(सालको पात टपरी हुनी नहुनी सल्लैको ...कुरी बजार साँझ नपर्दै गीत–संगीतमा झुम्न थाल्छ । अहिलेको चिसो थेग्न कुरी बजारको आधा किलोमिटर लामो बाटोछेउछाउका सबै होटलवालाले क्याम्प फायर चलाइरहेका छन् । माइनस १० डिग्रीको चिसो थेग्न युवायुवती साँझ नपर्दै गीत र मदिराले तात्तिन थाल्छन्, उनीहरू आगोको छेउमा आधारातसम्मै नाचगानमा मस्त हुन्छन् । चारैतिर डाँडाले घेरिएको छ— कुरी बजार । सुन्दर काष्ठकलाले भरिपूर्ण एकै खालका घरहरूको बार्दलीबाट हिउँले सेताम्मे पाखापखेरा हेर्न पाइने लोभलाग्दो सुन्दरता छ कुरी बजारसँग । प्रकृतिले उपहार दिएको स्वर्गको एक टुक्राझैं लाग्ने कुरी बजार आजभोलि हिउँ खेल्न आउने पर्यटक धान्न नसक्ने अवस्थामा पुगेको छ ।
दोलखाको कालिन्चोक नजिकैको कुरी बजार अहिले आन्तरिक पर्यटकको पहिलो रोजाइ बन्दै गएको छ । हालै केबुलकार सञ्चालनमा आएपछि कुरी बजारलाई पर्यटक थेग्न हम्मे–हम्मे परेको छ । हिजोआज बिदाका दिन र त्यसबाहेकका दिन पनि हिउँ खेल्न एवं धार्मिक आस्था बोकेर कालिन्चोक पुग्नेहरूको संख्या बढ्दो छ, स्थानीय होटल व्यवसायी हरि ओली भन्छन्— शुक्रबार र शनिबार त्यहाँ पुग्ने आन्तरिक पर्यटकहरूलाई थेग्न अहिलेका पूर्वाधार अपुग भएका छन् ।
कालिन्चोकमा पर्यटकहरू ओइरिनुको मुख्य उद्देश्य धार्मिक आस्था भए पनि हिउँ खेल्ने र प्रकृतिको मनोरम दृश्यसँग रमाउनेहरू पनि उत्तिकै हुन्छन् । रमणीय वातावरणका साथै कालिन्चोक माताले मागेको कुरा पूरा गरिदिने आस्थाका कारण पर्यटकहरूको घुइँचो बढेको हो । कालिन्चोक देवीसँग कुनै एकमात्र कुरा मागे पूरा हुने जनविश्वास रहँदै आएको छ ।
अहिले कालिन्चोक क्षेत्रमा ४० वटा होटल सञ्चालनमा छन् । त्यसमा २० वटाजति सुविधासम्पन्न भए पनि अरूको अवस्था सुधारोन्मुख छ । स्थानीय होटल–व्यवसायी अशोक पाख्रिनका अनुसार— पहिलेको तुलनामा पर्यटक बढेका छन् । व्यापार पनि राम्रो छ । पहिले नेपाली पर्यटक बढी आउने भए पनि अहिले कालिन्चोक हुँदै विगु गुम्बा घुम्न जाने विदेशी पर्यटकहरूसमेत कालिन्चोक क्षेत्रमा देखिन
थालेका छन् ।
कालिन्चोक पुग्न काठमाडौंमा रहेका विभिन्न ट्राभल एजेन्सीले प्याकेजसमेत तयार पारेका छन् । त्यस्तो प्याकेजका लागि एक जनाले ६ हजार रुपैयाँसम्म तिर्ने गरेका छन् । १ रात २ दिनको उक्त प्याकेजमा एक रातको बास, ब्रेकफाष्ट, लन्च र डिनरको व्यवस्था हुन्छ भने काठमाडौंदेखि कुरी र कुरीदेखि काठमाडौंसम्मको यातायात खर्च बेहोरिन्छ । यस्तो प्याकेजमा कालिन्चोक र दोलखा भीमसेनको दर्शन गराउने व्यवस्था हुन्छ । प्याकेजबाहिर छुट्टै यात्रा गर्नेहरू सपरिवार वा समूहगत रूपमा गाडी भाडामा लिएर पनि कालिन्चोक पुग्न सक्छन् ।
कसरी पुगिन्छ कुरी ?
काठमाडौंबाट खाडीचौर, मुडे, देउराली हुँदै कुरी पुग्न सकिन्छ । काठमाडौंबाट कुरी लगभग १ सय ५० किलोमिटरको दूरीमा छ । देउरालीबाट उकालो लागेपछि हिउँ देखिन थाल्छ । बाटोभरि गुराँस र लालिगुराँसका बोटमाथि परेको हिउँले पूरै पखेरा सेताम्मे देखिन्छ । पहाडी बाटो भएकाले साना गाडी तथा जिपबाट कुरीसम्मको यात्रा केही सहज मानिन्छ । बस तथा मिनीबसले समेत कुरीको यात्रा गराउने भए पनि यात्रा अलि कष्टकर र झन्झटिलो हुन्छ ।
के–के बोक्ने ?
