नेपाली चलचित्रको अबस्था अब पहिला जस्तो रहेन । चलचित्रमा काम गरेर अब भोकै सुत्नुपर्दैन । चनाको भरमा दिन कटाउनु पर्दैन । चलचित्रमा काम गरेर लोभलाग्दो लाईफस्टाईल चलाउने कलाकारहरु धमाधम बढेका छन् । चलचित्रमा काम गरेरै घर, गाडी जोड्ने कलाकारहरु टन्नै छन् । चलचित्र निर्माणको क्रम बढेसंगै नेपाली कलाकारहरु ब्यस्त भएका छन् । राम्रै पारिश्रमिक लिएर काम गर्न थालेका छन् ।
अहिलेको स्थितीमा नेपाली कलाकारहरुमा सबैभन्दा धेरै पारिश्रमिक बुझ्ने कलाकारको सुचिमा पर्छन् प्रदिप खड्का र अनमोल के.सी । उनीहरु दुबैले आफ्नो पारिश्रमिक आधिकारिक रुपमा नखुलाएपनि कम्तीमा ४० लाख रुपैयाँ लिने गरेको उनीहरु निकट व्यक्तीहरु बताउने गरेका छन् ।
अनमोल के.सी : जेरी, ड्रिम्स, गाजलु, होस्टेल, कृ लगायतका हिट् चलचित्रका अभिनेता अनमोलले एउटा चलचित्रमा काम गरेबापत ३५ देखी ४० लाख रुपैयाँ लिने गरेका छन् । हालै मात्र निर्देशक मिलन चाम्सले अनमोललाई ४० लाख रुपैयाँ दिने शर्त अनुसार चलचित्र व्याचलर वन्टिका लागी १० लाख रुपैयाँ एडभान्स रकम दिएका थिए । तर विभिन्न कारणले अनमोल र मिलन चाम्सले यो चलचित्रबाट हात झिकेपछि एड्भान्स रकम स्वरुप लिएको १० लाख रुपैयाँ अनमोलले फिर्ता गरिदिएका छन् । अनमोलले ‘ए मेरो हजुर ३’ का लागी झरना थापासँग ४० लाख रुपैयाँ रकम बुझेका छन् । उनी अभिनित २ वटा चलचित्र क्याप्टेन र ‘ए मेरो हजुर ३’ प्रदर्शननको तयारीमा छन् । सानो रकम लिएर होस्टेलबाट चलचित्र यात्रा थालेका अभिनेता अनमोल अहिलेका सर्वाधिक महंगा अभिनेता हुन् ।
प्रदिप खड्का : अभिनयका हिसावले प्रदिप खड्काको लोकप्रियता बढेको वढै छ । प्रेम गीत, प्रेम गीत–२, लिलिबिली, रोज लगायतका चलचित्रमा देखिएका प्रदिपको फ्यान फलोईङ निकै राम्रो छ । विशेषगरी युवतीको दिवाना बनेका प्रदिपले एउटा चलचित्रवाट के कति रकम लिन्छन् भन्ने खुलाउन नमानेनपनि उनको संकेत छ, नेपालमा सबैभन्दा धेरै रकम लिने कलाकार त मै हुँ † उनले प्रेम गीत–२ बाट १५ लाख तथा ५२ लाख रकम पर्ने कार पाएका थिए । प्रदिपको नयाँ चलचित्र लभ स्टेसन प्रदर्शनको तयारीमा छ भने केहि चलचित्रमा काम गर्ने सम्झौता गरिसकेका छन् । स्रोतका अनुसार पश्चिम नेपालका एक निर्माताले प्रदिपलाई काम गराउनका लागी ४५ लाख रुपैयाँ तथा १० प्रतिशत शेयरमा चलचित्रमा काम गराउने सम्झौता गरेका छन्, यद्यपी प्रदिपले यो रहस्य खुलाउन मानेनन् ।
पल शाह : म्युजिक भिडियोबाट चलचित्र क्षेत्रमा राज गरेका अभिनेता हुन्, पल शाह । उनले एउटा चलचित्रमा काम गरेवापत २२ लाख रकम लिने गरेको उनी निकट एक निर्देशक बताउँछन् । नाम नखुलाउने शर्तमा उनले भने, ‘अहिले उहाँको पारिश्रमिक नखुलाऔं, तर उहाँले २२ देखी २५ लाख रकम लिने गर्नुभएको छ ।’ नाँई नभन्नु ल–४ बाट चलचित्र यात्रा थालेका पलले छोटो समयमै जोनी जेन्टल म्यान, म यस्तो गीत गाउँछु लगायतका चलचित्रमा काम गरिसकेका छन् । अहिले उनी मिलन चाम्सको चलचित्र बिर बिक्रम–२ मा व्यस्त छन् । यो चलचित्रपछि उनले सुरज सुव्वा नाल्बोको चलचित्र ह्दयभरीमा व्यस्त हुनेछन् ।
