साप्ताहिक संवाददाता
संसारकै दोस्रो ठूलो मनोरञ्जन उद्योग बलिउडमा नेपाली मूलका एक युवाको ‘अफेयर्स’ अहिले चर्चाको शिखरमा छ । नयाँ पुस्ताकी चर्चित अभिनेत्री श्रद्धा कपुरसँग जोडिएपछि उनीहरूको सम्बन्धलाई लिएर चलेको गसिपले बलिउड बजार गर्माएको छ । पछिल्ला केही महिनायता सुन्दर अभिनेत्री श्रद्धासँग जोडिएर चर्चामा छाउने नेपाली मूलका युवा हुन्—बलिउडका सेलिब्रेटी फोटोग्राफर रोहन श्रेष्ठ ।
रोहन बलिउडका चर्चित सेलिब्रेटी फोटोग्राफर राकेश श्रेष्ठका छोरा हुन् । डिसेम्बर ८ मा नवभारत टाइम्सले आफ्नो अनलाइन संस्करणमा ‘ब्वाइफ्रेन्ड रोहन श्रेष्ठसँग फेरि देखिइन श्रद्धा कपुर’ शीर्षककाधे समाचार प्रकाशन गरेको छ । ‘खैरो ज्याकेट, ह्वाइट एन्ड ग्रिन स्ट्राइपड ड्रेस लगाएकी श्रद्धा त्यतिबेला निकै सुन्दर देखिएकी थिइन् भने रोहन पनि क्याजुअल आउटफिटमा स्मार्ट देखिन्थे,’ नवभारत टाइम्सले लेखेको छ, ‘अगाडि क्यामेरा देखेर पनि दुवैले लुक्ने प्रयास गरेनन्, बरु स्माइल दिए ।’ समाचारमा श्रद्धा र रोहन पहिलो पटक करण जौहरको दीपावली पार्टीमा सँगै देखिएको कुरा बताउँदै त्यही बेलादेखि उनीहरूको रिलेसनसिपको चर्चा सुरु भएको उल्लेख गरिएको छ ।
फस्र्टपोस्टले गत अक्टोबरमा श्रद्धा र रोहनको अफेयर्सको समाचारमा ‘साइना’को सुटिङमा रहँदा श्रद्धालाई डेंगु भएर अस्पताल भर्ना गरिएका बेला एउटा तस्बिर चर्चामा रहेको उल्लेख गरेको छ । ‘श्रद्धाले आफ्नो एउटा पुरानो तस्बिर हालै आफ्नो अफिसियल इन्स्ट्राग्राम एकाउन्टमा सेयर गरेकी छिन्,’ फस्र्टपोस्टले लेखेको छ, ‘चाखलाग्दो कुरा के छ भने श्रद्धाको उक्त तस्बिर उनका ब्वाइफ्रेन्ड रोहन श्रेष्ठले खिचेका हुन्, जसलाई श्रद्धाले तस्बिरको क्याप्सनमा एड गरेकी छिन् । यति मात्र होइन, सेलिब्रेटी फोटोग्राफर रोहन श्रेष्ठले पनि आफ्नो इन्स्ट्रा स्टोरीमा श्रद्धाका तस्बिरहरूको कोलाज सेयर गरेका छन् ।’
श्रद्धा र रोहनको अफेयर्सको चर्चा टाइम अफ इन्डिया, वेबदुनियाँ, अमर उजाला तथा बलिउड तडकाको अनलाइन संस्करणमा समेत छ । टाइम्स अफ इन्डियाले बलिउडका हिडन अफेयर्सहरूको सूचीको पहिलो नम्बरमा श्रद्धा र रोहनको अफेयर्सलाई राखेको छ । ‘के श्रद्धा कपुर सेलिब्रेटी फोटोग्राफर रोहन श्रेष्ठसँग डेटिङमा छिन् ?’ उपशीर्षकमा उसले श्रद्धा र रोहनको समाचार प्रकाशित गरेको छ, जसमा उक्त रिलेसनसिपको समाचारलाई रोहनले अस्वीकार गरेको र उनले विगत ९ वर्षदेखि आफूहरू राम्रो साथी भएको कुरा बताएको उल्लेख गरेको छ ।
अमर उजालाको अनलाइन संस्करणमा श्रद्धा र रोहनको अफेयर्सको विषयमा गसिप चलेको कुरा उल्लेख गरिएको छ । ‘३३ वर्षीय रोहन र ३१ वर्षीया श्रद्धा एक–अर्कालाई सानैदेखि चिन्छन् र उनीहरू जुहूमा एकसाथ हुर्किएका हुन् । दुवै बाल्यकालदेखि नै रणवीर सिंह, अर्जुन कपुर, बरुण धवन तथा रणवीर कपुरजस्ता बालबालिकाको समूहको हिस्सा थिए, जसका आमाबुवाको कनेक्सन चलचित्र उद्योगसँग थियो,’ अमर उजालाले लेखेको छ । बलिउड तडकाले पनि श्रद्धा र रोहनले सँगै स्कुल–कलेज पढेको दाबी गरेको छ ।