धेरै चिसो ठाउँ भएकाले जाडो याममा कालिन्चोकको यात्रा गर्दा पर्याप्त न्याना कपडा बोक्नुपर्छ । टोपी, पन्जा मखलर आदी छुटाउनै नहुने चिज हुन् । चिसोबाट जोगिन तातोपानीका लागि थर्मस, लेक लाग्न नदिन अक्सिजन तथा आवश्यक औषधी आदि साथमा राख्नु उपयुक्त हुन्छ ।
केबुलकारको विकास
पहाडको खोंचमा रहेको कुरी बजारबाट २ घण्टा उकालो चढेपछि कालिन्चोक मन्दिर पुग्न सकिन्छ ।
कुरीबाट केबुलकार चढेर पनि मन्दिर पुग्न सकिन्छ । कालिन्चोक दर्शन लिमिटेडले २ महिनाअघिदेखि व्यवसायिक रूपमा संचालनमा ल्याएको केबुलकारले हिजोआज दैनिक २ हजारदेखि २ हजार ५ सय यात्रीलाई मन्दिरसम्म पुर्याउने गरेको छ । केबुलकारका कार्यकारी प्रमुख अशोक शिवाकोटीका अनुसार अझै पनि केबुलकारलाई व्यवसायिक रुपमा सुरु गर्न आवश्यक भौतिक पूर्वाधारहरूको निर्माण सम्पन्न भैसकेको छैन ।
शिवाकोटी भन्छन्— आउँदो फागुनदेखि केबुलकारलाई औपचारिक रूपमा सबैका लागि खुला गर्ने तयारी भैरहे पनि दर्शकहरूको चापलाई ध्यानमा राखेर अहिले आंशिक रूपमा केबुलकार सञ्चालनमा ल्याइएको हो । प्रतिव्यक्ति ५ सय रुपैयाँमा आउन–जान सकिने उक्त केबुलकार रोपवे एन्ड केबुलकार कम्पनी, स्वीजरल्यान्डको प्राविधिक सहयोगमा निर्माण गरिएको हो । उक्त केबुलकारको क्षमता प्रतिट्रिप १६ जनासम्म छ ।
हिउँमा रमाउँदै आन्तरिक पर्यटक
बागलुङका पहाडी गाउँ अहिले हिउँका कारण सेताम्मे छन् । रमाइलो वातावरण भएकाले बिदाको दिन र अन्य दिनमा बिदा लिएर समेत युवायुवतीहरू रमाउन घोडाबाँधे, ताराखोला, ढोरपाटन तथा गाजा दह पुगिरहेका छन् ।प्रदेश सरकारले अगाडि सारेको होमस्टे स्थापना र प्रवद्र्धन कार्यक्रमका लागि हिउँ पर्ने क्षेत्र बढी रोजाइमा पर्न थालेको हो । ‘हरेक गन्तव्यको नजिकै होमस्टे, बजार तथा होटलको सुविधा उपलब्ध गराउने गरी लगानीका बाटो खोज्दै छौं,’ पर्यटन विकास समिति, बागलुङका अध्यक्ष राजु खड्काले भने, ‘सरकार, निजी क्षेत्र तथा समुदायले के–कति लगानी गर्दा १० वर्षमा आर्थिक समृद्धि हासिल गर्न सकिन्छ भन्ने लक्ष्य राखिएको छ ।’
पर्यटक आर्कषणका लागि होमस्टे र सुविधासम्पन्न होटल तथा रेस्टुराँमा लगानी बढाउन स्थानीय व्यवसायीलाई आह्वान गरिएको बागलुङ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष वसन्तकुमार श्रेष्ठले बताए । ‘विदेश पलायन हुन लागेका युवालाई रोजगारी दिने र कृषि उत्पादनमा आकर्षित गर्ने कार्यक्रम तयार गर्न जरुरी भयो,’ उनले भने, ‘युवाले घरमै बसेर कमाउने अवस्था बनाएपछि गाउँ रमाइलो हुनेछ ।’ भकुन्डे, भैरवस्थान, बिहुँको शिवधुरी, धम्जा, पञ्चकोट आदि क्षेत्र समेटिएका पूर्वी उपत्यका र गलकोट, घुम्टे, तारखोला हुँदै ढोरपाटनसम्मको पश्चिम उपत्यका गरी दुइ खण्डमा पर्यटकीय गुरुयोजना बनाउने समितिको योजना छ । मध्यपहाडी लोकमार्ग र कालीगण्डकी कोरिडोरले पूर्वपश्चिम तथा उत्तर दक्षिण जोडेकाले गुरुयोजनामा राष्ट्रिय राजमार्गलाई समृद्धिको प्रस्थान बिन्दु बनाउन सकिने स्थानीय बासिन्दाको विश्वास छ ।
प्रकाश बराल