साप्ताहिक संवाददाता
सुदर्शन थापाको निर्देशनमा तयार हुन लागेको चलचित्र ‘सम्हालिन्छ कहिले मन’को औपचारिक घोषणा गरिएको छ । चलचित्र त्रिकोणात्मक प्रेमकथामा आधारित रहने बताइएको छ ।
यो चलचित्रमा अभिनेत्री पूजा शर्मा, अभिनेता आकाश श्रेष्ठ र नव–नायक सोनम तोप्देनले शिर्ष भूमिकामा रहेर अभिनय गर्ने छन् । साथमा गौरी मल्ल, सरोज खनाल र धिरेन शाक्यले शिर्ष भूमिकामा रहेर उनीहरुलाई साथ दिने भएका छन् । चलचित्रमा अर्जुन पोखरेल र ताराप्रकाश लिम्बुको संगीत, कविराज गहतराजको कोरियोग्राफी, महेश दवाडीको कथा रहनेछ ।
चलचित्रका लागि अन्य केही कलाकार फाइनल हुन बाँकी रहेको निर्माणपक्षले बताएको छ । पत्रकार सम्मेलनमा बोल्दै अभिनेत्री पूजा शर्माले भनेकी छिन् –‘दर्शले हाम्रो चलचित्रलाई विश्वास गर्नुभएको छ ।
अभिनेता आकाश श्रेष्ठले दर्शकको माया र टिमको विश्वासका कारण यो चलचित्रमा जोडिएको बताए । उनले राम्रो काम गर्ने भन्दै दर्शकलाई विश्वस्त हुन आग्रह समेत गरे ।
निर्देशक सुदर्शन थापाले दर्शकले यसअगाडि दिएको मायालाई यसपटक पनि कमजोर हुन नदिने बताए । चलचित्रले प्रेमको कथालाई बोल्ने उनको भनाई छ । चलचित्रको छायांकन यूके र नेपालमा गरिनेछ । फेब्रुअरी ९ बाट यो चलचित्रको छायांकन यूकेमा गरिनेछ ।
चलचित्रको छायांकन लागि निर्देशक थापासहितको ४ जनाको टिम मंगलबार यूके उड्दैछ भने कलाकारको टोली फेब्रुअरीको पहिलो साता यूके प्रस्थान गर्नेछ । चलचित्रलाई अमित बस्नेतले निर्माण गर्दैछन् । चलचित्रमा, परी राना र अजितकुमार थापा सह–निर्माताको रुपमा छन् भने यो चलचित्रका कार्यकारी निर्माता सनिष खकुरेल हुन् ।