साप्ताहिक संवाददाता
केहि साता अघि चलचित्र ‘हजार जुनी सम्म’मा अभिनेत्री निरुता सिंहले ५ लाख पारिश्रमिक मागेको खबर सार्वजनिक भयो । खबरसँगै चलचित्रका निर्माताले उक्त रकम धेरै भएको भन्दै आफूले निरुतालाई लिन नसकेको बताए । निरुताका ठाउँमा सञ्चिता लुईटेललाई लिएर निर्माण टिम चलचित्र छायांकनमा निस्कियो ।
त्यतिबेला निरुता सिंह चलचित्र दाल भात तरकारीको सुटिङ् सकेर मुम्बई फर्किसकेकी थिईन् । तर, उनै निरुता अहिले नेपाल आएकी छिन् । नेपाल आएसँगै निरुताले चलचित्रका लागि ५ लाख मागेको बिषयमा जवाफ दिएकी छिन् ।
उनले चलचित्रमा पारिश्रमिकको मात्र कुरा नभएर, केही प्राविधिक कुरा पनि भएको बताएकी छिन् । उनले भनिन्–‘मलाई जसले जुन हिसाबले सोच्नुहुन्छ, उहाँहरुको पारिश्रमिकको बिषयमा त्यस्तै सोच होला । मेरो कामको कदर गर्नेलाई यती पारिश्रमिक ठिक लाग्छ होला । नगर्नेलाई बढी लाग्छ होला ।’
अभिनेत्री सिंहले अगाडि भनिन्–‘पहिले पनि मैले पारिश्रमिक बढाउँदा निरुताले अब चलचित्र क्षेत्र छाड्छिन्, यो क्षेत्रमा टिक्दिनन् भन्थे । मलाई अहिले पनि यो क्षेत्रमा आएर जम्नुनै पर्छ भन्ने लागेको छैन ।
म काम गर्छु, कामको कदर जसले गर्छ उहाँले दिनुभएको छ । मलाई जर्बजस्ती चलचित्रमा लिनुपर्छ भन्ने पनि छैन ।’ अभिनेत्री निरुता सिंह अहिले चलचित्र ‘क्याप्टेन’को एउटा गीतमा नृत्य गर्नका लागि नेपाल आएकी हुन् ।