नेपालको आधा दशकको अनुभवमा उनलाई लाग्छ– नेपाली फेसन पारखीहरूले नौलोभन्दा ट्रेडिसनल नै खोज्ने गरेका छन् । सन् २०११ मा पेरिसबाट फर्कनासाथ आस्तिकले लाजिम्पाटमा ‘आस्तिक डिजाइन्स’ खोले । उक्त शोरुमको चारैतिर सिसाले बारिएको थियो । अचेल जताततै त्यही शैलीका बुटिक देखिन्छन् । उनले थालेको पारदर्शी बुटिकको ट्रेन्ड अहिले नेपालमा छाएको छ ।
हुने बिरुवाको चिल्लो पात भनेझैं अहिलेका चर्चित फेसन डिजाइनर आस्तिक शेरचन लगभग छ–सात वर्षको उमेरदेखि फेसन डिजाइनिङमा चासो राख्थे । उनलाई पहिरनमा सार्है रुचि थियो । शेरचन सानैदेखि पत्रिकाको कभरमा छापिएको पहिरनको स्केच कोर्थे । उनलाई चलचित्रका हिरो– हिरोइनभन्दा म्यागजिनमा छापिएका मोडलहरू सुपरस्टार लाग्थे ।
फेसन डिजाइनिङप्रतिको झुकावकै कारण उनी स्कुलको आर्ट क्लासमा पनि राम्रा थिए । सेफर इन्टरनेसनल स्कुल पढेका आस्तिकको योजना क्रियटिभ कुरामा लाग्ने थियो । यो क्षेत्रमा नलागेको भए लेखकचाहिं पक्कै बन्थे उनी । उमेरसँगै उनको फेसन डिजाइनिङप्रतिको रुचि पनि बढ्दै गयो । रातो बंगला स्कुलबाट ए लेभल सिध्याउनासाथ आस्तिक पेरिसतर्फ लागे । पेरिस फेसनसँगै कला, साहित्य तथा वास्तुशिल्पका लागि पनि नमुना सहर मानिन्छ । आस्तिकले पेरिसको स्टुडियो बरर्काेबाट तीन वर्षको कोर्स पूरा गरी अरू दुई वर्ष उतै बसी कामको अनुभव बटुले ।
आफ्नै देशमा काम गर्छु भन्ने सोचका साथ नेपाल फर्किएका आस्तिकले आफूले अध्ययन गरे अनुरूपको काम गर्ने वातावरण बनेन । पूरै वेस्टर्न डिजाइनिङ पढेका शेरचनले अहिले ट्रेडिसनल डिजाइनमा हात हालेका छन् जहाँ उनले फेसन डिजाइनिङ सिके त्यहाँ डिजाइनलाई कलाका रूपमा लिइन्थ्यो र डिजाइनरलाई कलाकार मानिन्थ्यो । उनले त्यहाँ पहिरन बेच्नका लागि बनाउने होइन, पहिरनले जसरी कलाले समाजमा परिवर्तन ल्याउँछ त्यसरी नै परिवर्तन ल्याउँछ भन्ने कुरा सिकेका अनि बुझेका थिए । नेपालको आधा दशकको अनुभवमा उनलाई लाग्छ– नेपाली फेसन पारखीहरूले नौलोभन्दा ट्रेडिसनल नै खोज्ने गरेका छन् ।
