मेरो उमेर २० वर्ष पुग्यो । मलाई १७ वर्षदेखि नै हस्तमैथुनको लत लागेको छ । यसका लागि म विभिन्न आइडिया लगाउँछु । के यसले स्वास्थ्यलाई कुनै नकारात्मक असर गर्छ ? यो लतबाट छुट्कारा पाउने उपाय के छ ?
जे.के.
तपाईंले गर्नुभएको काम के होला ?
तपाईंलाई यौनसम्बन्धी कतिपय सन्दर्भमा स्पष्टसँग कुराकानी गर्न असहज भएजस्तो लाग्छ । युवावस्थामा यौन उत्तेजना हुनु सामान्य हो । यसले यौन विकास स्वस्थ रूपमा भएको संकेत गर्छ । यही यौन उत्तेजना शान्त पार्न यौन परिकल्पना गर्दै यौनाङ्ग हल्लाएर हस्तमैथुन गरिन्छ । आइडिया लगाउनु भएको भनेको पक्कै पनि यौन परिकल्पना हुनुपर्छ । हस्तमैथुन भनेको आफैंले यौनाङ्ग चलाउने वा दबाउने जस्ता क्रियाकलाप गरेर यौन आनन्द प्राप्त गर्ने क्रियाकलाप हो ।
के हस्तमैथुनले हानि गर्छ ?
हस्तमैथुन यौन आनन्द प्राप्त गर्ने वैकल्पिक उपाय हो । समाजमा व्यापक रूपमा रहे पनि अझै यसले सामाजिक मान्यता पाउन सकेको छैन । यसलाई प्राकृतिक नमान्नेहरूमध्ये कसैले यसलाई पापसँग जोडेका छन् भने कसैले खराब स्वास्थ्यसँग । यसलाई पापसँग नजोडी बुद्धिमान सृष्टिकर्ताले हामीलाई यी कुराको आवश्यकता पर्छ भनी दिएको वरदान मान्नेहरू पनि यो संसारमा छन् । कुरा जे भए पनि यस्तै कारणले हस्तमैथुनले हानि गर्छ कि भन्ने चिन्ताले धेरैलाई पिरोलेको हुन्छ, किनभने समाजमा प्रशस्त मिथ्या धारणाहरू व्याप्त छन् । हस्तमैथुन गरे मुखमा दाग आउने, आँखाको दृष्टि कमजोर हुने, नपुंसक हुने, विवाहपश्चात् आफ्नो यौनसाथीलाई सन्तुष्टि प्रदान गर्न नसक्ने वा शीघ्र स्खलन हुने, लिङ्ग बाङ्गो हुने जस्ता अनेकौं भ्रम व्याप्त छन् । वास्तवमा हस्तमैथुनले स्वास्थ्यसम्बन्धी कुनै हानि–नोक्सानी गर्दैन । किन त भनेर यसको वैज्ञानिक आधार पनि हेरौं ।
तपाईंलाई थाहै होला, किन यौन आनन्द प्रदान गर्ने उपायहरूमध्ये यौन अङ्गको घर्षण प्रमुख हो । सम्भोग गर्दा दुई व्यक्तिका यौन अङ्गहरू एक–आपसमा घर्षण हुन्छन् । मानिसले आफ्नो यौन अङ्गको घर्षण अरू कसैको यौन अङ्गमा गराएर मात्र यौन आनन्द प्राप्त गर्ने होइन । हस्तमैथुन एउटा यस्तो उपाय हो जसबाट यौन सम्पर्कबाहेक अन्य तरिकाबाट नै आफ्नो यौन अङ्गको घर्षण गराएर यौन आनन्द तथा यौन चरमसुख प्राप्त गरिन्छ । सिद्धान्तत: सम्भोग गर्दा र हस्तमैथुन गर्दा यौन अङ्गको घर्षणबाट यौन आनन्द प्राप्त गर्ने प्रक्रिया तथा मानव यौन प्रतिक्रिया चक्र उस्तै हो । त्यसैले सम्भोग गर्दा हानि हुँदैन, हस्तमैथुन गर्दाचाहिँ हानि हुन्छ भन्न मिल्दैन । सामान्यत: हस्तमैथुन आफैंले खराबी गर्ने नभए पनि यसैसँग जोडिएर आउने हीनताबोध वा दोषीपनले भने समस्या उत्पन्न गराएको हुन्छ । मानिसले बाल्यकालदेखि नै वयस्क व्यक्तिहरूको व्यवहारलाई चनाखो रूपमा अवलोकन गरिरहेको हुन्छ र त्यसैका आधारमा यौनसम्बन्धी धारणा बनाउन थाल्छ । प्राकृतिक शारीरिक क्रियाकलापसँग अमिल्दा मूल्य–मान्यताले आन्तरिक रुपमा द्वन्द्वात्मक स्थिति पैदा हुँदा यस्ता नकारात्मक असरहरू देखा पर्छन् । यस्ता नकारात्मक असरबाट जोगिन हामीले मनबाट नकारात्मक धारणा निकाल्न सक्नुपर्छ ।
