साप्ताहिक संवाददाता
आजभोलि नेपालमा लोकप्रिय खाजाका रूपमा परिचित सेकुवासँग मिल्दोजुल्दो अनेक थरीका परिकार पाइन्छन् । कुरा, सेकुवा नेपालमा कसरी भित्रियो भन्ने हो । एकथरी मानिसका अनुसार भारत–पाकिस्तान विभाजन (सन् १९४७) तथा बंगलादेशको स्वतन्त्रता संग्राम (सन् १९७१) का बेला नेपाल पसेका बंगाली शरणार्थीहरूले सेकुवालाई नेपाल भित्र्याएका हुन् ।
त्यतिबेला शरणार्थीहरूको जीवनयापनका लागि उनीहरूलाई सीमित अवधिका लागि जानेको काम गरी आम्दानी गर्न छुट दिइएको थियो । यही छुटको फाइदा उठाउँदै बंगाली शरणार्थीहरूले पूर्वी नेपालका सहरी क्षेत्र (विराटनगर, रंगेली, भद्रपुर आदि) मा झिरमा उनेको मासु पोलेर जीविका चलाएका थिए । यसैगरी, सडकछेउमा पोलेको मकै बेच्ने चलन पनि बंगाली शरणार्थीहरूले नै नेपाल भित्र्याएको बताइन्छ ।
पोलेको मासु खाने परम्परा
सेकुवा एक किसिमको पोलेको मासु हो । विभिन्न जातजातिमा पोलेको मासु खाने आ–आफ्नै परम्परा छ । नेवार समुदायमा कुलपूजामा बलि चढाइएको राँगा वा बोकाको गर्धनको मासु तत्कालै पोलेर साधेर खाने चलन छ । उता, बंगालीहरू तिहारको लक्ष्मीपूजाका दिन कालीको पुजा गर्छन् । कोलकातामा प्रचलित चलनअुसार त्यो दिन उनीहरू कालीको मूर्तिले देख्ने गरी कालो बोका बलि चढाउँछन् ।
त्यसरी चढाइएको बोकाको फल मासु झिकेर कालीको मूर्ति अगाडि राखिन्छ । यस्तो मासु एकदिनदेखि तीन दिनसम्म त्यत्तिकै छाडिन्छ । त्यसपछि हल्का गन्हाउन थालेको उक्त मासुलाई कसैले पोलेर त कसैले पकाएर खान्छन् । मानव सभ्यताको कुरा गर्ने हो भने मानिसले आगोको प्रयोग गर्न जानेपछि आफ्नो सिकारलाई सबैभन्दा पहिले पोलेर नै खान सिकेका थिए । त्यसैले भन्न कर लाग्छ, पोलेर मासु खाने चलन आगोको प्रयोगसँगै सुरु भएको हो ।