनिटकै सेड्युलमा दैनिकी चलेको हुन्छ । अरू बेला काम परेन भने बाहिर निस्कन्नँ ।
तपाईंको अरूसँग घुलमिल हुने बानी छैन भनिन्छ नि ?
यो मेरो सानैदेखिको बानी हो । म परिवारमा पनि मम्मी, दाइ र हजुरबुबा वा घर आएका आफन्तसँग पनि खासै हेलमेल गर्दिनँ । एक्लै बस्न रुचाउँछु ।
मम्मी रिसाउनु हुन्न ?
रिसाउनुहुन्छ । मलाई कामबाहेक अघिपछि कसैसँग हाई–हेल्लो गर्न खासै मन लाग्दैन ।
तपाईं त बुबा–आमाको चाहनाविपरित अभिनय क्षेत्रमा आउनुभएको होइन ?
हो, जिन्दगीमा कहिलेकाहीं नदेखेको र नसोचेको कुरा हुँदो रहेछ । परिवारको मात्र होइन, मेरो चाहना पनि बैंकर्स बन्ने थियो, तर समयले मलाई
अभिनेत्री बनायो ।
तपाईंको सबैभन्दा मिल्ने साथी को हो ?
मेरी आमा । फुर्सदका बेला म सधैं मेरी आमासँग हुन्छु । बिहान उठेदेखि सुत्ने बेलासम्म । कतिसम्म भने म अहिले पनि आमासँगै सुत्छु ।
अप्ठ्यारो लाग्दैन ?
बानी परिसक्यो, सुरु–सुरुमा केही अप्ठ्यारो लाग्थ्यो ।
आजभोलि केमा व्यस्त हुनुहुन्छ ?
अहिले म चलचित्र विर विक्रम–२ को छायांकनमा व्यस्त छु । यो कुराकानी प्रकाशन हुँदासम्म हामी उक्त चलचित्रको सुटिङका लागि मुस्ताङमा हुनेछौं ।
साँझ परेपछि लाउन्ज, क्लबतिर जाने बानी छ कि छैन ?
छैन, म जे कामका लागि घरबाट बाहिर निस्कन्छु, त्यो काम सकिएपछि फर्किएर घरै पुग्छु । म कहिल्यै राति रमाइलो गर्न बाहिर जान्नँ ।
साथीभाइहरूले कर गर्दैनन् ?
मेरो स्वभाव थाहा पाएका साथीभाइहरूले त्यस्तो कर गर्दैनन् । तैपनि कहिलेकाहीं नजिकका साथीभाइको जन्मदिन अथवा अन्य व्यक्तिगत विशेष समारोहमा भने अनिवार्य पुगेकै हुन्छु ।
राति अबेरसम्म बाहिर रहनुपर्दा तपाईंकी आमा रिसाउनुहुन्न ?
छोराछोरी जति नै ठूला भए पनि बुबा–आमाका लागि उनीहरू केटाकेटी नै हुन्छन् । पहिले–पहिले कराउनुहुन्थ्यो, तर अहिले मेरो सेड्युल हेरेर मलाई सचेत गराइरहनुहुन्छ । म इमान्दार भएकीले गालीचाहिँ गर्नुहुन्न ।
विवाह गर्ने बेला भएन ?
उमेरले त भयो होला, तर त्यस्तो कुनै योजना बनाएकी छैन ।
प्रेमी छैन ?
म प्रेममा छैन । अहिले अफेयरमा परेर आफ्नो करिअर बर्बाद गर्नु पनि छैन । भविष्यमा कोही मन मिल्ने राम्रो मान्छे भेटियो भने त्यो अर्कै कुरा हुनेछ ।