‘फूल हैन काँडा, काँडै बाटो हिँडौला’ नेपाली कथानक चलचित्र रोजको यो गीतले प्रविशा अधिकारीलाई नयाँ उचाइ दियो । दर्जनौं चलचित्रका लागि हिट गीत दिएकी प्रविशा मिडियामा आउन खासै रुचाउँदिनन् । विदेशको पहिलो सांगीतिक भ्रमणमा रहेकी प्रविशाले साप्ताहिकका हङकङ संवाददाता अनोज रोक्कासँग आफ्नो मनको कुरा सुनाइन् ।
पहिलो गीत ?
प्रियतमा ।
काम गर्न मन लागेका संगीतकार ?
एआर रहमान तथा राजु सिहं ।
युगल गीत गाउन मन लागेका गायक ?
सुगम पोखरेल, निमा रुम्बा अनि रोहितजंग क्षेत्री ।
कुन पुरानो सदाबहार गीत मेरो भएदेखि हुन्थ्यो जस्तो लाग्छ ?
नमान लाज यस्तरी, पोहोर साल खुसी फाट्यो ।
पहिलो प्रेम प्रस्ताव ?
प्लस टु पढ्दाताका ।
संगीतमा लागेर पाएको पहिलो खुसी ?
जब पहिलो गीत रेकर्ड भयो, आफ्नो रेकर्डेड आवाज आफैंले सुन्दा ।
संगीतमा लागेर पाएको दु:ख वा गुनासो ?
धेरै पहिले यौनको विषयलाई लिएर प्रकाशित एउटा झूटो समाचारले मलाई लामो समयसम्म तनाव दियो ।
के थियो त्यस्तो कुरा ?
म जीवनमै कहिल्यै कन्ट्रोभर्सीमा परेकी थिइनँ, एक जना पत्रकारले यौनहिंसाको विषयमा म रिसर्च गरिरहेको छु, के छ तपाईंको विचार भनी प्रश्न गर्नुभएको थियो, तर मैले दिएको उत्तरलाई बढाइचढाइ गरी मलाई नै दोषी बनाएर समाचारको हेडलाइनमा समेत मैले नभनेका कुरा प्रकाशित गरिएपछि त्यसले मलाई लामो समयसम्म विवादित बनायो, जुन कुरा सम्झँदा निकै दु:ख लाग्छ ।
प्रविशा संगीतमा नलागेकी भए ?
सायद कुनै संस्थासँग आबद्ध भएर सेवा गरिरहेकी हुन्थें ।
देशभित्रको पहिलो कन्सर्ट ?
आफ्नै गृह जिल्ला झापामा ।
कन्सर्टमा आफूले अत्यधिक ध्यान दिने कुरा ?
मैले सम्बोधन गर्ने शब्दहरू, आफ्नो आउटफिट तथा स्टेजको अवस्था ।
मन परेको आफ्नै तीन गीत ?
तिमी जहाँ छौ, यो पल फेरि आउला–नआउला, मायाले बाँध्यो यसरी ।