साप्ताहिक संवाददाता
पुल्चोक इन्जिनियरिङ क्याम्पसमा फेस्टिबल हुने भएको छ । माघ २४ गते प्रारम्भ हुने नेशनल टेक्नोलोजिकल फेस्टिबलको १६ औं संस्करण तीन दिनसम्म चल्नेछ । ‘ग्रामीण विकासका लागि आईसिटी’ भन्ने थिममा हुन लागेको यो फेस्टिबलमा विभिन्न विश्वविद्यालय तथा कलेजका विद्यार्थीहरूको सहभागिता रहने आयोजक संस्था लोकसकी मिडिया संयोजक स्पन्दन प्याकुरेलले जानकारी दिइन् ।
उनका अनुसार फेस्टिबलमा पुल्चोक इन्जिनियरिङ क्याम्पसमा अध्ययनरत कम्प्युटर, इलेक्ट्रोनिक्स तथा इलेक्ट्रिकल इन्जिनियरिङका विद्यार्थीका ७० जति प्रोजेक्ट प्रदर्शनमा राखिनेछन् ।
कार्यक्रममा हार्डवेयर, सफ्टवेयर, इलेक्ट्रिक्स प्रोजेक्ट कम्पिटिसन, रोबोलोकस, क्विज, टेक डिवेट्स, कोड क्याम्प, कोड ज्याम, गेमिङ क्यम्पिटीसन तथा एआई कम्पिटीसनजस्ता कार्यक्रम हुने आयोजकहरूले बताएका छन् ।
फेस्टिबलमा प्लस टु तथा स्नातकका विद्यार्थीका साथै बिएस्सीएसआईटी एवं इन्जिनियरिङका विद्यार्थीहरूले समेत भाग लिन पाउनेछन् । ‘सबैलाई सबै इभेन्टमा लिन खुल्ला छ,’ स्पन्दनले भनिन् । लोकस पुल्चोक इन्जिनियरिङ क्याम्पसमा चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरूको गैरनाफामूलक संस्था हो ।