भिडियो
विपीन कार्की : विपीन कार्की निकै व्यस्त अभिनेता हुन् । प्रसाद, जात्रा, ताण्डव, नाका, छड्के, पशुपती प्रसाद लगायतका चलचित्रमा फरक–फरक लुक्समा देखिएका अभिनेता कार्कीको नयाँ चलचित्र जात्रैजात्रा र गोपी प्रदर्शनको तयारीमा छन् । यि अभिनेता अहिलेका महंगा अभिनेताको सुचिमा पर्छन । प्रसादवाट १० लाख रुपैया तथा १० प्रतिशत शेयरमा अभिनय गरेका उनले १५ देखी २० लाख रकम वुझ्ने गरेका छन् । उनि भन्छन्, ‘पारिश्रमिक तथा शेयरका हिसावले पनि काम गर्दै आएको छु, पारिश्रमिकमा गढवढ हुन्छ तर पछिल्लो समय कम्तीमा २० लाख पुगअपुग हुने गरेको छ ।’
नम्रता श्रेष्ठ : ‘सानो संसार’ बाट डेब्यु गर्दै ‘मेरो एउटा साथी छ’ बाट लाइमलाइटमा आएकी अभिनेत्री हुन् नम्रता श्रेष्ठ । थोरै चलचित्रमा दमदार अभिनय गरेकाले उनको फ्यान पलोईङ लोभलाग्दो छ । अधिधकांश चलचित्रमा आफ्नो भुमिकालाई स्मरणीय बनाउन सफल नम्रताले पछिल्लो समय प्रदर्शन भएको चलचित्र प्रसादवाट महंगो पारिश्रमिक लिएर काम गरेकी थिईन् । निर्माण पक्षले उनलाई १५ लाख रकम दिएर काम गराएको थियो भने उनी आफैले निर्माण गरेको नयाँ चलचित्र जाईराको प्रदर्शनको तयारीमा छिन् । यसअघि उनले लगभग ५ लाख रकम वुझ्दै आएकी थिईन् ।
साम्राज्ञी राज्यलक्ष्मी शाह : भुवन केसी निर्देशित चलचित्र ‘ड्रिम्स’ बाट दमदार अभिनयसँगै चलचित्र नगरीमा भित्रिएकी साम्राज्ञी महंगी अभिनेत्रीको अग्र स्थानमा छिन । उक्त चलचित्रपछि उनले अभिनय गरेका अधिकासं चलचित्रले उनलाई राम्रो रिजल्ट दिएको छ । उनले आफ्नो पारिश्रमिक वढाउंदै लगेकी छिन । चलचित्र कायरामा १२ लाख पारिश्रमिक लिएकी नम्रताको अभिनय क्षमता देखेर उक्त चलचित्रका निर्माता तथा अभिनेता आर्यन सिग्देलले १५ लाख दिएपनि साम्राज्ञीको पारिश्रमिकमा अपुग हुने बताएका थिए । पछिल्लो समयकी डिमाण्डेड अभिनेत्री साम्राज्ञीले अपकमिङ केहि चलचित्रमा काम गर्ने सम्झौता अनुसार १५ लाख रकम वुझेको बताईन्छ ।
पुजा शर्मा : अभिनेत्री पुजा शर्मा निर्देशक सुर्दशन थापाको क्याम्पबाटै चलचित्रमा काम गरिरहेको धेरैले आरोप लगाउँछन् । तर पुजा भने यो विषलाई स्विकार गर्दिनन् । प्रेम गित, म यस्तो गित गाउंछु, रामकहानी, मधुमास, चंखे शंखे पंखे लगायतका चलचित्रमा काम गरेकी यि अभिनेत्रीले बताएअनुसार हालै निर्माण हुन गैरहेको एक चलचित्रबाट १५ लाख पारिश्रमिक वुझेकी छिन् ।
प्रियंका कार्की : नेपाली चलचित्र क्षेत्रकी सर्बाधिक व्यस्त अभिनेत्री हुन् प्रियंका । केहि समय अघिको अन्तरवार्तामा उनले भनेकी थिईन्, ‘खाली हात बस्नुभन्दा सानै भुमिका किन नहोस्, काम गरिहाल्छु ।’ एक चलचित्रवाट ५ देखी ७ लाखसम्म लिने गरेको बताउने उनले साना भुमिका पनि ठिकठाकैे पारिश्रमिक वुझ्ने गरेको बताउँछिन । उनले एउटै चलचित्रबाट ठूलो पारिश्रमिक माग नगरे पनि धेरै चलचित्रमा काम गरेर धेरै कमाउनेको सूचीमा भने पर्छिन ।