साप्ताहिक संवाददाता
चलचित्र गोपीको प्रचारका क्रममा कविता प्रतियोगीताको घोषणा गरिएको थियो । उक्त कविता प्रतियोगीताको नतिजा सार्वजनिक भएको छ । प्रतियोगितामा क्षितिज समर्पणको ‘अस्थिपञ्जर हुनुअघि’ले सर्वोत्कृष्ट भई प्रथम पुरस्कार जितेको छ । त्यस्तै निरज दाहालको ‘स्वावलम्बी झन्डा’ द्वितीय र सुमन थापा मगरको ‘फर्किउ तिमी’ कविता तृतीय पुरस्कार जित्न सफल भएका छन् ।
प्रथम, द्वितीय र तृतीय भएका कविहरुले क्रमश: ३० हजार, २० हजार र १० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । प्रतियोगिताका सहभागीहरुले ‘गोपी’ चलचित्रको ट्रेलर हेरेर त्यसैमा आधारित स्वावलम्बन तथा स्वरोजगार विषयमा कविता लेखेका थिए । सबै कविताको मूल्यांकन कविद्वय उपेन्द्र सुब्बा र नवराज पराजुलीले गरेका हुन् ।
आयोजक आरोही इन्टरटेनमेन्टका अनुसार प्रतियोगिताका लागि २ सयभन्दा बढी कविता प्राप्त भएका थिए । ती कविताबाट निर्णायकद्वयले उत्कृष्ट १० छानेर प्रथम, द्वितीय र तृतीय विजेताको छनोट गरेका थिए ।
उत्कृष्ट १० परेका बाँकी सातवटा कवितालाई सान्त्वनास्वरुप ५–५ हजार रुपैयाँ प्रदान गरिनेछ । सान्त्वना पुरस्कार पाउन सफल कवितामा मदन पन्थीको ‘श्रमको शरम’, दीपक पाण्डेयको ‘सपनाको फाँटबारी’, रमा फुयालको ‘तिम्रो पर्खाइमा’, प्रकाश आचार्यको ‘संकल्प’, शुभचन्द्र राईको ‘समयको आह्वान’, निखिल पाण्डेको ‘आधुनिक मदन’ र नवराज अधिकारीको ‘गोपी बनुँ मै पनि’ छन् ।
विजेताहरुलाई आगामी हप्ता पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ । सयौं युवालाई कविता लेख्न उत्प्रेरित गरेकोमा कवि सुब्बा र पराजुलीले चलचित्रप्रति आभार व्यक्त गरे । दीपेन्द्र लामाले निर्देशन गरेको यो चलचित्र आजैबाट प्रदर्शनमा आएको छ ।