‘आत्मा साक्षी राखी मन, वचन र कर्मले सामाजिक सेवा गरौं’ भन्ने मूल नाराको साथ स्थापना भएको सहारा क्लब हङकङले आफ्नो बार्षिक आयब्यय र भबिष्यका सामाजिक कामहरुको फेरहिस्ता सार्वजनिक गरेको छ । क्लबलाई आर्थिकरुपमा टेवा पुऱ्याउँनका लागि २८ सेप्टेम्बर २०१८ का दिन हङकङमा च्यारिटी हाईकिङ र नाईट डिनरको आयोजना गरिएको थियो । ‘स्वास्थ्य जीवनको लागि पदयात्रा’ शिर्षकमा आयोजना सम्पन्न गरिएको पदयात्रामा संञ्चारकर्मी रवि लामिछाने आफ्नो टिमसहित सहभागी थिए ।
सहाराले आफ्नो आयब्यय सार्वजनिक गर्दै नाईट डिनर र च्यारिटी पदयात्राका सम्पूर्ण खर्चहरु कटाएर ७८ हजार २ सय १५ हङकङ डलर बचत गरेको छ । बचत रकमबाट रासकोट सामुदायिक अस्पतालको सहयोगार्थ २ लाख र सहारा क्लब पोखरामा कठिन परिस्थिती एवंम विपन्न वर्गका बालकहरुको सहयोगार्थ ५ लाख रुपैया सहयोग रकम प्रदान गरिएको संस्थाका अध्यक्ष दिपक गुरुङ् बताउँछन् ।
कार्यक्रममा संञ्चारकर्मी लामिछानेले कर्णालीको कालिकोटमा रासकोट सामुदायिक अस्पताल निर्माणको लागि सहयोगको अपिल गरेका थिए । उक्त अपिललाई मध्यनजर गर्दै हङकङमा रहेका नेपालीहरुले ब्यक्तिगत तर्फबाट र विभिन्न संघसस्थाहरुको तर्फबाट संकलन भएको २७ लाख ८४ हजार १ सय ६९ रुपैया नेपाल पठाईसकिएको र बाँकी रहेको २ लाख ८५ हजार रुपैया चाँडै पठाईने प्रमुख सल्लाहकार दुर्गा गुरुङ् बताउँछन् ।
शुरुवातीकालबाटै खेलकुद, सामाजिक कार्य र अभावमा जीवन बाााचेकाहरुका लागि सहयोगका विभिन्न कार्यक्रमहरु गरिरहेको सहाराले पोखरामा परिवार गुमाएका अनाथ बालबालिकाहरुका लागि सहारा एकेडेमी स्थापना गरेको छ । २०५८ सालमा स्थापना भएको एकेडेमी मार्फत राष्ट्रिय स्तरका खेलाडीहरुको उत्पादन भईरहेको छ, यसको पहिलो उदाहरण राष्ट्रिय खेलाडी अनिल गुरुङ हुन् ।