पहिलो यौनसम्पर्क जीवनको विशेष घटना भएकाले पनि यसलाई त्यसै किसिमले महत्व दिनुपर्छ र यसमा हतार गर्नु हुँदैन । तपाईंहरू दुवै जना तयार नभएको स्थितिमा यौनआनन्दका लागि वैकल्पिक उपाय अपनाउने कुरा कुराको थालनी गर्नु भए–नभएको थाहा भएन, तर यो एउटा राम्रो उपाय हुन सक्छ । वैकल्पिक यौनआनन्दको उपायको कुरा गर्दा हस्तमैथुन, यौन परिकल्पना, चुम्बन, आलिड्डन, यौन संवेदनशील अड्ड सुमसुम्याउने वा मर्दन गर्ने, शरीरको घर्षण गर्ने, आपसी हस्तमैथुनदेखि यौन साहित्य पढ्ने वा यौन चलचित्र हेर्नेसमेतको कुरा गर्न सकिन्छ ।
म आफ्नी गर्लफ्रेन्डसँग अन्तरंग सम्बन्ध राख्न चाहन्छु, तर उनी मान्दिनन् । अब मैले के गर्नुपर्छ ?
- ४३५९
तपाईंको चाहना
किशोरावस्था वा युवा अवस्थामा स्वाभाविक रूपमै विपरीत लिङ्गीहरूप्रति आकर्षित भइन्छ । यसै क्रममा कसैलाई मन पराइन्छ अनि प्रेम वा भनौं माया अर्थात् श्रृङ्गार रसका भावनाहरू आउँछन् । यही क्रममा यौनसम्पर्क समेत राख्न सकिन्छ । यी भावनाहरूको उचित व्यवस्थापन सामान्य सामाजिक जीवनयापनका लागि पनि आवश्यक हुन्छ ।
तपाईंले गर्लफ्रेन्ड भनेर उल्लेख गर्नुभएको छ, मैले यसलाई प्रेमिकाका रूपमा बुझेको छु, तर पनि तपाईंहरूबीचको सम्बन्ध के–कस्तो छ, पत्रबाट स्पष्ट हुँदैन । तपाईंले क्षणिक आकर्षण र वास्तविक प्रेमको बीचमा फरक छुट्टयाउनु आवश्यक हुन्छ । क्षणिक आकर्षणलाई नै प्रेम मान्दा खाडलमा पर्ने सम्भावना हुन्छ । युवावस्थामा आकर्षण वा मोह (infatuation) नै वास्तविक प्रेम हो जस्तो लाग्न सक्छ । उमेर बढी हुँदै गएपछि त्यो क्षणिक आकर्षणमा सीमित हुने सम्भावना हुन्छ । प्रेम तथा आकर्षणका बीचमा भएका भिन्नता छुट्टयाउन सक्नुपर्छ । प्रेम वास्तवमा बिस्तारै हुने प्रक्रिया हो । यो दुई व्यक्ति साथसाथै हुर्कंदा विकसित हुन्छ र यसमा मानिसको सम्पूर्ण व्यक्तित्व नै संलग्न हुन्छ । प्रेममा अर्को व्यक्तिको भावना तथा शरीर दुवैको कदर गरिन्छ र उक्त व्यक्तिलाई सुखी राख्न प्रयत्न गरिन्छ । त्यहाँ यौनसम्पर्क राख्ने कुरा सर्वोपरि हुँदैन ।
उनले किन नमानेको होला ?
विवाहपूर्व यौनसम्पर्क राख्नुको आ–आफ्नै किसिमको प्रभाव हुन सक्छ । विवाहको उमेर अहिलेको आधुनिक समाजमा पछिल्तिर धकेलिएको छ तर यौनचाहना किशोरावस्थादेखि नै तीव्र हुने कुरा यथार्थ हो । किशोरावस्था वा युवावस्थामा हुने असीम यौनचाहनालाई शान्त पार्न कतिपयले विवाहपूर्व नै भए पनि यौनसम्पर्क गर्छन् । यसबाट पर्न सक्ने प्रभावका सम्बन्धमा यथेष्ट जानकारी राख्नु आवश्यक छ । सामाजिक रूपमा अमान्य भएका कारण त्यस्तो सम्बन्धकै कारण सामाजिक बहिष्कार तथा हेंलाको सामना गर्नुपर्ने हुनसक्छ ।
यस किसिमको यौनसम्पर्क प्राय:जसो हतारमा गरिने भएकाले गर्भनिरोधका उपायहरू अपनाइँदैन । त्यसैले गर्भ रहने सम्भावना हुन्छ । यदि गर्भ रहे बेइज्जती सहनुपर्ने, वैवाहिक सम्बन्धमा बाँधिन बाध्य हुनुपर्ने, परिपक्व नै नभै अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने आदि हुनसक्छ । गम्भीर आर्थिक तथा सामाजिक असुरक्षाजस्ता समस्या सामना गर्नुपर्ने हुन्छ । अर्को पक्ष, गर्भ तुहाउन गरिने प्रयासको आफ्नै समस्याहरू छन् । त्यसैले विचार नपुर्याई गरिने यौनसम्पर्कबाट जोगिनु आवश्यक छ । जति सानो उमेरमा यौनसम्पर्क सुरु गर्यो त्यति नै धेरै यौन साथी हुने सम्भावना हुन्छ, जसले जोखिम बढाउँछ भन्ने कुरा त हामीलाई थाहै छ ।
