दसैंमा प्रदर्शन भएको चलचित्र ‘छक्कापञ्जा–३’ पछि निकै थोरै नेपाली चलचित्रले मात्र चित्तबुझ्दो व्यवसाय गरे । जय भोले तथा चंगाचेटले निर्मातालाई खासै निराश नबनाए पनि यो अवधिमा प्रदर्शनमा आएका अधिकांश चलचित्र व्यवसायिक रूपमा असफल भए ।
त्यसो त दसैं–तिहारपछि ठूलो बजेटका चलचित्रको प्रदर्शनमा समेत कमी आयो । अहिले माघ लागेसँगै राम्रो प्रचार–प्रसार गरिएका, ठूलो लगानी भएका तथा लोकप्रिय कलाकारहरूको अभिनयसहितका केही राम्रा चलचित्र प्रदर्शनका क्रममा छन् । पुसको अन्तिम साता प्रदर्शन भएको चौकादाउले सन्तोषजनक व्यवसाय गरिरहेको छ भने आज शुक्रबारदेखि प्रदर्शन भैरहेको चलचित्र गरुड पुराण (हेर्नुस् पृष्ठ १५) ले पनि दर्शकलाई चलचित्र हलसम्म तान्ने अनुमान गरिएको छ । यसबाहेक माघ ११ तथा माघ १८ गते प्रदर्शन हुने चारवटा चलचित्रबाट केही बढी अपेक्षा गरिएको छ ।
अनागत
माघ ११ गतेदेखि प्रदर्शन हुने भनिएको ‘अनागत’ केही पुरानो चलचित्र हो । विभिन्न कारणले निर्माण सम्पन्न भएलगत्तै प्रदर्शन हुन नसकेको यो चलचित्र केही साता अघिदेखि मात्र प्रसार–प्रसारमा ओर्लिएको हो । मनोविज्ञानमा आधारित यो चलचित्रमा एउटा परिवारको कथा प्रस्तुत गरिएको छ ।
एउटा सुन्दर परिवारमा कुनै कुराले शंका उत्पन्न भएपछि आउने परिस्थितिमा आधारित यो चलचित्रमा अर्पण थापा, प्रियंका कार्की, प्रवीण खतिवडाजस्ता दिग्गज कलाकारले अभिनय गरेका छन् । यो चलचित्रका निर्देशक साम्तेन भुटिया हुन् । भुटिया सिक्किममा बसोबास गर्ने निर्देशक हुन् । यसअघि उनले लेटर शीर्षकको चलचित्र निर्देशन गरिसकेका छन् । यो चलचित्रमा अर्पण थापा र प्रियंका कार्की श्रीमान्–श्रीमतीको भूमिकामा छन् । चलचित्रको कथा उनीहरूकै सम्बन्धको वरिपरि घुमेको बताइन्छ ।
निर्देशक भुटिया ‘अनागत’ लाई एउटा परिवारको कथा भन्न रुचाउँछन् । ‘परिवामा आउने समस्यालाई प्राथमिकता दिएका छौं, निर्देशक भुटियाको भनाइ छ– ‘प्रियंका र अर्पणले मेरो अपेक्षाभन्दा राम्रो काम गरेका छन् ।’ निर्देशक भुटिया यो चलचित्रलाई सस्पेन्स–थ्रिलर शैलीको बताउँछन् । तडक–भडकसहित यो चलचित्र यथार्थसँग समेत नजिक छ । अभिनेता अर्पण थापाले पनि अनागतलाई हालसम्म आफूले अभिनय गरेका मध्ये आफूसँग निकै नजिक रहेको चलचित्र भनेका छन् । थापाका अनुसार उनलाई उक्त चलचित्रको चरित्रबाट बाहिर निस्कन निकै समय लागेको थियो ।
गोपी
माघ १८ गतेदेखि प्रदर्शन हुने ‘गोपी’ दर्शकहरूले प्रतीक्षा गरिरहेको चलचित्र हो । यो चलचित्रमा तीन जना सञ्चारकर्मी आवद्ध छन्, लेखकका रूपमा सामीप्यराज तिमिल्सिना, निर्माताका रूपमा श्रीधर पौडेल तथा निर्देशकका रूपमा दीपेन्द्र लामा । काठमाडौं सहरको एउटा कुनामा गाई पालेर गुजारा गरिरहेका एक युवकको कथामा आधारित यो चलचित्रलाई ‘अग्र्यानिक’ समेत भनिएको छ । चलचित्रका निर्देशक लामाले यसमा व्यवसायिक चलचित्रका लागि आवश्यक सम्पूर्ण कन्टेन समावेश गरिएको बताएका छन् भने लेखक तिमिल्सिनाले पनि यो चलचित्र कृषिमा आधारित वृत्तचित्र जस्तो नभै माया, प्रेम, धोकासहित चलचित्रका लागि आवश्यक सबै तत्व रहेको उल्लेख गरेका छन् ।
