साप्ताहिक संवाददाता
आँचल शर्मा छोटो समयमै चलचित्रमा स्थापित हुने अभिनेत्री हुन् । म्युजिक भिडियो तथा चलचित्रको अभिनयलाई समानान्तर रूपमा अघि बढाइरहे पनि आँचल यो अवधिमा विभिन्न अभिव्यक्तिका कारण विवादमा समेत आइरहेकी छिन् ।
युट्युबको हेडलाइनका लागि अन्तर्वार्ता दिन्न, धेरै कलाकार भएको चलचित्रमा काम गर्दिनँ जस्ता अभिव्यक्तिका कारण विवादमा आएकी आँचललाई हालसालै एउटा सार्वजनिक समारोहमा सञ्चारकर्मीहरूले र्याखर्याख्ती पारे । समारोहमा आँचलले एकसाथ थुप्रै आरोप सुन्नुपर्यो ।
सञ्चारकर्मीहरूलाई अन्तर्वार्ताका लागि समय नदिएको, आँचलको मुड बुझेर मात्र उनलाई सम्पर्क गर्नुपरेको, युट्युब अन्तर्वार्ताका लागि तयार नभएको जस्ता आरोपसँगै सञ्चारकर्मीले आँचलसमक्ष प्रश्न तेस्र्याए– ‘पत्रकारले तपाईंको मुडअनुसार चल्नुपर्ने हो कि पत्रकारले नै तपाईंलाई मिडियालाई सम्मान गर्न सिकाउनुपर्ने हो ?’
चलचित्र दाल भात तरकारीको गीत सार्वजनिक गर्ने उक्त समारोहमा आँचल र सञ्चारकर्मीहरूबीचको चर्का–चर्कीले माहौल तातेपछि अभिनेता हरिवंश आचार्यले सहजकर्ताको भूमिका निर्वाह गर्दै आँचललाई माफी माग्न सुझाए । आचार्यको सुझाव अनुसार आँचलले आगामी दिनमा सञ्चारकर्मीको सम्मान गर्दै विगतमा गरेका गल्तिको माफीसमेत मागेकी थिइन् ।