सन् २०११ मा पेरिसबाट फर्कनासाथ आस्तिकले लाजिम्पाटमा ‘आस्तिक डिजाइन्स’ खोले । उक्त शोरुमको चारैतिर सिसाले बारिएको थियो । अचेल जताततै त्यही शैलीका बुटिक देखिन्छन् । उनले थालेको पारदर्शी बुटिकको ट्रेन्ड अहिले नेपालमा छाएको छ । पछि लाजिम्पाटको बाटो विस्तारित हुँदा उनले आस्तिक डिजाइन्स बन्द गर्नुपर्यो । तीन वर्ष नेपाली फेसन बजार नियालेपछि आस्तिकले नेपालमै यही क्षेत्रमा केही गर्ने हो भने ब्राइडल वेयर र ट्रेडिसनल वेयरमै काम गर्नुपर्छ भन्ने निर्णय लिँदै आफ्नो ट्रेन्डमा परिवर्तन ल्याए । उनी गर्वका साथ भन्छन्– नेपालमा जस्तो इम्ब्रोडरी र कलात्मक बुट्टाहरू युरोपमा पाइँदैन । पुल्चोक थ्री आस्तिकको महत्वाकांक्षी प्रोजेक्ट हो जुन नेपालको पहिलो लक्जरी फेसन स्टोर पनि मानिन्छ । त्यहाँ ब्राइडल तथा एथनिक वेयर तयार पारिन्छ ।
आस्तिकले तीन वर्षअघि खोलेको ‘पुल्चोक थ्री’ नेपालकै लक्जरी फेसन शोरुम हो । यसलाई उनी बुटिक भन्न रुचाउँदैनन् । फेसन ग्यालरीजस्तै देखिने उनको पुल्चोक थ्री महल शैलीको घरभित्र क्लासिक लुक्स आउने फर्निचर, कार्पेट, ऐना, आर्ट, शोपिस आदिले सजिएको छ । ग्यालरीमा पेन्टिङ टाँगिएजस्तै उनका पहिरनहरू प्रदर्शन गरिएका छन् । आस्तिकबाट कसैको पनि डिजाइनको नक्कल उतार्ने काम हुँदैन । आफ्नो डिजाइन नक्कल गरेको पनि उनलाई पटक्कै मन पर्दैन, तर कतिपयले उनका ब्राइडल डिजाइन हुबहु कपी गरेको देख्दा सार्है चित्त दुख्छ । आस्तिक भन्छन्, ‘एक–अर्काको कला चोरी गर्न पाइँदैन, कसैले मेहनत गरेर निकालेको डिजाइन अरूले दुरुस्त उतार्नु अपराध हो ।’
उनको शोरुममा जान ग्राहकले पहिले नै अपोइन्टमेन्ट लिनुपर्छ । अरू बुटिकमा जस्तो अहिले नै जाऊँ भनेर मिल्दैन । यस्तो कन्सेप्ट ल्याउनुको उद्देश्य ग्राहकलाई बढी महत्व दिनु हो– आस्तिक भन्छन्, ‘प्राइभेट सल्लाह र डिजाइनसमेत देखाई एकपटकमा एक जना ग्राहकलाई मात्र समय दिने सोच हो । उनले तयार पारेको ब्राइडल लेहेंगालाई २० हजारदेखि १ लाख रुपैयाँसम्म पर्छ । उनी ग्राहकको बजेट अनुकूल राम्रो तथा सुहाउने हिसाबमा पहिरन तयार पार्छन् । आस्तिकले हरेक महिनाआफ्नो मिनी कलेक्सन निकाल्छन्, जसमा कुनै पनि डिजाइन एक–दुई पिसभन्दा बढी हुँदैनन् ।
नेपाली फेसन बजारमा थुप्रै डिजाइनर छन्, टन्नै बुटिक छन् तर बिजनेसमा जस्तो डिजाइनिङमा इन्भेस्ट गर्ने रिटेलरको अभाव देख्छन् उनी । साथै जति पनि फेसन शो आयोजित हुन्छन्, मनोरञ्जनका रूपमा मात्र सीमित भएको उनको गुनासो छ । आस्तिकका अनुसार फेसन शोहरू त फेसन म्यागजिन, फेसन रिटेलर तथा फेसन इन्डस्ट्रीका लागि हुनुपर्छ । यो कन्सेप्टमा फेसन शो आयोजित भयो भने हाम्रो फेसन डिजाइन पनि अन्तर्राष्ट्रिय रूपमा लोकप्रिय हुन सक्छ ।