पोखरामा सम्पन्न हुन गईरहेको १३ औँ सफल पोखरा अन्तराष्ट्रिय म्याराथन प्रतियोगिताको सम्पूर्ण पुरस्कार राशी हङकङबासी नेपालीहरुले प्रदान गर्ने भएका छन् । हङकङलाई कर्मथलो बनाएका पोखरेलीहरुको संयोजकत्वमा आयोजित भेलामा पोखरा लगायत नेपालको विभिन्न ठाउँमा बसोबास गर्ने हङकङेलीहरुले स्वतस्र्फुेतरुपमा सहयोग रकम प्रदान गरेका थिए ।
खेलाडी तथा वी विल राईज फाउण्डेशनका संस्थापक तुलसीकुमार गुरुङ्, ब्यवसायी तथा समाजसेवी त्रिलोक गुरुङ् र हङकङ ब्यापार संघका अध्यक्ष प्रकाश पुनले एकएक लाख सहयोग रकम घोषणा गरेसागै उपस्थित सम्पूर्ण हङकङेलीहरुले आफुले सकेको सहयोग रकम प्रदान गरेका थिए । भेलामा ५ लाख भन्दा बढि रकम संकलन भएको संयोजक रक्स गुरुङ बताउँछन् । पुरस्कार पछि बाँकी रहेको रकम अक्षककोष बनाई खेलाडीहरुको हितका लागि उपयोग गरिनेछ उनले भने ।
‘दौड स्वास्थ्यका लागि, दौडौ पोखराको लागि’ भन्ने नाराको साथ आयोजना गरिएको म्याराथन प्रतियोगिता पोखराकै शान हो, हामी विदेशमा बस्छौ तर हाम्रो मन नेपालमै छ, आफ्नै देशमा अन्तराष्ट्रिय स्तरको स्वास्थ्यवद्र्धक प्रतियोगिता आयोजना हुनु नै गौरवको बिषय हो, त्रिलोक गुरुङ बताउछन् ।
पैसा र अवसरको अभावमा कुनाकन्दरामा रहेका प्रतिभावान खेलाडीहरुलाई अन्तराष्ट्रिय मञ्चमा उभ्याउँने यो प्रयासमा हामी पनि सहकार्य गर्न चाहन्छौ, त्यसकै प्रतिफल हो आजको सहयोग रकम पूर्व खेलाडीसमेत रहेका तुलसीकुमार गुरुङले भने ।
२०७२ सालबाट निरन्तर अन्तराष्ट्रिय स्तरको म्याराथन प्रतियोगिताको आयोजना गरिहेको सफल पोखरा म्याराथनमा ४९.१९५ किलोमिटर, १० किलोमिटर महिला / पुरुष, ५ किलोमिटर छात्र / छात्रा, ह्विल चियर महिला / पुरुष, दृष्टिविहिन महिला / पुरुषहरु दौडनेछन् । प्रतियोगितामा प्रथम हुने खेलाडीहरुका लागि क्रमश १ लाख, १५ हजार, १० हजार, ५ हजार प्रथम पुरस्कार राशी राखिएको छ भने दोश्रो, तृतिय र सान्त्वना हुनेहरुका लागि समेत पुरस्कार राशीको ब्यवस्था गरिएको छ । प्रतियोगिता फागुन ७, २०७५ का दिन पोखरा रंगशालामा विहान ६ बजेबाट शुरु हुनेछ ।