जैविक विकासवादको कुरा हेर्ने हो भने पनि यौनसम्पर्कपछि हुने गर्भ, सन्तानको जन्म वा अन्य कुराको मूल्य बढी चुकाउनुपर्ने स्थिति पुरुषको तुलनामा महिलालाई बढी हुन्छ । त्यसैले सामान्य रूपमा महिलाहरू सजिलै यौनसम्पर्क राख्न मान्दैनन् । कतिपय कारणले पुरुषको तुलनामा महिलाले यौनसम्पर्कपछि बढी मूल्य चुकाउनुपर्ने भएको हुनाले जैविक रूपमा महिलाहरू धेरै नै सोचविचार गर्छन् र सजिलै यौनसम्पर्क गर्न मान्दैनन् । मेरो विचारमा यसमा असामान्य मान्नुपर्ने कुरा केही छैन । समाजले पनि यस्तै अनुभववाट सिकेका कुराबाट महिलालाइ प्रशिक्षित गरेको हुन्छ ।
तपाईंले यौनसम्पर्कको समेत कुरा गर्नु भएकाले तपाईंहरूबीच निकै गहिरो सम्बन्ध रहेको संकेत मिल्छ । तपाईंकी प्रेमिकाका रूपमा उहाँ तपाईंको नजिक आउनुलाई विपरीत लिङ्गीसँगको आकर्षण मान्न सकिन्छ, यौनचाहना भयो भन्दैमा त्यस्तो सम्बन्ध राख्दै हिँड्नुपर्छ भन्ने पनि छैन ।
के गर्नुपर्ला
यौनआनन्द लिने तर यौनसम्पर्क राख्ने दबाबलाई न्यूनीकरण गर्ने वातावरण दुवै जना मिलेर गर्नु उपयुक्त हुन्छ । यस्ता निर्णय वा भनौं अठोट पालना गर्न नसक्दा समस्यामा परिन्छ नै । पहिलो यौनसम्पर्क कुनै पनि व्यक्तिका लागि एक विशेष घटना हो । दुवै जना नै शारीरिक, मानसिक अनि भावनात्मक रूपमा तयार भएपछि मात्र यसमा संलग्न हुनुपर्छ । यो कुरामा जबरजस्ती गर्दा सम्बन्ध नै धरापमा पर्छ ।
पहिलो यौनसम्पर्क जीवनको विशेष घटना भएकाले पनि यसलाई त्यसै किसिमले महत्व दिनुपर्छ र यसमा हतार गर्नु हुँदैन । तपाईंहरू दुवै जना तयार नभएको स्थितिमा यौनआनन्दका लागि वैकल्पिक उपाय अपनाउने कुरा कुराको थालनी गर्नु भए–नभएको थाहा भएन, तर यो एउटा राम्रो उपाय हुन सक्छ । वैकल्पिक यौनआनन्दको उपायको कुरा गर्दा हस्तमैथुन, यौन परिकल्पना, चुम्बन, आलिङ्गन, यौन संवेदनशील अङ्ग सुमसुम्याउने वा मर्दन गर्ने, शरीरको घर्षण गर्ने, आपसी हस्तमैथुनदेखि यौन साहित्य पढ्ने वा यौन चलचित्र हेर्नेसमेतको कुरा गर्न सकिन्छ । यस्ता कतिपय कुरा गर्दा योनि–लिङ्ग मैथुन नगरिकनै यौनसुख प्राप्त हुने कुरा तपाईंलाई थाहै होला ।
तपाईंको सम्बन्धले कुनै कारणले निरन्तरता पाउन नसकेको स्थितिमा तपाईंमा हुने ग्लानि, हीनताबोध अनि असहजपन पनि निकै कम हुन्छ । एक अर्थमा यौनसम्पर्कलाई गहिरो प्रणय सम्बन्धको प्रतीकका रूपमा पनि लिइन्छ । अहिलेको सम्बन्धले निरन्तरता पाउन नसकेको स्थितिमा त्यसबाट बाहिर निस्कन गाह्रो हुन्छ । यसलाई बिर्सेर अर्को सम्बन्ध स्थापित गर्न पनि असजिलो हुन्छ । केही दूरी राखेको स्थितिमा सजिलो हुन्छ । पुरुषले तुलनात्मक रूपमा सजिलै यौनसम्पर्क राख्न साँचो प्रेम सम्बन्ध रहेको साथै अनेक कुरा गर्ने र यौनसम्पर्क राखिसकेपछि त्यसलाई त्यसैअनुरूपको महत्व नदिने, निरन्तरता नदिने वा महिलाको चरित्र पनि बलियो नभएको आरोपसमेत लगाउने हुनाले यौनसम्पर्कको मामिलामा महिलाले विशेष सावधानी अपनाउनुपर्ने हुन्छ, जुन कुरा ठीकै हो ।
यहाँ तपाईंकी प्रेमिकाले तपाईंसँगको सम्बन्ध गहिरो नै भए पनि आफूलाई एक सीमाभित्र राख्न चाहनुभएको देखिन्छ, जुन आफैंमा बुद्धिमत्तापूर्ण कार्य हो । तपाईं उहाँलाई साँचो प्रेम गर्नुहुन्छ भने त्यसको सम्मान गर्नुहोस् र उहाँ तयार नभएसम्म अनावश्यक रूपमा दबाब नदिनुहोस् ।