साप्ताहिक संवाददाता
माघ १९, २०७५
अर्को वर्ष जापानको टोकियोमा हुने ओलम्पिकका लागि तयारी प्रारम्भ भएको छ । यही सन्दर्भमा खेल हेर्न आउने पर्यटकहरूको मद्दतका लागि ६ फिटको एउटा रोबोट निर्माण गरिएको छ । रोबोटको नाम एरिसा राखिएको छ । एरिसाले रेलवे स्टेसनमा मानिसहरूलाई रेलका बारेमा जानकारी दिनुका साथै बाटोसमेत बताउनेछ ।
जापानको टेक्नोलोजी कम्पनी अरुज गेमिङ तथा अमेरिकी कम्पनी टीएचके संयुक्त रूपमा उक्त रोबोट तयार गरेका हुन् । यो रोबोटले जापानी, चिनियाँ, अंग्रेजी एवं कोरियाली भाषामा कुरा गर्नेछ । यसमा टचस्क्रिन मोनिटर समेत जडान गरिएको छ ।
हाल दुई स्टेसनमा यसको परीक्षण भैसकेको छ र आगामी दिनमा अन्य स्टेशनमा पनि परीक्षण गरिनेछ । जापानमा ५६ वर्षपश्चात् सन् २०२० मा ओलम्पिकको आयोजना हुँदैछ ।