साप्ताहिक संवाददाता
चकलेटी अनुहार, आकर्षक हेयरस्टाइल तथा लोभलाग्दो ड्रेस सेन्सका कारण अभिनेता सलिनमान बानियाँका प्रशंसक बढिरहेका छन् । पहिलो चलचित्र ए मेरो हजुर–२ प्रदर्शन भएसँगै उनको क्रेज ह्वात्तै बढेको हो ।
चलचित्रका निर्माता–निर्देशकसमेत उनलाई आफ्नो चलचित्रमा अभिनय गराउन इच्छुक देखिन थालेका छन् । ए मेरो हजुर–२ प्रदर्शन भएको झन्डै एक वर्षपछि सलिनमानको दोस्रो चलचित्र ‘यात्रा’ प्रदर्शनको तयारीमा छ । यद्यपि उनलाई चलचित्रमा लिन इच्छुक निर्माता–निर्देशकको संख्या भने ठूलै छ ।
सलिनमान भने आफ्नै प्रकारको अडानमा छन् । बानियाँ भन्छन्– ‘म वर्षको एउटा मात्र चलचित्रमा अभिनय गर्छु, त्यो पनि चित्तबुझ्दो स्क्रिप्ट पाएँ भनें ।’ यसबीच आफ्नो दोस्रो चलचित्रमा पहिलो चलचित्रको तुलनामा अझ बढी मेहनत गरेको बताउने सलिनमान यसपटक अर्का चकलेटी अभिनेता अनमोल केसीसँगै प्रतिस्पर्धामा उत्रँदैछन् ।
चैत ३० का लागि निर्धारित यात्राको प्रदर्शन मितिमै अनमोल अभिनीत ‘ए मेरो हजुर–३’ पनि प्रदर्शन हुँदैछ । सलिनमानलाई अनमोल केसी र प्रदीप खड्काको प्रतिस्पर्धीका रूपमा हेरिएका बेला एकै दिन यी दुई चल्तिका अभिनेताको चलचित्र जुध्दा कसलाई फाइदा हुने हो ?