हस्तमैथुनका फाइदा
हामीले हस्तमैथुन गर्ने नै यौन सन्तुष्टिका लागि हो । सर्वप्रथम त हस्तमैथुनले यौनेच्छाको दमनबाट हुने तनावबाट मुक्ति दिलाउँछ । भनिन्छ, तनाववाट मुक्त मानिस बढी सकारात्मक रूपमा सिर्जनशील हुन्छ अनि यौनका दृष्टिकोणबाट पनि तनावमुक्त हुनुको पनि आफ्नै महत्व हुने नै भयो । अहिले हामीले अनेकौं यौन अपराधका घटना सुन्ने गरेका गछौं । हस्तमैथुनले यौन चाहना शान्त पार्न मद्दत पुर्याउने भएकाले हस्तमैथुनमार्फत कतिपय यौन अपराध कम गर्न सहयोग मिल्छ भन्नेहरू पनि थुप्रै छन् ।
कतिपयले विवाहपूर्व यौनेच्छा शान्त पार्न देहव्यापारीसँग सम्बन्ध बनाउँछन् । त्यसो नभए पनि अन्य केटी वा केटा यौनसाथीसँग यौनसम्पर्क राखिन्छ । यस्ता क्रियाकलापमा समय र पैसा दुवै खर्च हुने स्थिति हुन्छ । यस्तो कुरा समाजका अन्य व्यक्तिले थाहा पाउँदा बेइज्जतिको सामना गर्नुपर्ने हुन्छ । अर्कातिर आत्मग्लानि हुने स्थिति त छँदैछ । फेरि यस्ता यौन सम्पर्कबाट एचआईभी वा यौन रोग सर्ने सम्भावना पनि त्यत्तिकै हुन्छ । हस्तमैथुन गर्दा समय र पैसा खर्च नहुने मात्र होइन, रोगबाट समेत जोगिन सकिन्छ । यौनसम्पर्कमा गर्भधारणको सम्भावना हुने हुँदा, त्यस्तो गर्भधारण अनिच्छित भए त्यसको थप असर त हुन्छ नै । हस्तमैथुनले यस्ता समस्याबाट पनि जोगाउँछ ।
यौन आनन्द प्राप्त गर्न सहयोग गर्ने भएकाले यसले तनाव तथा निराशा कम गर्छ । यहाँ भन्नु पर्दैन होला कि यसले मनस्थितिलाई राम्रो अवस्थामा राख्छ । शीघ्र स्खलनको समस्या हुने पुरुषलाई यस्तै दुई घण्टाअघि हस्तमैथुन गरेपछि यौन सम्पर्कमा संलग्न हुँदा सहयोग मिलेको देखिएको छ । नियमित रूपमा यौनसम्पर्क नभएका बेला पनि हस्तमैथुन गरेर वीर्य स्खलन गर्दा नयाँ शुक्रकीट आउने भएकाले शुक्रकीटको गुणस्तर राम्रो भएको पाइएको छ ।
हस्तमैथुनले कसरी यौन चरमसुख प्राप्त गर्न सकिन्छ भनेर खोज गर्न पनि सहयोग गर्छ । आफ्नो यौनसाथी वा भविष्यमा श्रीमतीसँग प्राक्क्रीडा गर्दा यी क्रियाकलापले सहयोग पुर्याउँछ ।
अहिलेको आधुनिक जीवनशैलीमा विभिन्न कारणले श्रीमान्–श्रीमती वा प्रेमी–प्रेमिकाको बीचमा लामो समयसम्म यौनसम्पर्क नहुने स्थिति सिर्जना हुन सक्छ । यस्तो बेला अन्य कुनै व्यक्तिसँग यौन सम्पर्क गरेर यौन सन्तुष्टि लिन खोजियो भने दाम्पत्य जीवन नै विखण्डन हुन सक्छ । यस्तो समयमा पनि हस्तमैथुनले सम्बन्धलाई जोगाउन सहयोग गर्छ । आशा गर्छु, तपाईंले पक्कै बुझ्नुभयो होला कि सामान्यजस्तो लाग्ने हस्तमैथुनका विविध फाइदा छन् ।