साप्ताहिक संवाददाता
नेपाल मान्यता प्राप्त अन्तर्राष्ट्रिय एकदिवसीय टिम हो भन्ने तथ्य हाम्रा क्रिकेट प्रशंसकले अबको दुई साता फेरि अनुभव गर्न पाउनेछन् । आजैदेखि नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बीच एकदिवसीय र ट्वान्टी–२० क्रिकेट सिरिज प्रारम्भ भएको छ । पहिलो एकदिवसीय क्रिकेट आज शुक्रबार भएको छ । नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) बाट एकदिवसीय टिमको मान्यता पाएयता टिमले खेल्न लागेको यो दोस्रो श्रृंखला हो । यसअघि नेपालले नेदरल्यान्ड्सविरुद्ध एकदिवसीय श्रृंखलामा सहभागिता जनाएको थियो ।
अब नेपाल युएईको परीक्षाबाट गुज्रिनेछ । यो श्रृंखलामा के हुनेछ त ? यसको पूर्व विश्लेषण गर्न हामीसँग दुईवटा पाटा छन् र यसले अब आउने दिनमा पनि नेपाली क्रिकेटलाई प्रभावित तुल्याउनेछ । पहिलो पाटो— नेपाललाई एकदिवसीय खेल खेल्न सजिलो हुने छैन । नेपाली खेलाडीहरूले ५० ओभरको क्रिकेट खेल्ने अवसर नै प्राप्त गरेका छैनन् भने कसरी यो संस्करणमा टिमले राम्रो गर्न सक्छ भन्ने अपेक्षा गर्ने ? हिजोआज नेपाली खेलाडी ट्वान्टी–२० क्रिकेटमै अभ्यस्त हुन थालेका छन् ।
दोस्रो तथ्य ट्वान्टी–२० क्रिकेटले नेपाललाई उत्तिकै फाइदा पनि गरेको छ । यो वर्षलाई आधार मान्ने हो भने नेपालमा २० ओभरको क्रिकेटका तीनवटा ठूलो प्रतियोगिता हुने गरेको छ । पोखरामा पोखरा प्रिमियर लिग (पीपीएल) र काठमाडौंमा एभरेस्ट प्रिमियर लिग (ईपीएल) सम्पन्न भैसकेका छन् भने अब धनगढीमा धनगढी प्रिमियर लिग (डीपीएल) हुनेछ । यसले नेपाली क्रिकेटका लागि नयाँ र युवा खेलाडीको आपूर्ति गरिरहेको छ भने कम्तीमा खेलाडी नै नपुग्ने अवस्थाको अन्त्य भैसकेको छ ।
कमजोर ब्याटिङ
नेपालले लामो संस्करणको क्रिकेट नखेलेको परिणाम दोहरिएर आइरहेको छ र त्यो हो— कमजोर ब्याटिङ । नेपाली खेलाडीका लागि ५० ओभरसम्म पनि टिक्न गाह्रो हुन थालेको छ, ठूलो स्कोर खडा गर्ने लक्ष्य त परको कुरा भयो । नेपालमा जति ट्वान्टी–२० क्रिकेटका प्रतियोगितालाई लिएर हलचल मच्चिन्छ, त्यस्तो हलचल ५० ओभरको क्रिकेटका लागि देखिँदैन । अझ भनौं, नेपाली घरेलु संरचनामा एकदिवसीय क्रिकेटको कुनै स्थान छैन भन्दा पनि हुन्छ ।
तस्बिर: कान्तिपुर अर्काइब
त्यसैले पनि नेपाली ब्याटिङ कमजोर देखिएको हो । आजभोलि नेपाली टिमका ब्याटिङ सल्लाहकार हुन्— भारतीय प्रशिक्षक उमेश पटवाल । नेपाली क्रिकेटका लागि उनी नयाँ नाम पनि होइनन् । पटवाललाई नेपाली क्रिकेटको अवस्थाका सम्बन्धमा राम्रो जानकारी छ । पटवाल भन्छन्, ब्याटिङमा नेपालको खेल योजना कमजोर छ । नेपाली खेलाडीमा बल कसरी खेल्ने सोच त छ, तर खेललाई ब्याटबाट कसरी अघि बढाउने भन्ने सोच कमजोर छ ।
त्यसको एउटै कारण ५० ओभरको प्रतियोगिता नहुनु नै हो । ‘हाम्रा खेलाडी ट्वान्टी–२० क्रिकेट खेल्न बढी अभ्यस्त भए, त्यसैले जति बेला उनीहरू एकदिवसीय खेल खेल्न मैदानमा उत्रन्छन्, प्रदर्शन संघर्षपूर्ण हुन्छ ।’ एकदिवसीय क्रिकेटमा टिमले कसरी खेल्नुपर्छ भन्ने कुरा प्रत्येक खेल अनुसार फरक–फरक हुन्छ । नेपाली ब्याट्सम्यान यसैमा आफूलाई अभ्यस्त बनाउन चुकेका छन् । त्यसैले छुच्चो भएर भन्नैपर्छ— नेपालको ब्याटिङ अहिले निकै कमजोर स्थितिमा छ ।
नयाँ अनुहार
यसपटक युएई पुगेको नेपाली टिममा चार नयाँ अनुहार छन् । अहिले नेपालमा राम्रा भन्न मिल्ने खेलाडीको संख्या कम हुन छाडेको छ र यसका लागि तिनै ट्वान्टी–२० क्रिकेटका तीन फ्रेन्चाइज प्रतियोगितालाई धन्यवाद दिनुपर्छ । नेपालका लागि पहिलो पटक खेल्ने अवसरबाट गुज्रन लागेका खेलाडी हुन्— अविनाश बोहरा, पवन सर्राफ, भीम सार्की र सन्दीप जोरा । यी सबै खेलाडीको उदय पीपीएल, ईपीएल तथा डीपीएलबाट भएको हो ।
यो तथ्यमा कप्तान पारस खड्का पनि सहमत छन् । खड्काले भनेका छन्, ‘नेपाली राष्ट्रिय टिममा पर्न आजभोलि कडा प्रतिस्पर्धा हुन थालेको छ । धेरै युवा खेलाडीले घरेलु क्रिकेटमा आफूलाई प्रमाणित गरेका छन्, स्थापित गरेका छन् ।’ प्रशिक्षक जगत टमाटाको भनाइ छ— नेपाली क्रिकेटलाई अझ माथि लान युवा खेलाडीहरूमाथि बढी विश्वास गर्नुपर्छ ।
खेल तालिका
माघ ११ पहिलो एकदिवसीय
माघ १२ दोस्रो एकदिवसीय
माघ १४ तेस्रो एकदिवसीय
माघ १७ पहिलो ट्वान्टी–२०
माघ १८ दोस्रो ट्वान्टी–२०
माघ २० तेस्रो ट्वान्टी–२०
प्रत्यक्ष प्रसारण के मा ?
नेपाल र युएई बिच हुने द्विपक्षी क्रिकेट श्रृङ्खलाको प्रत्यक्ष प्रसारण युएईको क्रिकेट बोर्डले आधिकारिक रूपमा स्थानीय टेलिभिजनबाट एक खेल गर्दैछ । यी खेलहरूलाई icc-cricket.com, espncricinfo.com, cricketingnepal.com, ekantipur.com (अपडेट मात्र) तथा हाम्रोखेलकुदले प्रत्यक्ष अपडेट गर्दै छ ।