नयाँ कलाकार । हिरोमा खासै हिरोइज्म छैन । हिरोइनको न हाइट छ, न त स्लिम बडी । अभिनेत्रीमा हुनुपर्ने धेरै कुरा छैन उनीसँग । आफ्नो यथार्थ कथामा अभिनय गर्न तयार भएका उनीहरू काठमाडौं पुतलीसडकस्थित स्टार मलमा पत्रकारहरूका अघि चलचित्र निर्माण घोषणा कार्यक्रममा उपस्थित थिए । पत्रकारहरूका सामु आफ्नो वेदना सुनाउने क्रममा उनीहरू पटक–पटक भावुक भए । आँखाबाट आँसु छचल्किएको जो कसैले देख्न सक्थे । उनीहरू केन्द्रित भएर चलचित्र निर्माण भयो र प्रदर्शन भयो, गत असार २९ गते । सुरुमा खासै चलेन चलचित्र तर दिन बित्दै गयो, साता बित्दै गयो बोबीको चर्चा चुलिँदै गयो । चलचित्रको शो जति साता बढ्दै छ, उति राम्रो आम्दानी हुन थाल्यो । मिलन चाम्स निर्देशित यो चलचत्रिमा थिए, रियल जोडी अर्थात् उमेश थापा र कविता गुरुङ । पहिलो चलचित्रको सफलतासँगै हौसिएका उनीहरू अभिनित हिट चलचित्र बोबीको दोस्रो भाग निर्माण हुने पक्का भएको छ । चलचित्रको शीर्षक राखिएको छ, बोबी–२, बाँकी कथा । अब यो चलचित्रमा उमेश र कविताको सफलता र सफलतापछि जीवनको सुन्दरता हेर्न पाइनेछ ।
चलचित्रलाई मिलन चाम्सले नै निर्देशन गर्दैछन् । यो चलचित्रको कथा लेख्ने काम हुँदैछ जुन काम सम्पन्न हुनासाथ निर्माण टिम फ्लोरमा जानेछ । निर्देशक चाम्सका अनुसार आगामी चैतको दोस्रो सातातिर चलचित्रको छायांकन सुरु हुनेछ । निर्देशक चाम्स भन्छन्, ‘अब पहिलो भागमा अटाउन नसकिएको उमेश र कविताको कथा देखाइनेछ । यो चलचित्र परिवारको आर्थिक अवस्था कमजोर हुँदा यो जोडीले बाल्यकालमा गरेको संघर्षका साथै नर्बे पुगेपछि गरेको संघर्ष र सफलतामा केन्द्रित हुनेछ ।’ चाम्स भन्छन्, ‘पहिलो पार्टले सबैलाई इमोसनल बनाएको थियो, दोस्रो भागले चाहिँ प्रेरणा दिनेछ ।’ पहिलो भागका लागि डेढ करोड खर्च भएको थियो, दोस्रो संस्करणमा पनि त्यसकै हाराहारी खर्च हुने निर्माण टिमले जानकारी गराएको छ । पहिलो संस्करण ५१ दिन चलेको थियो । चलचित्रमा उमेश र कविताका साथमा विजय लामा आदिको अभिनय रहनेछ ।
बोबी–२, बाँकी कथाको ५० प्रतिशत नर्वे र अरू काठमाडौं तथा पोखरामा छायांकन गरिनेछ । नरेश भट्टराई र गिरिराज घिमिरेले संयुक्त रूपमा उमेशको संघर्ष र सफलताको कथालाई पुन: एकपटक पटकथामा ढाल्दैछन् । बोबी–२, बाँकी कथा अर्को वर्षको मध्यान्तरसम्ममा प्रदर्शनमा ल्याउने निर्माण टिमको तयारी छ । चलचित्रको पहिलो भागमा उमेश र कविताको मिलन, प्रेममा आएको विभिन्न आरोह–अवरोह, परिवारवाट पाएको असहयोग, आफन्तवाट पाएको हेला र आफूहरूको प्रेमलाई सफल बनाउन गरेको संघर्ष लगायतलाई विशेष रुपमा उठान गरिएको छ ।
के भन्छन् उमेश र कविता ?
कथाका पात्र उमेश थापाले आफ्नो संघर्ष र जीवनको कथालाई दर्शकले मन पराएकोमा असाध्यै खुसी भएको प्रतिक्रिया दिए । मेरो कथाबाट गरिब परिवारमा हुर्किएर संघर्ष गरिरहेका मानिसहरू इन्स्पायर्ड भए भने मेरो मेहनत सफल हुनेछ, उनले भने । उनकी धर्मपत्नी कविताले श्रीमान् र आफ्नो जिवनको दोस्रो कथा पर्दामा हेर्न आतुर रहेको बताइन् । उनले भनिन्, ‘उमेशले बाल्यकालमा आर्थिक अवस्था कमजोर भएका कारण विद्यालयको शुल्क बुझाउन नसकेर शिक्षकले बेन्चमाथि उभ्याएको कुरा सुनाउँदा म निकै भावुक हुन्छु । त्यसबाहेक अरु धेरै कुराहरू छन्, जो पहिलो भागमा समेट्न सकिएन अब त्यो सबै कुरा दोस्रो भागमा आउनेछ ।’
यसरी बन्यो बोबी
उमेश र कविताले आफूहरूको संघर्षपूर्ण प्रेमकथामा चलचित्र निर्माण हुन्छ भन्ने कल्पना सम्म गरेका थिएनन् । कामको सिलसिलामा नर्बे पुगेका निर्देशक मिलन चाम्ससँग यो जोडीको भेट भयो, अचानक । भेटका क्रममा चन्चले स्वभावकी कविताले हाम्रो लभस्टोरी पनि चलचित्रभन्दा कम छैन भनेपछि चाम्समा उनीहरूको लभस्टोरी सुन्ने इच्छा पालायो । दुईको प्रेम कहानीले मन छोएपछि निर्देशक चाम्सले चलचित्र बोबी बनाउने निर्णय गरे । उनले चलचित्रका लागि पहिलो खाकास्वरुप केही कथा सुने र केही हप्तामै निर्णय गरें र भने, ‘तपाईहरूको विषयमा मैले चलचित्र निर्माण गर्छु, मलाई सहयोग मात्रै गरिदिए पुग्छ ।’
पहिलोपटक वायोपिकको सिक्वेल
सम्भवत: विश्व चलचित्र बजारमा कुनै बायोपिक चलचित्रको सिक्वेल बनेको छैन । सानो बजार भएको नेपाली सिनेमाले यो रेकर्ड समेत राखेको छ र त्यसको प्रतिनिधित्व चलचित्र बोबीले गरेको छ । बोबीको पहिलो भागमा नभएका दृश्य र अवस्थाको चित्रण दोस्रो भागमा समावेश गरिने निर्देशक चाम्सले साप्ताहिकलाई बताए ।