जनतासँग उठाइएको कर र भ्याट त घूस खाएर करोडपति व्यापारीलाई फिर्ता गर्ने देशमा विदेशको धन कसैले फिर्ता ल्याउनेवाला छैन । त्यसैले बेकारको कुरा सोंचेर नबसौं ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय नोट परिवर्तन गरे जस्तै नेपालमा पनि रातारात २ हजारको नोट बनाउनुपर्छ । त्यसपछि सबै ठीक हुन्छ ।
कुलेन्द्र विश्वकर्मा, गायक
मलाई थाहा भएसम्म नेपालीले विदेशमा धन राख्न पाउँदैनन् । त्यसमा कारबाही गर्न कानुन पनि बनेको छ । त्यसैले कानुनको मर्यादा पालना गराउन विदेशमा धन राख्ने व्यक्तिहरूलाई कानुनी दायरामा ल्याएर कारबाही गर्नुपर्छ ।
भुवन केसी, अभिनेता
यसका लागि सरकारको सम्बन्धित निकायले कडाइ गर्नुपर्छ, सरकार आफैंले पनि कदम उठाउन जरुरी छ । यद्यपि, अहिलेको परिस्थितिमा देशभित्रैको भ्रष्टाचार रोक्न सकेको अवस्था छैन भने विदेशमा भएको धन फिर्ता गराउन सक्लान् र ? त्यसैले पहिले देशभित्र भैरहेको भ्रष्टाचार, तस्करी आदि रोकेर त्यसपछि विदेशमा जम्मा गरेको धनतिर ध्यान दिनुपर्छ । सरकारले चाह्यो भने सम्भव छ अन्यथा सधैं यसैगरी चलिरहन्छ ।
आनन्द राई, संगीतकार
नेपालमै लगानी गर्न सक्ने वातावरणका साथै लगानी सुरक्षाको प्रत्याभूति हुनुपर्ला कि ।
हेमन्त शर्मा, गायक
सकेसम्म पैसा फिर्ता ल्याउने प्रयास गर्ने भएन भने आफैं फिर्ता जाने ।
दीपकराज गिरी, अभिनेता
जनतासँग उठाइएको कर र भ्याट त घूस खाएर करोडपति व्यापारीलाई फिर्ता गर्ने देशमा विदेशको धन कसैले फिर्ता ल्याउनेवाला छैन । त्यसैले बेकारको कुरा सोंचेर नबसौं ।
राजेन्द्र थापा, गीतकार
त्यो हाम्रै पसिना हो । हामीबाटै लुटिएको धन हो । त्यसैले विदेशमा धन राख्नेहरूलाई जेल हालेर कारबाही गर्ने अनि त्यो धन जनताको खातिर जनतामै ल्याउनुपर्छ ।
दिवाकर भट्टराई, निर्देशक
पहिलो कुरा सम्बन्धित निकायले छानबिन गर्न आवश्यक छ । अर्को कुरा, छानबिन गर्ने निकायका मानिसहरूको चाहिँ विदेशमा धन हुनुभएन । यति भयो भनेमात्र विदेशमा भएको धन फिर्ता ल्याउन सकिन्छ ।
आशिफ शाह, अभिनेता
वीरेन्द्रको सम्पत्ति जसरी ट्रष्टमा ल्याइएको छ । त्यसैगरी एउटा ट्रष्ट बनाएर विदेशमा रहेको अवैध सम्पत्ति फिर्ता ल्याउनुपर्छ । त्यसपछि भ्रष्टाचार पनि निर्मूल हुन्छ । किनभने भ्रष्टाचार गरेरमात्र के गर्नु, लुटेर मात्र के गर्नु ? राख्ने ठाउँ हुँदो रहेनछ भन्ने सोच्छन् अनि भ्रष्टाचार गर्न र लुट्न छाड्लान् कि ?
केदार घिमिरे, हास्य अभिनेता
जुन–जुन धनाढ्यले विदेशमा पैसा राखेका छन्, उनीहरूका लागि नेपालमा लगानीको वातावरण नभएको कारणले हो । अर्को कुरा नेपालका बैंकहरूको विश्वास नभएर पनि हो । त्यसैले नेपालका बैंकहरूले धनाढ्यहरूको विश्वास जित्न जरुरी छ । नेपालका बैंकहरूले विदेशी बैंकले जस्तै सुरक्षाको ग्यारेन्टी गर्ने हो भने नेपाली धन विदेशको बैंकमा पुग्दैनथ्यो ।
अर्जुन घिमिरे, हास्य अभिनेता
यसमा दुईवटा कुरा छ । विदेशमा बसेर विदेशमै कमाएर उसले त्यहाँ राख्न पायो तर स्वदेशमा बसेर स्वदेशमै उत्पादन गरेर कमाएको धनचाहिँ विदेशी बैंकमा लगेर राख्नु अवैधानिक हो । त्यसैले यस्तो धन राष्ट्रियकरण गरेर देशका दुर्गम ठाउँहरूमा लगानी गर्नुपर्छ ।
किरण केसी, हास्य अभिनेता
पहिलो कुरा त नेपालमा लगानी गर्ने वातावरण भएन जसले गर्दा नेपाली धन बाहिर गयो । त्यसैले नेपालमा लगानी गर्ने वातावरण सिर्जना गर्नुपर्छ ।
बेनिशा हमाल, अभिनेत्री
नेपाली धन बाहिरिनु भनेको नेपालमा लगानी गर्ने वातावरण नहुनु हो । अर्को कुरा धन भएका मानिसले लगानीका लागि सुरक्षा पनि खोजिरहेका हुन्छन् । नेपाल सरकारले सुरक्षाको प्रत्याभूति पनि दिन सकेको अवस्था छैन । त्यसैले सरकारले लगानी गर्ने वातावरण निर्माण तथा सुरक्षाको ग्यारेन्टी गर्न सक्नुपर्छ । त्यसपछि विदेशमा भएका नेपालीको धन आफैं नेपाल भित्रिन थाल्छ ।
रिमा विश्वकर्मा, अभिनेत्री
उनीहरूलाई फकाई–फकाई नेपालमै लगानी गर्न लगाउनुपर्छ । त्यसपछि धन बाहिर जाने नो चान्स ।
बुद्धि तामाङ, अभिनेता