धेरै शास्त्रले ऋणलाई पनि जिन्दगीको शत्रु मानेका छन् । ऋणले मानिसलाई चैनसँग सुत्न दिँदैन, तर ऋणमा परेको मानिस अल्छी हुँदैन । ऊ चलायमान हुन्छ, कमाउन प्रशस्तै मेहनत गर्छ । जिन्दगीमा जागरुक भैरहने हो भने धान्न सकिने सानोतिनो ऋण टाउकोमा बोकिरहनुपर्छ ।
शत्रु, सुन्दैमा अप्रिय लाग्ने शब्द । कसैलाई पनि जिन्दगीमा शत्रु कमाउन मन लाग्दैन, तर शत्रु भनेका ऊर्जा दिने तत्व हुन् । शत्रु लागेपछि मान्छे जागरुक र होसियार भै काम गर्छ ।
शत्रु कमाउन धेरै मेहनत गर्नुपर्दैन । प्रगति गर्न थालेपछि शत्रु लाग्दै जान्छन् । एउटा छिमेकीले प्रगति गरेपछि अर्कोलाई डाह हुन्छ । दु:खमा साथ दिनेहरू प्रगति हुँदै गएपछि शत्रुमा परिणत हुन सक्छन् । अक्सर अरूको प्रगतिमा डाह गर्नेहरू शत्रुको व्यवहार देखाउन थाल्छन् । मानिसलाई आफूले गर्न नसकेकोमा भन्दा पनि अरूले गर्न सकेकोमा जलन हुन्छ । आफू पनि मेहनत गरेर अरूजस्तै बनौं भन्दा पनि अर्कोलाई खसालेर आफूजस्तै वा आफुभन्दा मुनि कसरी पारौं भनेर लाग्दा कोही कसैको शत्रु बनिसक्छ । शत्रु कमाउनु भनेको सफलताको प्रतीक पनि हो ।
शत्रु पनि जति बलियो भयो उति मज्जा आउँछ । कुनै भाँजो हाल्न खोज्ने हुन्छन्, कोही अल्झाउन मात्र खोज्ने, कोही बिगार्नै खोज्ने, कोही कुरा काट्दै हिंड्ने त कोही अगाडि ठिक्क पार्ने तर पछाडि धारे हात लाउने खालका हुन्छन् । कतिपय शत्रु चिनिन्छन् त धेरै शत्रु अनेक भेष धारण गरेर बसेका हुन्छन् । शत्रुहरू घरभित्रै, छिमेकमा वा अन्यत्र टाढा जहाँ पनि हुन सक्छन् । स–साना कुरामा झगडा परेर बोलचाल बन्द भएका छिमेकी, आफ्नै साथी तथा आफन्तहरू पनि शत्रु हुन सक्छन् । एकफेर भेटेर राम्रोसँग पुराना कुरा भुलौं भनेर मनन गर्नेहरूको शत्रुता टुंगिन्छ तर अहंका कारण धेरैले शत्रुता कायमै राखेका हुन्छन् । सामान्यतया अरूको केही बिगार नगरी शत्रु भइँदैन । कहिलेकाहीँ अचम्म लाग्छ, मानिसहरू किन अरूको नराम्रो सोच्छन् ?
