साप्ताहिक संवाददाता
भेनेजुएलाको छेउमै रहेको आन्ध्र महासागरको कुराकाओ द्वीपमा जन्मिएका रोली विङ्लारलाई अहिले विश्वकै बलिष्ठ शरीर भएका खेलाडी मानिन्छ । तिनै बलिष्ठ ज्यान भएका विङ्लार आगामी फागुन ३–४ गते आयोजना हुने बडीबिल्डिङ प्रतियोगिताका लागि नेपाल आउँदै छन् ।
नेदरल्यान्डको उपनिवेश कुराकाओमा रोली जब ४ वर्षका थिए, उनका पिताजीको मोटरसाइकल दुर्घटनामा मृत्यु भयो । त्यसपछि उनकी आमा बसाइँ सरेर नेदरल्यान्ड पुगिन् । त्यसपछि रोली नेदरल्यान्डमै हुर्किए ।
२७ वर्षको हुँदा रोली कार दुर्घटनामा परेर सख्त घाइते भए । अस्पतालको शैयामा बसेर लामो समय उपचार गराइरहेका रोलीलाई यतिबेला आफ्नो जीवनको उर्बर समय यसै खेर गैरहे जस्तो लाग्यो अनि उनले केही गर्ने सोच बनाए । बडीबिल्डिङका सौखिन र केही बडीबिल्डिङ प्रतियोगितामा सहभागितासमेत जनाएको अनुभवका कारण उनले आफ्नो बाँकी जीवन बडीबिल्डिङमै समर्पित गर्ने निर्णय लिए । अस्पतालको शैयामा देखेको सपना साकार हुँदै गएपछि रोली विङ्लार अहिले विश्व बडीबिल्डिङको क्षेत्रमा ‘द डच विष्ट’, ‘द विष्ट’ तथा ‘सामुराई’ जस्ता उपनामले चर्चित छन् ।
५ फिट ७ इन्च अग्ला रोलीको शरीर उचाइको तुलनामा भीमकाय नै छ । यस्तो शरीर जोकसैको हुँदैन । प्रतियोगितामा सहभागी नहुँदा उनको तौल १ सय ४० किलोभन्दा बढी हुन्छ, तर जब प्रतियोगितामा सहभागिता जनाउने समय आउँछ उनले आफ्नो तौल १ सय ३० किलोग्रामको हाराहारीमा ल्याउँछन् । हेभिवेट क्याटागोरीमा सहभागी हुने हुनाले पनि उनले आफ्नो तौललाई यसमा स्थिर गर्नैपर्ने बाध्यता छ ।
उनको पाखुरा २४ इन्चको छ भने तिघ्रा २८ इन्चको छ । उनको पिँडुला २० इन्च र गर्धन १९ इन्चको छ ।
बडीबिल्डरको खानपिन स्वभाविक रूपमा फरक हुन्छ नै, त्यसमा पनि रोलीको त फरक हुने नै भयो । रोली सरदर दैनिक ६ पटक खान्छन् । उनको खानपिन डाइट प्लानअनुसार हुन्छ । (बक्समा हेर्नुहोस्)
रोलीले अस्पतालको शैयामा बसेर बुनेको सपना सजिलै पूरा हुने किसिमको पनि थिएन ।
यसका लागि उनले धेरै नै मेहनत गर्नुपर्ने थियो । अस्पतालबाट डिस्चार्ज भएपछि रोलीले बडीबिल्डिङमा प्रोकार्ड लिने सपनाका लागि संघर्ष थाले । उनी आफ्नो शरीरलाई आकर्षक बनाउन अनेकौं जिम सेन्टर पुगे, तर कतै आफूले भनेजस्तो प्रशिक्षक फेला पार्न सकेनन् । अन्तत: उनले एक महिला बडीबिल्डर फेला पारे, जसले रोलीको चाहनाअनुसारको शरीर बनाउन सक्ने दाबा गरिन् । उनकै प्रशिक्षणमा रोलीले आफ्नो शरीरको मांसपेशीमा व्यापक परिवर्तन ल्याए ।
जिममा गएर आफ्नो सपना साकार बनाउन थालेको ५ वर्षमै उनले एमेच्योर लिगमा आफ्नो नाम दर्ता गराए भने सन् २००९ मा सम्पन्न आर्नोल्ड एमेच्योर च्याम्पियनसिपमा उपाधि जितेर आफूलाई व्यवसायिक बडीबिल्डरका रूपमा प्रस्तुत गरे । त्यसपछि आयोजित थुप्रै प्रतियोगितामा उनले कुनै न कुनै सफलता हात पारिरहेका छन्, तैपनि उनको सपना भनेको मिस्टर ओलम्पियामा सफलता हात पार्ने नै हो । आर्नोल्ड स्वार्जनेगरले ६ पटक जितेको यो उपाधि रोलीले एकपटक भए पनि जित्ने लक्ष्य लिएका छन् । त्यही सपना साकार पार्न रोली मिस्टर ओलम्पियाको फाइनलमा प्रतिस्पर्धा गर्ने टिकट सुरक्षित गर्न अहिले नेपाल आउन लागेका हुन् ।
