साप्ताहिक संवाददाता
यो शुक्रबार आरोप, बैना र अनागत एकसाथ प्रदर्शनमा आउँदैछन् । अघिल्लो शुक्रबार एउटा चलचित्र मात्र प्रदर्शन भएकोमा यसपटक तीनवटा चलचित्र प्रदर्शन हुनु आफैंमा विडम्बना हो । तीनवटा चलचित्र जुध्दा फाइदा बाँडिनेछ भने प्रत्येक चलचित्रसमक्ष लगानी उठाउने चुनौती थपिनेछ ।
अनागत
शंकाका कारण एउटा परिवारमा उत्पन्न हुने झगडामा केन्द्रित चलचित्र अनागतका सम्बन्धमा एउटा रोचक खबर छ । अनागतको छायांकन तीन वर्षअघि सम्पन्न भएको थियो । निर्देशक साम्तेन भुटियाका अधिकांश चलचित्रको प्रदर्शनमा यस्तै समस्या देखिएको छ । यो चलचित्रमा अभिनेत्री प्रियंका कार्की तथा अभिनेता अर्पण थापा श्रीमान्–श्रीमतीको भूमिकामा छन् भने यसमा प्रविण खतिवडा, रोसिन सुवेदी आदिको समेत अभिनय छ । यो चलचित्र सस्पेन्स–थ्रीलर कथामा तयार पारिएको निर्माण पक्ष बताउँछ ।
सिसन बानियाँको छायांकन, चन्द्र कुमार झाको कथा, प्रवचन श्रेष्ठ र साम्तेन भुटियाको पटकथाको अनागतका मुख्य कलाकार अर्पण थापाका अनुसार यो चलचित्रमा एउटा सन्तुलित कलाकार असन्तुलित भएपछि उब्जिने अवस्थाको चित्रण गरिएको छ जसमा अभिनेत्री प्रियंका कार्की गृहिणीको भूमिकामा प्रस्तुत भएकी छिन् ।
आरोप
अमर ओली निर्देशित चलचित्र हो— आरोप । निर्देशन क्षेत्रका नयाँ अनुहार ओलीले सञ्चिता लुइँटेल, किशोर खतिवडा, रश्मि भट्ट, सुशील पोखरेल आदि कलाकारलाई लिएर यो चलचित्र निर्माण गरेका हुन् । दिलासा क्रिएसनको ब्यानरमा निर्मित चलचित्र आरोपको कथा लक्ष्मण सुवेदीले लेखेका हुन् । विजय पाठक र दिनेश राउतको निर्माण, वीरेन्द्र भट्टको छायांकन, कमल राईको नृत्य, सानुकुमार महर्जनको द्वन्द, एस.के अधिकारी र गणेश चौधरीको संगीत रहेको यो चलचित्रको छायांकन काठमाडौं र बाहिरका जिल्लामा गरिएको छ । यो चलचित्रलाई साहिल खानले सम्पादन गरेका हुन् ।
बैना
दिल प्रकाश याक्सोको निर्देशनको चलचित्र बैना ठूलो प्रचार–प्रसारबिना प्रदर्शनका लागि तयार भएको छ । रन्जिता लिम्बू, सुवास मेचे, सूरवीर पण्डित, उदय सुब्वा आदि कलाकारद्वारा अभिनित चलचित्र बैना प्रेमकथामा आधारित छ । हिमाली लिङ्देन फिल्म्सको व्यानरमा भुपेन्द्र लिङ्देनको प्रस्तुति बैनालाई हिमाली लिङ्देन, राजु लिङ्देन, धन बहादुर याक्सो तथा बिना पालुङ्वाले संयुक्त रूपमा निर्माण गरेका हुन् । तिरुपति पिक्चर्सले बितरण गर्ने यो चलचित्रमा विकास चौधरीको संगीत तथा तारा थापा किम्भेको सम्पादन छ । यो चलचित्रको कथा, पटकथा तथा संवाद विजय केरुङले लेखेका हुन् ।