पहिले खगेन्द्र लामिछानेले शीर्ष भूमिका निर्वाह गर्ने भनिएको यो चलचित्रमा अन्तत: विपिन कार्की भित्रिए । विपिनले चलचित्रमा गोपीको भूमिका निर्वाह गरेका छन् । हालसम्म सार्वजनिक भएका चलचित्रका पोस्टर, ट्रेलर तथा गीतमा विपिन साँच्चिकै गाईपालक कृषकजस्ता देखिएका छन् । हालै आयोजित एउटा पत्रकार सम्मेलनमा अभिनेता कार्कीले मोरङको आफ्नो गाउँमा आफैंले बाल्यकालमा बुवा–आमासँगै घरमा पालिएका केही गाई–भैंसीको गोबर सोहरेको, उनीहरूका लागि घाँस काटेको तथा उनीहरूले दिएको दूध बेच्न नजिकैको बजारसम्म पुगेको स्मरण गरे ।
‘बाल्यकालको अनुभवले मलाई गोपी बन्न खासै असहज भएन, अभिनेता कार्कीको भनाइ छ– ‘मैले यो चलचित्रको स्क्रिप्ट एकै बसाइ (करिब तीन घण्टा) मा पढेर सिध्याएको थिएँ, त्यतिबेला आफूलाई गोपीका रूपमा कल्पना गरें, भोलिपल्ट बिहान अभिनयका लागि सहजै तयार भएँ ।’ यो चलचित्रमा दुई नायिका छन्, वर्षा राउत र सुरक्षा पन्त । दुवैले गोपीलाई माया गर्ने भूमिका निर्वाह गरेको उल्लेख गरेका छन् । चलचित्रमा प्रकाश घिमिरे, भोलाराज सापकोटा, कमलमणि नेपाल, रमेश अधिकारी, अंकित खड्का आदि कलाकारले समेत अभिनय गरेका छन् ।
सयकडा दस
माघ १८ गते नै प्रदर्शन हुने चलचित्र हो– सयकडा दस । गाउँ–घरतिर अहिले पनि ब्याजमा पैसा लगाउने चलन छ । त्यसरी ब्याजमा पैसा लिँदा सय कडा यति (यति प्रतिशत ब्याज) भन्ने चलन छ । ‘भ्रष्टाचार रोक्न प्रेम जरुरी’ नारा राखिएको यो चलचित्रमार्फत व्यंग्यकार मनोज गजुरेल पहिलो पटक रजतपटमा प्रस्तुत हुँदैछन् । पलेन्दु झाद्वारा निर्देशित यो चलचित्रमा गजुरेलसहित राजाराम पौडेल, अमित पोखरेल, करुणा श्रेष्ठ, अमृत ढुंगाना आदि कलाकारले समेत अभिनय गरेका छन् ।
हालै काठमाडौंमा आयोजित एक समारोहमा चलचित्रका अभिनेता गजुरेलले उक्त चलचित्रको कथासार एक वाक्यमै भनिदिए– ‘भ्रष्टाचार रोक्न प्रेम जरुरी ।’ चर्चामा रहेको वाइडबडी भ्रष्टाचार प्रकरणको समाधान दीर्घकालीन रूपमा राजनीतिभन्दा प्रेमभित्र खोजिनुपर्ने उनको तर्क थियो । यही चलचित्रबाट पहिलो पटक निर्माता समेत भएका अभिनेता राजाराम पौडेलले आफ्ना लागि पैसाभन्दा कलाले अर्थ राख्ने बताएका छन् ।
यही चलचित्रबाट पदार्पण गरिरहेकी अभिनेत्री करुणा श्रेष्ठ तथा अभिनेता अमृत ढुंगानाले पनि आफ्नो चरित्र प्रभावकारी भएको बताएका छन् । यो चलचित्रलाई रामशरण पाठकले निर्देशन गरेका हुन्, जसले विगतमा प्रेम गीत तथा प्रेम गीत–२ निर्देशन गरिसकेका छन् । निर्देशक पाठक आफ्नो चलचित्रले हालसम्म प्राप्त गरेको प्रिभ्यूबाट उत्साहित छन् ।