प्रत्येक वर्ष आयोजना हुने यो प्रतियोगितामा रोलीले तेस्रो स्थानसम्म हासिल गरेका छन् । सन् २०१० मा पहिलो पटक यो प्रतियोगितामा सहभागिता जनाउँदा १४ औं स्थानमा चित्त बुझाएका रोलीले सन् २०१६ र २०१७ को प्रतियोगितामा छैटौं स्थान प्राप्त गरेका थिए । सन् २०१८ को प्रतियोगितामा भने उनले तेस्रो स्थान हात पारे ।
सन् १९९३ देखि अमेरिकाका विभिन्न राज्यमा हुँदै आएको यो प्रतियोगिता बडीबिल्डरहरूलाई व्यवसायिक बनाउने उद्देश्यले आयोजित गरिन्छ ।
सन् १९६५ मा पहिलो पटक आयोजना भएको मिस्टर ओलम्पियालाई अहिले इन्टरनेसनल फेडेरेसन अफ बडीबिल्डिङ एन्ड फिटनेस (आईएफबीबी) ले सञ्चालन गर्दै आएको छ । मिस्टर ओलम्पियामा सहभागी हुने सबै खेलाडीले बिभिन्न देशमा आयोजना हुने प्रो क्वालिफायरमा सहभागिता जनाउनुपर्ने हुन्छ । यही कारणले रोली गेष्ट पोजरका रूपमा नेपाल आउन लागेका हुन् । यो प्रतियोगितामा अमेरिका, चीन, रूस, भारत, फ्रान्स, बेलायत आदि २० मुलुकका बडीबिल्डरले सहभागिता जनाउनेछन् ।
प्रोफेसनल करिअरकै कारण हाल अमेरिकामा बसोबास गर्दै आएका रोलीले नेदरल्यान्डकै तर्फबाट मिस्टर ओलम्पियामा आफ्नो सहभागिता जनाउनेछन् ।
छाती
डिक्लाइन बेन्च प्रेस : ६ सेट– १५, ८, १२, ६, १०, ५ रिप्स
डनबेल फ्लाई : ६ सेट– १५, ८, १२, ६, १०, ५ रिप्स
इन्क्लाइन डनबेल प्रेस : ६ सेट– १५, ८, १२, ६, १०, ५ रिप्स
मेसिन चेष्ट प्रेस : ६ सेट– १५, ८, १२, ६, १०, ५ रिप्स
मेसिन फ्रन्ट प्रेस :
६ सेट– १५, ८, १२, ६, १०, ५ रिप्स
कुम
सिटेड डनबेल प्रेस : ४ सेट– १५ रिप्स
डनबेल फ्रन्ट रेज : ४ सेट– १५ रिप्स
सिटेड डनबेल साईड ल्याटरल : ४ सेट– १५ रिप्स, इजेड वार अपराईट रो : ४ सेट–१५ रिप्स
ढाड
पुल अप्स : ६ सेट– १५, ८, १२, ६, १०, ५ रिप्स, बारबेल रो : ६ सेट– १५, ८, १२, ६, १०, ५ रिप्स, रिभर्स ग्रिप पुलडाउन : ६ सेट– १५, ८, १२, ६, १०, ५ रिप्स, मेसिन रो : ६ सेट– १५, ८, १२, ६, १०, ५ रिप्स
बेन्ट रोभर ल्याटरल : ६ सेट– १५, ८, १२, ६, १०, ५ रिप्स, अपराइट रो : ६ सेट– १५, ८, १२, ६, १०, ५ रिप्स, स्रग्स : ६ सेट– १५, ८, १२, ६, १०, ५ रिप्स
एब्स
बेन्च क्रन्च : ४ सेट १५ रिप्स
मेसिन क्रन्च : ४ सेट १५ रिप्स
फिटनेस बल क्रन्च : ४ सेट १५ रिप्स
खुट्टा
स्टिफ– लेथ्ड डेडलिफ्ट: ४ सेट– ८ रिप्स, लाइङ लेग कर्ल : ४ सेट– ८ रिप्स, स्ट्यान्डिङ लेग कर्ल : ४ सेट– ८ रिप्स, बारबेल स्क्वाट : ४ सेट– ८ रिप्स, लेग एक्सटेन्सन : ४ सेट– ८ रिप्स, ह्याक स्क्वाट : ४ सेट– ८ रिप्स, सिटेड काल्फ रेज : ४ सेट– ८ रिप्स, स्ट्यान्डिङ काल्फ रेज : ४ सेट– ८ रिप्स