मिडडे डटकमले गएको नोभेम्बरमा पोस्ट गरेको एक समाचारमा श्रद्धा कपुरको एक पोस्टमा रोहनले ‘हार्ट इमोजी’ कमेन्ट गरेको कुरा उल्लेख गरेको छ । बलिउड तडाकाले उक्त हार्ट इमोजीको स्क्रिन सट नै सेयर गर्दै उनीहरूको अफेयर्सको समाचार प्रकाशन गरेको छ । तर, रोहनले आफूहरूबीच अफेयर्स रहेको कुरालाई अस्वीकार गरेका छन् भने श्रद्धाले यसलाई अफवाह मात्र भएको दाबी गरेकी छिन् । इन्डिया टुडेले एक चर्चित दैनिकसँग रोहनले बोलेका कुरा उल्लेख गर्दै लेखेको छ, ‘हामी पछिल्ला ९ वर्षदेखि एकदमै निकट छौं, तर म उनी (श्रद्धा) सँग डेटिङमा छैन । मैले उनलाई पार्टीमा भेटेको हुँ, देख्नेबित्तिकै उनी मेरो आँखामा बसिन् । पहिलो नजरमै उनी मलाई क्युट लागिन्, म उनी लामो समयसम्म मेरो साथी हुन्छिन् कि हुन्नन् भन्नेमा सोचमग्न भए ।’
नेपालीमूलका भारतीय फोटोग्राफर श्रेष्ठ तथा बलिउडकी चर्चित अभिनेत्री श्रद्धाबीचको अफेयर्सको खबरले बलिउड गसिप बजार गर्माइरहेका बेला अब प्रश्न उठ्छ, के श्रद्धा नेपालकी बुहारी बन्लिन् ? यो कुरा त रहस्यकै गर्भमा छ । हुन त बलिउडको गसिप बजारमा यस्ता कैयौं उधारा गसिप चलिरहन्छन् ।
को हुन् श्रद्धा ?
श्रद्धा कपुर बलिउडका प्रसिद्ध कलाकार शक्ति कपुर तथा शिवांगी कपुरकी छोरी हुन् । उनका बुवा पन्जाबी हुन् भने आमा मराठी । ३१ वर्षीया श्रद्धाले सन् २०१० मा चलचित्र तीन पत्तीको कलेज गर्लको भूमिकाबाट बलिउडमा डेब्यु गरेकी थिइन् । उनको लोकप्रियता भने सन् २०१३ मा प्रदर्शित ‘आशिकी—२’ बाट चुलिएको हो । त्यसबाहेक उनले एक भिलेन, हैदर, बागी, हाफ गर्लफ्रेन्डजस्ता चलचित्रमा अभिनय गरिसकेकी छिन् । मुम्बईमा जन्मिएकी श्रद्धाका चलचित्रको संख्या करिब २० छ ।
उनको सुरुवाती स्कुलिङ जमान भाइ स्कुल मुम्बईमा भएको हो । त्यसपछि उनी अमेरिकन स्कुल अफ बम्बेमा पढ्न थालिन्, जहाँ उनी फुटबल तथा ह्यान्डबल खेल्थिन् । त्यसपछि उनी थप अध्ययनका लागि अमेरिकाको बोस्टन युनिभर्सिटी पुगिन् ।
रोहन
३४ वर्षीय रोहनको मूलघर काठमाडौं हो । उनका पिता राकेश श्रेष्ठ काठमाडौंमा जन्मिएका हुन् । फोटोग्राफीका सौखिन राकेश पछि मुम्बई गए र उतै सेलिब्रेटी फोटोग्राफरका रूपमा लोकप्रियता कमाए । बलिउडमा सेलिब्रेटी फोटोग्राफरका रूपमा राकेशको बेग्लै स्थान छ ।
रोहनको जन्म भारतको मुम्बईमै भएको हो । उनले न्युयोर्क फिल्म एकेडेमीमा अध्ययन गरेका थिए । युवावस्थादेखि नै बुवाको बाटो पछ्याउँदै फोटोग्राफीलाई नै आफ्नो पेसा बनाएका रोहन हाल बलिउडका ब्यस्त तथा रुचाइएका फोटोग्राफर मानिन्छन् ।
श्रेष्ठले गल्यामर संसारका लिडिङ तथा प्रख्यात म्यागजिन फिल्मफेयर, इन्डिया जिक्यु, फेमिना, कस्मोपोलिटन, पिपुल आदिका कभर फोटो सुट गरिसकेका छन् । त्यसबाहेक उनले विज्ञापन तथा ब्रान्डका लागि पनि फोटोग्राफी गर्दै आएका छन् । रोहनले बलिउडका शाहरूख खानदेखि प्राय:सबैजसो सेलिब्रेटीको फोटोसुट गरेका छन् । सिर्जनशीलता र नवीन स्टाइलका कारण उनी अहिले ग्ल्यामर संसारका उम्दा फोटोग्राफर मानिन्छन् ।
इन्स्टाग्रामको एक पोस्टलाई आधार मान्ने हो भने उनले भूकम्पताका नेपालका लागि सहयोग जुटाउने कामसमेत गरेका थिए । जसमा श्रद्धाले समेत हात मिलाएकी थिइन ।