यी त भए भौतिक रूपका शत्रुहरू, जो घोषित रूपमा र छद्मभेषमा आफ्ना वरिपरि हुन्छन् । त्योभन्दा ठूला शत्रु त मान्छेका आफ्नै आनीबानी, कमजोरी र नशा हुन्छन् । मान्छेले आफूले आफैंलाई सताइरहेको हुन्छ । कसैको चुरोट सेवन गर्ने, कसैको रक्सी सेवन गर्ने कसैको घातक लागूपदार्थ सेवन गर्ने, कसैको जुवातास खेल्ने, कसैको वेश्यावृत्ति गर्ने जस्ता अनेक बानी र नशा हुन्छन् ।
कहिलेकाहीं स्वादका लागि, रमाइलाका लागि केही खानु, केही गर्नु पाच्य हुनसक्ला, तर कुनै चिज, बानी वा कसैको वशमा पर्नु, नशा लाग्नु खतरनाक कुरा हो । जिन्दगीमा हरेक कुराको स्वाद चाख्नुपर्छ तर त्यसको नशा बस्नु हुँदैन । कुनै चिजलाई आफूले खानु ठीक छ तर कुनै चिजले आफूलाई खान थाल्यो भने मान्नुहोस् कि आफ्नै जीवन आफ्नै नियन्त्रणमा छैन । कसैलाई माया गर्नु ठीक हो तर मोह राख्नु घातक हुन सक्छ । मायाप्रेम पनि आफ्नो शत्रु भैदियो भने के मज्जा आयो र जिन्दगीमा ?
धेरै शास्त्रले ऋणलाई पनि जिन्दगीको शत्रु मानेका छन् । ऋणले मानिसलाई चैनसँग सुत्न दिँदैन, तर ऋणमा परेको मानिस अल्छी हुँदैन । ऊ चलायमान हुन्छ, कमाउन प्रशस्तै मेहनत गर्छ । जिन्दगीमा जागरुक भैरहने हो भने धान्न सकिने सानोतिनो ऋण टाउकोमा बोकिरहनुपर्छ । आफ्नो ल्याकतभन्दा ठूलो ऋण काढेर मोजमस्ती गर्न थाल्ने हो भने त्यही ऋणले आफूलाई सिध्याइदिन्छ । शत्रुलाई र ऋणलाई सानो मान्ने धृष्टता पनि गर्नु हुँदैन । शत्रुको अगाडि शिर ठाडो गरेर हिँड्नुपर्छ, बुझिस् भनेर समाजमा प्रेरणा दिने प्रशस्तै हुन्छन्, जुन कुराले थप मेहनत गरेर देखाउन ऊर्जा थप्छ । अरूलाई देखाउनकै लागि भए पनि कसैले थप कर्म गर्छ, उपार्जन गर्छ भने त्यसले हानि गर्ने कुरै भएन ।
शत्रुलाई सिध्याउँछु भनेर लाग्दा आफ्नै चिल्लीबिल्ली भएका उदाहरण हाम्रो समाजमा धेरै छन् । सत्कर्म गर्दै जानुपर्छ, धेरै शत्रु आफैं सक्किन्छन् । कुरा काट्ने र डाह गर्नेहरूको कुनै ओखती हुँदैन । पछि लागेर आक्रमण नै गर्न थाले बेग्लै कुरा अन्यथा कसैलाई शत्रु मानेर जाईलाग्नु मूर्खता हो, त्यसले आफैंलाई हानि हुन्छ । शत्रुलाई पनि प्रेमले हेर्न सके उत्प्रेरणा र ऊर्जा मिल्छ । शत्रुहरू सदैव हानिकारक हुँदैनन् । कहिलेकाहीं विषले पनि ओखतीको काम गर्छ ।
कुनै बेला एकदमै मिलेका साथी नै पछि सबैभन्दा घातक शत्रु हुन सक्छन्, जानीजानी कसैसँग शत्रुता नमोलौं, आफ्नो नशा त्यागौं । शत्रुसँग लडेर खेर फालिने ऊर्जा सत्कर्ममा लगाऊँ । एक अंकमाल र एक मुस्कानले धेरैको शत्रुता समाप्त गरिदिन्छ ।
शत्रुलाई जलाउन मन छ भने अनुहारमा सदैव मुस्कान बोकेर हिंड्नुहोस् । बाटोमा भेटियो भने मुसुक्क हाँसिदिनुहोस्, हात मिलाइदिनुहोस्, जसले गर्दा शत्रु पनि आत्मीय लागिरहोस् । एक–दुई जना शत्रु नभएको जिन्दगी पनि के जिन्दगी !
Facebook.com/abeeralthapa
Twitter@abeeralthapa