रणवीर
माघ १८ गतेलाई नै प्रदर्शन मिति तोकेको तेस्रो चलचित्र हो– रणवीर । केही साताअघि सार्वजनिक भएको तिरिमिरी तिरिमिरी...गीत लोकप्रिय भैसकेको यो चलचित्रमा सुशील सिटौला तथा शुभेच्छा खड्काको जोडीले मुख्य भूमिका निर्वाह निर्वाह गरेको छ । चलचित्रमा प्रशान्त ताम्राकार तथा सुपुष्पा भट्ट पनि महत्वपूर्ण भूमिकामा छन् ।
होस्टल, सुन्तलीलाई भगाइलग्यो झिल्केले तथा गाजाबाजाबाट आफ्नो अभिनय क्षमता प्रमाणित गरिसकेका अभिनेता सिटौलाका लागि रणवीर टर्निङ प्वाइन्ट बन्न सक्छ । अभिनेता सिटौला भन्छन्– ‘रणवीर बन्न मैले के–कति मेहनत गरेको छु, त्यो चलचित्र हेरेपछि सबैले मूल्यांकन गर्नु हुनेछ । यो मेरो अभिनय करियरकै महत्वपूर्ण चलचित्र हो । यो चलचित्रले हाम्रो पुस्ताको माया र मित्रताको कथा भनेको छ । चलचित्रमा एक्सन पनि छ, जसमा हामी सबैले प्रसस्त मेहनत गरेका छौं ।’
सन् २०१२ मै मिस नेपाल इन्टरनेसनलको एवार्ड जित्न सफल शुभेच्छा खड्का यही चलचित्रमार्फत अभिनेत्रीका रूपमा दर्शकमाझ आउँदै छिन् । चलचित्रका निर्देशक गोविन्द सिंह भण्डारीका अनुसार यो चलचित्रमा माया, मित्रता तथा बदलाको कथा चित्रण गरिएको छ । ठूलो बजेटको यो चलचित्रलाई गोमा विष्ट थापा तथा दीपेन्द्र रेग्मीले निर्माण गरेका हुन् जसमा रवि गिरी, नरेश पौडेल, हरिहर शर्मा, टीका पहाडी आदि कलाकारको समेत महत्वपूर्ण भूमिका छ ।
समर लभ
उपन्यासकार सुबिन भट्टराईको कृति ‘समर लभ’ युवापुस्तामा अत्यधिक लोकप्रिय भयो । कुनै बेला उक्त पुस्तकले बेस्ट सेलरका रूपमा चर्चासमेत पायो । युवापुस्तालाई उपन्यास पढाउन बानी बसाउने पुस्तकका रूपमा समेत चर्चा भयो । अहिले आएर त्यही उपन्यासमा आधारित चलचित्र निर्माण भएको छ– समर लभ । उपन्यासले चलचित्रको स्वरूप ग्रहण गरेपछि त्यसमा समावेश कथालाई पर्दामा कसरी उतारियो, कतै कथाको मर्म नै मर्ने त होइन ? भन्ने जिज्ञासासमेत पैदा भएका छन् ।
मुस्कान ढकालद्वारा निर्देशित चलचित्र समर लभ माघ २५ गतेदेखि प्रदर्शन हुँदैछ । निर्देशक ढकालले उपन्यासको कथाको मर्मलाई आत्मसाथ गर्दै जस्ताको तस्तै पर्दामा उतारिएको दाबी गरेका छन् । चलचित्रमा आशिष पिया र रेवती क्षेत्रीले अतीत तथा सायाको भूमिकालाई चरितार्थ गरेका छन् ।
चलचित्रको हालै सार्वजनिक तीन मिनेट लामो ट्रेलरमा अतीत र सायाबीचको प्रेमसँगै समयक्रममा उत्पन्न हुने परिस्थिति, मिलन–विछोडका थुप्रै संयोग जोडिएका छन् । सामीप्यराज तिमिल्सेनाको पटकथाको यो चलचित्रमा सुबिनको सहकार्यमा सामीप्यले नै संवाद लेखेका छन् । चलचित्रमा पुष्पन प्रधानको संगीत छ भने सुरजसिंह ठकुरी, नम्रता सापकोटा, शिशिर भण्डारी, सरोज खनाल, ओमप्रतिक, मानस थापा आदि कलाकारले समेत अभिनय गरेका छन् ।