दार्जीलिङमा शिक्षित नीर शाहलाई अभिनयको क्षेत्रमा ऊर्जाशील बनाउने दार्जीलिङ नै थियो । उनी प्रारम्भिक दिनहरूमा अर्थात् २०२२ तिर नाटकमा अभिनय गर्थे । झन्डै ३ सय सिनेमामा अभिनय गरिसकेका शाह सिनेमाको लिचलिचे विकाससँग सन्तुष्ट हुन सकेका छैनन । नेपाली सिनेमा यथार्थवादी भैदिएको भए शायद नीर शाह अभिनयको खोजमा नाटकतिर आउन समय नै पाउने थिएनन ।
शिल्पी थिएटरले नाटक ‘बाथटब’को प्रचार–प्रसार धूमधडाकाका साथ गरेको छ । कुमार नगरकोटीको यो नाटकलाई घिमिरे युवराजले निर्देशित गरेका छन् । नगरकोटी र घिमिरेको कुरा सुन्दा नाटक ‘बाथटब’ प्रयोगधर्मी हो, तर नाटकको शीर्षक आकर्षक छ— ग्राहकको मन सोझै तान्ने खालको । यो नाटकमा कलाकार नीर शाह विशिष्ट भूमिकामा देखिँदैछन् ।
कतिपय चालू सिनेमा र कतिपय विशिष्ट सिनेमाका नायक तथा निर्देशक नीर शाहको बाथटबमा उपस्थितिको पनि बेग्लै अर्थ छ । अर्को विशेष भूमिकामा ब्रजेश खनालले कस्तो अभिनयगर्दा रहेछन् ? मानिसहरू कौतूहल छन् । अर्की कलाकार भूषिताको कुरै नगरौं, उनलाई दर्शकहरूले पर्खिइरहेका छन् । नाटकको व्यवसायिक प्रदर्शन आजैदेखि सुरु हुँदैछ । यो अवस्थामा नाटकका सम्बन्धमा धेरै बोल्नु उचित हुँदैन । नाटकलाई राम्रो वा नराम्रो भन्ने अधिकार दर्शकको हो । यसको उल्लंघन कतैबाट हुनु हुँदैन ।
यद्यपि, नाटकका सबै कलाकारको अभिनयप्रति दर्शकले उम्मेद राखेका हुन्छन, तैपनि बाथटबमा धेरै दर्शकको जिज्ञासा स्वभावत: नीर शाहप्रति छ । नीर शाह नेपाली नाटक र सिनेमा क्षेत्रका सेलिब्रिटी हुन् । उनी गुपचुप सेलिब्रिटी हुन् । अरु सेलिब्रिटीजस्तो हरेक एक्सनमा रियाक्सन खोज्दैनन् उनी । नेपाली सिनेमा क्षेत्रका थोरै गुणी र परिपक्व अभिनेताका रूपमा उनको नाउँ चम्किएको छ ।
रमाइलो कुरा नीर शाह ५३ वर्षपछि नाटक संसारमा फर्किएका छन् । नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानको रजत समारोहमा उनले मुटुको व्यथा नाटकमा अभिनय गरेका थिए । त्यतिबला उनका निर्देशक थिए : हरिहर शर्मा । नाटकका कलाकारहरूमा शकुन्तला गुरुङ, लक्ष्मी श्रेष्ठ र स्वयं हरिहर शर्मा थिए । ५३ वर्षपछि, बाथटबमा पनि उनी हरिहर शर्मासँगै अभिनय गर्दै थिए । संयोगवश, हरिहर शर्मा संगीत नाटक एकेडमीको उपकुलपति भएपछि नाटकका लागि समय संयोजन गर्न सकेनन् । त्यो भूमिकामा ब्रजेश खनाल आए ।
दार्जीलिङमा शिक्षित नीर शाहलाई अभिनयको क्षेत्रमा ऊर्जाशील बनाउने दार्जीलिङ नै थियो । उनी प्रारम्भिक दिनहरूमा अर्थात् २०२२ तिर नाटकमा अभिनय गर्थे । झन्डै ३ सय सिनेमामा अभिनय गरिसकेका शाह सिनेमाको लिचलिचे विकाससँग सन्तुष्ट हुन सकेका छैनन । नेपाली सिनेमा यथार्थवादी भैदिएको भए शायद नीर शाह अभिनयको खोजमा नाटकतिर आउन समय नै पाउने थिएनन । उनी अहिले कुमार नगरकोटीको जुन नाटकमा अभिनय गरिरहेका छन्– बाथटब, त्यसमा नीर शाहकै लागि भूमिका लेखिएको भने हुन्छ भन्छन् नाटककार कुमार नगरकोटी । नीर शाह सहमत छन् यसमा । उनको र कुमारको कुरा पनि मिल्छ । नीरलाई निर्देशक घिमिरे युवराजको कामगर्ने शैली मन परेको छ : उनी शिक्षित र दीक्षित निर्देशक हुन । उनलाई आफू के गर्दैछु भन्ने विषयको राम्रो ज्ञान छ ।
नाटककार कुमार नगरकोटीका अनुसार यो नाटकका पाठक र दर्शक दुवै छन् । नाटकमा पाठक र दर्शक दुवैका लागि पर्याप्त मसला छन्, तर पाठकले जे पढ्छन् दर्शकले त्यो हेर्न पाउँदैनन । दर्शकले जे हेर्छन, पाठकले त्यो पढ्न पाउँदैनन् । नाटकको गतिशीलता यही हो । निर्देशक घिमिरे युवराज निकै उत्साहित छन्, निर्देशनका लागि एउटा नियोजित नाटक पाएकोमा । अभिनयका लागि भने पनि थिएटरमा यस्तो अभ्यास कमै भएको छ ।
‘बाथटबमा कमेडी छ’, कुमार भन्छन्, अहिले कमेडीका नाममा जे देखिने गरेको छ त्यो ट्रेजेडीका विरुद्ध हो यो । नाटकमा निर्देशकका रुपमा युवराजको हस्तक्षेप निकै छ, तर त्यसमा कुनै कलाकारले पनि चित्त दुखाएका छैनन् । नीर शाह त भैहाले । नयाँ लटका ब्रजेश र भूषिता पनि कम्फर्टेवल छन् । ब्रजेश सिरियल किलरको भूमिकामा फिट भएको भनाइ छ निर्देशक घिमिरेको ।
नगरकोटी र घिमिरे दुवै आशावादी छन् । नाटक उनीहरूले गर्न चाहे जस्तो छ । नयाँ स्वाद छ । यसले नाटक हेर्ने दर्शक बढाउनेछ । ‘नाटक आँखा खोलेर भन्दा चिम्लिएर बढी देखिन्छ,’ नगरकोटी भन्छन्, ‘यो नाटक भन्दा पनि त्राटक बढी होला भन्ने पीर छ मलाई ।’ त्यसपछि उनी मस्तले हाँस्छन् ।
नीर शाहको भनाइ रमाइलो छ । उनी भन्छन्, ‘गरिखाने खालको निर्देशकले नाटक बुझेको हुन्छ, नाटक मात्र बुझेर हुँदैन, नाटकपछिका क्षण पनि बुझनुपर्छ । नाटकपछिका क्षण भनेको प्रतिक्रिया हो । दर्शकबाट आउने प्रतिक्रिया नै निर्देशकको ज्यान हो । घिमिरे युवराजले मेरो उमेरमा ५३ वर्ष घटाएर मलाई तरुनो बनाए । उनको महिमा यसमै छ । म नाटककार नगरकोटी र यी तन्नेरी निर्देशक घिमिरेको प्रशंशक भएको छु ।’