साप्ताहिक संवाददाता
अहिले राजधानी काठमाडौंमा सञ्चार तथा सूचना प्रविधि सम्बद्ध सामग्रीहरूको प्रदर्शनी क्यान इन्फोटेक चलिरहेको छ । भृकुटीमण्डपमा गत मंगलबार प्रारम्भ भएको क्यान इन्फोटेक आज आईतबार सम्पन्न हुने छ । । सूचना प्रविधिमा चासो राख्ने सबैको आकर्षणको केन्द्र मानिने क्यान इन्फोटेकमा विभिन्न छुट तथा स्किमको व्यवस्था गरिएको छ ।
‘सुबिसु क्यान इन्फोटेक–२०१९ इन एसोसिएसन विथ ईसेवा’ शीर्षकको यो मेलामा १ सय ७५ वटा स्टल छन् । मेला अवलोकनकर्ताले एउटै थलोमा सूचना तथा सञ्चार क्षेत्रका नौला प्रविधि एवं उपकरणहरू अवलोकन तथा खरिद गर्न पाउँछन् । प्रदर्शनीमा हार्डवेयर, सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन्स, मोबाइल एसेसरिज, डिलर तथा डिस्ट्रिब्युटर्स, इन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेसन्स, आईसीटी कलेज तथा तालिम प्रदायक संस्थाहरूको सहभागिता छ ।
यसपटकको मेलामा रोबोट ब्याटल कम्पिटिसनको छुट्टै आकर्षण रहनेछ । मेलामा रहने रोबोटिक्स जोनमा पाँच दिनसम्म रोबोट ब्याटल कम्पिटिसन हुनेछ जसमा मावि, उच्च मावि तथा इन्जिनिरिङ कलेजका विद्यार्थीहरूले तयार पारेका रोबोटबीच प्रतिस्पर्धा हुने बताइएको छ ।
थ्रीडी प्रिन्टर
नेपाली युवाहरू आफैंले निर्माण गरेको थ्रीडी प्रिन्टरले आवश्यकताअनुसार विभिन्न वस्तुहरूको प्रिन्टर थ्रीडी रूपमा निकाल्न सक्छ । विकल्प ढकाल, सुजन कोइराला, रिकेश ब्यञ्जनकार, समीक्षा गौतम तथा सुशान्त चौधरीको समूहले धेरैजसो नेपाली सामग्री नै प्रयोग गरी उक्त थ्रीडी प्रिन्टर निर्माण गरेका हुन् । उनीहरूले जिओन इलेक्ट्रोनिक्स नामक कम्पनी स्थापना गरी जिओन वुडन भीटु, जिओन मिनी प्रो आदि थ्रीडी प्रिन्टर स्याम्पलका रूपमा प्रदर्शनमा राखेका छन् जसमध्ये ठूलो प्रिन्टरको मूल्य ६० हजार तथा मिनी प्रोको मूल्य ४७ हजार रुपैयाँ छ । उनीहरूले बैंक वा ग्राहकहरूलाई सेवा उपलब्ध गराउने अन्य कार्यालयका लागि आवश्यक टोकन सिस्टम डिस्प्ले पनि प्रदर्शनका लागि राखेका छन् । यसको मूल्य १५ देखि २० हजार रुपैयाँसम्म पर्छ ।
बेनलिङ इलेक्ट्रिक स्कुटर
नेपाली बजारका लागि नेझोङ इन्डस्ट्रिजले चिनियाँ बेनलिङ ब्रान्डका इलेक्ट्रिक स्कुटर प्रदर्शनमा राखेको छ । विभिन्न तीन मोडलका यी स्कुटर वातावरणमैत्री छन् । स्टाइलिस एलईडी हेडलाइट, फ्रन्ट डिस्क ब्रेक, १ सय ६० एमएम ग्राउन्ड क्लियरेन्स तथा यूएसबी चार्जिङ पोर्ट भएको यो स्कुटरको टप स्पिड ७० किलोमिटर प्रतिघण्टा छ । बेनलिङ स्कुटरको मूल्य १ लाख २० हजार रुपैयाँ पर्छ ।
ट्राफिक प्रहरीका प्रविधि
काठमाडौं उपत्यकामा सवारी साधन व्यवस्थापन गरिरहेको महानगरीय ट्राफिक प्रहरीले आफूले प्रयोग गरिरहेको प्रविधिका सम्बन्धमा जानकारी प्रदान गरिरहेको छ । ट्राफिक प्रहरीले राति टाढैबाट हरियो वा रातो रंगमार्फत आवश्यक जानकारी प्रदान गर्न प्रयोग गरिरहेको म्याजिक लाइट, स्पिड नाप्न प्रयोग गरिरहेको राडार गन, मादक पदार्थ सेवन (मापसे) गरे–नगरेको पत्ता लगाउने ब्रेथलाइजर, अनधिकृत पार्किङमा प्रयोग गरिने ह्विल लकका साथै तस्बिर तथा भिडियो खिच्न प्रयोग गरिने गोप्रो क्यामेरा आदिका बारेमा जानकारी प्रदान गरिरहेको छ ।
