साप्ताहिक संवाददाता
लामो समयपछि नेपाली राष्ट्रिय टिममा बलियो पुनरागमन गरेका निराजन खड्काले लिगको समाप्तिसँगै थ्री स्टार छाडेका छन् अथवा भनौं, थ्री स्टारले उनलाई अनुबन्धबाट फुकुवा गरेको छ । निराजनले लामो समय थ्री स्टारबाट खेले । पछिल्लो समय उनले टिममा गुटबाजी गरेको आरोपसमेत लाग्यो ।
जति बेला उनी थ्री स्टारबाट अगल भए, उनले आफ्ना भावना रोक्न सकेनन् र त्यसलाई मज्जाले व्यक्त गरे । निराजनका अनुसार यो क्लबबाट खेल्दा उनले सबै खालका अनुभव बटुले, खुसी, हाँसो, पीडा र उपलब्धि । थ्री स्टारका लागि उनले राम्रा शब्द मात्र खर्चिए ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘थ्री स्टारप्रति मेरो माया सधैं रहनेछ, यो क्लबका लागि खेलेकोमा गर्व पनि छ । मैले थ्री स्टारबाट खेल्दा धेरै कुरा सिकें, अब यही क्लबबाट बिदा लिने समय आएको छ ।’ पूर्व खेलाडी अनन्त थापाको भनाइमा यो हो, व्यवसायिक खेलाडीको पारा, जेन्टलम्यान हुन्, निराजन ।