साप्ताहिक संवाददाता
बलिउडमा कंगना रणावतको चलचित्र ‘मणिकर्णिका’ प्रदर्शन हुने भएपछि गत शुक्रवार ठूलो बजेटका नेपाली चलचित्र प्रदर्शन गरिएनन् । मल्टिप्लेक्समा हलिउड तथा बलिउडका चलचित्रको वर्चस्व कायम रहेको अवस्थामा गत शुक्रवार सिंगल थिएटरमा कम बजेटका दुई नेपाली चलचित्र ‘आरोप’ तथा ‘बैना’ प्रदर्शन त भए, तर ती चलचित्रले दर्शकको साथ भने पाएनन् ।
सामाजिक प्रेम कथामा आधारित चलचित्र ‘आरोप’ ले प्रचारप्रसारमा खासै ध्यान दिएको थिएन । अमर ओलीद्वारा निर्देशित यो चलचित्र प्रदर्शन हुँदैछ भनेर अधिकांश दर्शकलाई जानकारी नै नभएको पाइयो । दिलासा क्रिएसनको ब्यानरमा निर्मित आरोपमा किशोर खतिवडा, सञ्चिता लुइँटेल, ऋचा थापा, राजन गहतराज, राजु राउत, सुशील पोखरेल, दीपिका ढकाल, उद्धव गिरी, प्रेम खड्का आदि कलाकारले अभिनय गरेका छन् । निर्देशक ओलीले चलचित्र भरपूर मनोरञ्जक छ भनेर दावी गरे पनि दर्शकले उक्त चलचित्र हेरेर मनोरञ्जन गर्नेे जाँगर चलाएनन् ।
शुक्रबार नै प्रदर्शनमा आएको चलचित्र ‘बैना’ त प्रचार–प्रसार बिना नै सिनेमा हल पुगेको थियो । रञ्जिता लिम्बू, सुवास मेचे, सुरवीर पण्डित, उदय सुब्बा आदि कलारकारले अभिनय गरेको उक्त चलचित्रलाई दिल प्रकाश याक्सोले निर्देशन गरेका हुन् । त्रिकोणात्मक प्रेम कथामा आधारित यो चलचित्र पूर्वी नेपालमा निर्माण गरिएको हो । चलचित्रमा धनकुटा, दमक तथा इलामका रमणीय लोकेसन त छन्, तर चलचित्रको प्रस्तुति तथा कलाकारहरूको अभिनय हेर्ने दर्शकको भने अभाव भयो ।
भुपेन्द्र लिङ्देनको यो चलचित्र काठमाडौंका केही सिंगल थिएटरमा एक शो पनि नचलेको सिनेमा हलका सञ्चालकहरूले बताएका छन् । यी दुवै चलचित्रका बारेमा साप्ताहिकले चलचित्र समिक्षकहरूको प्रतिक्रिया लिने प्रयास गर्यो । सम्पर्क गरिएका झन्डै एक दर्जन समीक्षकमध्ये एक जनाले पनि यी चलचित्र हेरेको बताएनन् । समिक्षकहरूले चलचित्र नै नहेरेकाले सिनेमा हलका सञ्चालकहरूसँगै चलचित्रका बारेमा प्रतिक्रिया लिने प्रयास गरियो ।
के भन्छन् हलवाला ?
अष्टनारायण हलका एक कर्मचारीका अनुसार शुक्रबार प्रदर्शनमा आएको चलचित्र बैनाको अवस्था निकै दयनिय रह्यो । यतिसम्म कि अष्टनारायण हलमा बैनाका लागि एकजना पनि दर्शक नआएर त्यही दिन चलचित्रलाई बिदा गर्नुपर्यो । यस्तै अर्को चलचित्र आरोपले पनि खासै व्यापार गर्न नसकेको ती कर्मचारीले बताए । यसैगरी बालाजुको गंगा हलमा पनि चलचित्र बैना र आरोपको अवस्था उस्तै रह्यो ।
हलको भित्तामा दुवै चलचित्रको ब्यानर झुन्डाइएको थियो, तर आरोपको एउटा पनि टिकट बिक्री नभएको गंगा हलका कर्मचारी पुरुषोत्तम कुईंकेलले जानकारी दिए । कुइँकेल भन्छन्– ‘हाम्रो हलमा आरोप एक शो पनि चलेन, तर बैनाचाहिँ हल्का चलिरहेको छ ।’ सोमबारको बैनाको रिपोर्ट सुनाउँदै कुइँकेल भन्छन्– १२ बजेको सोमा १२ जना तथा ३ बजेको शो २० जनाले हेरे ।
भक्तपुरस्थित बाराही सिनेमा हलमा पनि आरोप र बैनाले राम्रो व्यापार गर्न नसकेको त्यहाँका कर्मचारीले बताए । उक्त हलमा दुवै चलचित्र लागे पनि औंलामा गन्न सकिने दर्शकमात्र हलसम्म पुगेको ती कर्मचारी बताउँछन् । पाटनस्थित गुण सिनेमा हलमा चलचित्र बैना शुक्रबार २ सो चलेपछि नचलेको एक कर्मचारीले बताए । त्यस्तै आरोपले पनि खासै व्यापार गर्न नसकेको उनले जानकारी दिए ।
उनका अनुसार आरोप हरेक दिन ३ सो चल्छ, तर दर्शक बढीमा ५ जनामात्र हुन्छन् । गत शुक्रबार नै रिलिज हुने भनिएको अर्को चलचित्र अनागत भने प्रदर्शनमा आएन ।