मेडिकल ड्रोन
इनोभेटिभ घर नेपालले विभिन्न स्थानमा प्रयोग गर्न सकिने मेडिकल ड्रोन प्रदर्शनमा ल्याएको छ । बाढीपहिरो वा अन्य कारणले जोखिममा परेका पीडितहरूका लागि औषधि ओसारपसार गर्न यस्ता ड्रोन प्रयोग गर्न सकिन्छ । अटो पाइलट मोडमा यस्ता ड्रोनलाई ५ देखि ८ किलोमिटर टाढा सम्म उडाउन सकिन्छ । यस प्रकारको ड्रोनले अन्तर्राष्ट्रिय स्तरको ड्रोन रेसिङमा समेत भाग लिइसकेको बताइएको छ ।
कारखानाको शिक्षा
विद्यार्थीहरूका लागि फरक खालको शैक्षिक ज्ञानमूलक कार्यक्रम सञ्चालन गरिरहेको ‘कारखाना’ ले सैद्धान्तिक ज्ञानलाई व्यवहारिक रूपमा प्रयोगमा ल्याउन सिकाउँछ । ८ देखि १४ वर्ष सम्मका विद्यार्थीहरूलाई लक्षित गरी देशका विभिन्न विद्यालयहरूमा फरक खालको प्रयोगात्मक शिक्षा प्रदान गरिरहेको कारखानाले परीक्षा केन्द्रीत भन्दा पनि प्रविधि केन्द्रीत शिक्षा प्रदान गर्ने यसका सहसंस्थापक पवित्र गौतमले बताए ।
भोटिङ मेसिन तथा अन्य प्रविधि
रामलक्ष्मण इनोभेसनले आफूले आविष्कार गरेको भोटिङ मेसिन प्रदर्शनमा राखेको छ । निर्वाचनमा प्रयोग गर्न सकिने उक्त भोटिङ मेसिनमार्फत विजयी उम्मेदवारको घोषणा गर्न सकिन्छ । त्यसैगरी प्रदर्शनीमा कम्युनिटी साइरन, एम्बुलेन्स ट्रयाकिङ, पब्लिक बस ट्रयाकिङ, ट्याक्सी ट्रयाकिङ, स्कुल बस ट्रयाकिङ आदि गर्न सकिने प्रविधिसमेत राखिएको छ । नेपाली युवा अनुसन्धानकर्ता राम तथा लक्ष्मण रिमालले त्यसबाहेक अन्य प्रविधि समेत आविष्कार गरेका छन् । इन्फोटेकमा ती सबैका बारेमा जानकारी लिन सकिन्छ ।
प्रोलिंकको आईपी क्यामेरा
एसएचटीसी इन्टरनेसनलले प्रोलिंकको आईपी क्यामेरा उपलब्ध गराएको छ । यी क्यामेरालाई घर अथवा कार्यालय कुनै पनि स्थानमा जडान गरेर एप प्रयोग गरी जुनसुकै स्थानमा बसेर पनि त्यहाँको अवस्था निगरानी गर्न सकिन्छ । यसका लागि एउटा एप डाउनलोड गर्नुपर्छ । क्यान इन्फोटेकको अवसरमा यस्ता क्यामेरा ७ हजार देखि २२ हजार ८ सय रुपैयाँ सम्ममा उपलब्ध गराइएको एसएचटीसीका सिनियर म्यानेजर डीबी श्रेष्ठले बताए ।
क्लाउड सर्भिसका लागि
जेनेज सफ्टवेयर सोलुसन
डाटाहरू सर्भरमा सुरक्षित नहुने भएकाले क्लाउडमा राख्ने चलन बढ्दै गएको छ । नेपालमा पनि यो ट्रेन्डको विकास हुँदैछ । यही कुरालाई मनन गरी क्लाउड सर्भिसका लागि विश्वमै लोकप्रिय अमेजन वेब सर्भिसको नेपालका लागि पहिलो र एक मात्र क्लाउड कन्सल्टिङ पार्टनरका रूपमा जेनेज सफ्टवेयर सोलुसनले काम गरिरहेको छ । जेनेजले इन्फोटेकको क्लाउड सर्भिस उपलब्ध गराउनुका साथै यसका बारेमा आवश्यक जानकारी प्रदान गर्ने कामसमेत गरिरहेको छ ।
रोबोट कला
काठमाडौंको फर्पिङस्थित शिखरापुर सामुदायिक विद्यालय एवं अरुणोदय उच्च माविका ६ जना विद्यार्थीले रुक्मिणी फाउन्डेसनको सहयोगमा निर्माण गरेको रोबोटको कला पनि यो इन्फोटेकमा हेर्न पाइन्छ । उक्त रोबोटले बल उठाएर राख्छ भने अन्तिममा ह्यांगिङ हुन्छ । रुकुबोट नामक उक्त रोबोटले २०१७ मा अमेरिकाको वासिंगटनमा सम्पन्न प्रतियोगितामा समेत १ सय ५८ देशका १ सय ६३ टिम मध्ये ३८ औं स्थान हासिल गरेको टिम मेन्टर सतिश अर्यालले बताए ।