साप्ताहिक संवाददाता
तिमी हिँडने पिच गर्दिन्छु रोड...शीर्षकको गीत युट्युबमा डेढ महिनासम्म ट्रेन्डिङमा रह्यो । अहिले यो गीतको भ्युज १ करोड ५० लाखभन्दा माथि पुगिसकेको छ । भारतीय डान्स रियलिटी शोका विजेता सुशान्त खत्री तथा अभिनेत्री आँचल शर्माले उक्त भिडियोमा अभिनय गरेका छन् । अस्ट्रेलिया बसेर युट्युबबाटै धुम मच्चाइरहेका गायक समीर आचार्यको चर्चा यही गीतबाट चुलिएको छ ।
कन्सर्टका लागि हालै अमेरिका आएका बेला गायक समीरले साप्ताहिकसँगको कुराकानीमा भने– ‘अष्ट्रेलियाभित्रमा मात्र होइन, अमेरिकालगायत अन्य युरोपेली देशबाट पनि कन्सर्टका लागि अफर आउने क्रम बढेको छ । भ्वाइस अफ नेपालमा सहभागी भएर चर्चामा आएकी विद्या तिवारीले पिच रोड शीर्षकको उनको गीतको फिमेल भर्सनमा साथ दिएकी छिन् ।
२००८ मा अध्ययनका लागि अमेरिका पुगेका समीर झन्डै चार वर्ष गुमनाम बसे । सुरुमा उनलाई विदेशमा सेटल हुन नै समय लाग्यो । सन् २०१२ मा उनले तरज शीर्षकको एल्बम निकाले, तर उक्त एल्बम सुपर फ्लप भयो । त्यस्तै आचार्यले सन् २०१३ मा बडा गजबको शीर्षकमा अर्को एल्बम निकाले । त्यो पनि उनका लागि दाँतमा ढुंगा लागेझंै भयो, तर उनले हिम्मत हारेनन् ।
सन् २०१५ मा हैन भन्देऊ न शीर्षकको गीति एल्बम तयार पारे । आनन्द अधिकारीको रचना एवं शिखर सन्तोषको संगीत संयोजनको उक्त एल्बमको गीतले उनलाई केही चिनायो । त्यही वर्ष उनलाई अमेरिकाबाट गीत गाउन अफर आयो । सन् २०१६ मा उनले दुनियाँ बेग्लै छ शीर्षकको गीत युट्युबमार्फत सार्वजनिक गरे । त्यसपछि युट्युबबाट सार्वजनिक गरिएका आचार्यका गीत लगातार ट्रेन्डिङमा
परेका छन् ।
अष्ट्रेलियामा सम्पन्न पछिल्लो नेपाल फेस्टिबलमा झन्डै २० हजार दर्शकमाझ प्रस्तुति दिने क्रममा उनले हटी हैन डटी लडने नेपालीको बानी हुन्छ राष्ट्रिय गीतबाट आफ्नो प्रस्तुति थालेका थिए । यो गीत गाएपछि उनी विवादमा परे । राजावादी भन्दै उनलाई फेसबुकमा गाली गर्नेहरू बढे । यो घटनापछि उनी केही समय बिदेसिएका नेपालीहरूमाझ भाइरल भए । फोनमा पनि उनले राजवादीको आरोप खेप्नुपर्यो । म न राजनीतिकर्मी हुँ, न राजावादी, कुराकानीका क्रममा उनले भने– ‘कन्सर्टमा मैले सधैं राष्ट्रिय भावका गीत गाउँदै आएको छु, त्यो दिन उक्त गीत गाउँदा सकारात्मक तथा नकारात्मक दुवै प्रतिक्रिया पाएँ ।’