साप्ताहिक संवाददाता
काठमाडौंमा केही यस्ता रेस्टुराँ छन्, जसमा पाइने स्वाद अन्य रेस्टुराँमा सहजै फेला पर्दैनन् । त्यसो त काठमाडौंमा बग्रेल्ती रेस्टुराँ छन् । पाइलैपिच्छे भेटिने रेस्टुराँको मेनुमा भने कुनै भिन्नता हुँदैन ।
उपभोक्ताहरूलाई नयाँ स्वाद चखाउन नसक्दा ठूलो संख्यामा खुलेका रेस्टुराँहरूले ग्राहकको ध्यान खासै तान्न सकेका छैनन् । हामीले काठमाडौंमा खुलेका त्यस्ता थोरै केही रेस्टुराँका बारेमा जानकारी समेटेका छौं, जुन स्वाद र पहिचानका कारण बेग्लै छाप छोड्न सफल छन् ।
द साइगुन फू, लाजिम्पाट
लाजिम्पाटस्थित द साइगुन फू भियतनामी रेस्टुराँ हो । भियतनामी सेफ महिलासँग विवाह गरेका नबिन सारु मगर यसका सञ्चालक हुन् । आठ वर्षअघि सञ्चालनमा आएको यो रेस्टुराँले झम्सिखेल, ठमेल, बौद्ध तथा पोखरामा शाखा विस्तार गरिसकेको छ । यो रेस्टुराँमा सबैभन्दा बढी अर्डर हुने परिकार डक स्ट्यु, समर रोल्स, सि फुड, पोर्क र नुडल, भियतनामी कफी आदि हुन् ।
ताजा रेस्टुराँ, पुल्चोक
पुल्चोकस्थित ताजा रेस्टुराँ काठमाडौंमा खुलेको एक मात्र सिरियाली रेस्टुराँ हो । साउदी अरबमा जन्मिएर त्यतै हुर्किएका बासेल श्रेक्युले यो रेस्टुराँ सञ्चालनमा ल्याएका हुन् । उनका बुवाआमा भने सिरियाली हुन् । कामका सिलसिलामा दुबईमा थिए, बासेल । सन् २०१० मा त्यही उनको भेट भयो नेपालकी संगीता लामासँग । उनीहरूको प्रेम झाँगिँदै विवाहसम्म पुग्यो । सन् २०१४ मा नेपाल फर्किएर बासेल र संगीताले सुरु गरे, ताजा रेस्टुराँ । विगत चार वर्षदेखि ताजाले मिडल इस्टमा पाइने विभिन्न परिकार पस्किरहेको छ । यो भेजेटेरियन फ्रेन्ड्ली रेस्टुराँ हो । यो रेस्टुराँको पृष्ठभूमिमा अरेबिक संगीत गुन्जिरहन्छ, जसले गर्दा बेग्लै आनन्द महसुस हुन्छ । यसबीच ताजाको शाखा लबिम मलमा समेत खुलिसकेको छ भने चाँडै नै ठमेलमा पनि शाखा बिस्तार गर्ने तयारी भैरहेको बासेलले बताए ।
ठमेल डोनर कबाब, ठमेल
ठमेल डोनर कबाब अरेबिक रेस्टुराँ हो । रामविक्रम शाहले दुबईमा ११ वर्ष होटलमा काम गरे । त्यही अनुभवका आधारमा ठमेलमा उनले दुई वर्षअघि ठमेल डोनर कबाब खोले । यो फेमिली रेस्टुराँ हो । यहाँ अरेबिक परिकारहरू अर्डर गर्न सकिन्छ । खासगरी चिकेन डोनर कबाब तथा चिकेन सहरमा यहाँका चर्चित परिकार हुन् । हलाल परिकार पाइने भएकाले अरबीहरू खोजी–खोजी यो रेस्टुराँ पुग्छन् ।
ओआरटुके, ठमेल
ठमेलस्थित ओआरटुकेमा इजरायली परिकारहरू पाइन्छन् । ५ सय ६८ देखि १ हजार १ सय ३६ रुपैयाँसम्मका परिकार यो रेस्टुराँको मेनुमा उपलब्ध छन् । भेजिटेरियन परिकारका लागि चर्चित ओआरटुकेको शाखा पोखरामा समेत विस्तार भैसकेको छ । ओआरटुकेमा ब्रेकफास्ट, लन्च तथा डिनर गर्न सकिन्छ ।
ब्लुबेरी किचेन एण्ड कफी सप, पकनाजोल
गणेश कोजु तथा उमेश भण्डारीले यो रेस्टुराँ संचालनमा ल्याएको ३ वर्ष भयो । यहाँ धेरैजसो इटालियन परिकार पाइन्छ । विदेशीहरूलाई लक्षित गरेर खोलिएको ब्लुबेरीले १६ जनालाई रोजगारी दिएको छ । यहाँ पाइने परिकारहरू अर्गानिक तथा फ्रेस हुने बताउँछन्–सञ्चालक गणेश कोजू ।