साप्ताहिक संवाददाता
माघ १८ गते शुक्रबार एकसाथ तीनवटा नेपाली चलचित्र गोपी, रणवीर तथा सय कडा दश प्रदर्शनमा आए । मेकिङका हिसाबले तीनवटै चलचित्रलाई उत्कृष्ट मानियो, प्रचार–प्रसारमा पनि यी तीन चलचित्रबीच प्रतिस्पर्धा चल्यो भने माउथ पब्लिसिटी समेत प्रसस्त भयो । यद्यपि चलचित्रको सही मूल्यांकन सिनेमा हलमा हुन्छ । सिनेमा हलमा दर्शकको भीड जति बढी हुन्छ, त्यति नै उक्त चलचित्र सफल भएको मानिन्छ । यद्यपि यो साता प्रदर्शनमा आएका तीनवटै चलचित्रको व्यवसायिक पक्ष भने निराशाजनक छ ।
चलचित्र प्रदर्शन प्रारम्भ भएको तीन दिनपछि चलचित्र वितरक तथा जडिबुटीस्थित पुष्पाञ्जली सिनेमा हलका सञ्चालक गोपालकाजी कायस्थले फेसबुकमा एउटा स्टाटस लेखे– ‘हलमा दर्शक नभएर झिँगा धपाउँदै । हलमा दर्शक आउन फागुन १७ नै कुर्नु पर्ने भो– जय क्याप्टेन ।’ कायस्थको उक्त स्टाटस शुक्रबार प्रदर्शन भएका तीन चलचित्रप्रति लक्षित थियो । चलचित्र अभिनेता तथा निर्माता दीपकराज गिरीले पनि सिनेमा हलमा दर्शकको अभाव भएको आशयसहितको व्यंग्यात्मक स्टाटस लेखेका छन्– ‘दर्शक हराएको सूचना...’ । शुक्रबार प्रदर्शन भएका चलचित्र हेरेका दर्शकहरूको प्रतिक्रिया सकारात्मक नै छ भने समीक्षकहरूको मिश्रित । यद्यपि चलचित्रको व्यवसायिक पक्षले भने यी चलचित्रका लगानीकर्ताहरूको निद्रा गायब बनाएको छ ।
गोपी
दीपेन्द्र लामाको निर्देशनमा तयार भएको चलचित्र गोपीले स्वरोजगारको कथा बोकेको छ । विदेश जाने र पैसा कमाउने परिवारको चर्को दबाबलाई एकातिर पन्छाएर स्वदेशमै केही गर्न सकिन्छ भन्ने सन्देश बोकेको यो चलचित्रले गाईपालनलाई मुख्य विषय बनाएको छ । मणिकर्ण केसीको निर्माणमा बनेको यो चलचित्रमा विपिन कार्की, वर्षा राउत तथा सुरक्षा पन्त मुख्य भूमिकामा छन् ।
समीक्षक टिप्पणी
गोपी रचनात्मक हिसाबले असफल देखिन्छ । यो चलचित्र मसाला चलचित्र अनुरूप सूत्रबद्ध छैन । दृश्यभाषामा ‘गोपी’ कमजोर लाग्छ । ‘गोपी’ को कमजोर पटकथाको धरातलमा
हिँड्दा निर्देशक दीपेन्द्र लामा धर्मराएका छन् । धेरै दृश्यहरू समान प्रकृतिका र एउटै कोणबाट खिचिँदा पट्यार लाग्ने जोखिम बढी हुन्छ । कलाकारहरूको अभिनयमा खोट नभए पनि भूमिका बलियो नबन्दा पात्रहरू सशक्त हुन सकेका छैनन् । प्राविधिक रूपमा पनि फिल्म अब्बल बन्न सकेको छैन । कथा अघि बढाउन प्रयुक्त गीतले केही राहत भने दिएको छ । यो चलचित्र दर्शकलाई विषयसँग र पात्रको मनोभावनासँग एकाकार गराउनबाट चुकेको छ । यसमा निर्देशकको गृहकार्य फितलो देखिन्छ ।
सुशील पौडेल, कान्तिपुर दैनिक
गाईपालेर देशमै उद्यम गरेका युवालाई मुख्य भूमिकामा उभ्याइनु आफैंमा सुखद हो तर विषयले मात्र चलचित्रलाई विशेष बनाउँदैन । कसिलो संरचना र सिर्जनशील दृश्य नहुँदा चलचित्र फिक्का भैदिन्छ । गोपीको नियति यही हो । चलचित्रको पटकथामा अनेकौं अग्र्यानिक तत्व भए पनि पर्दामा त्यसलाई सिलसिलेवर रुपमा बुन्न निर्देशक धेरै कोणबाट चुकेका छन् ।
गोकर्ण गौतम, नेपाल साप्ताहिक
निर्देशक दीपेन्द्र लामाले उत्कृष्ट विषय त उठाए तर उत्कृष्ट कथा भन्नबाट चाहिँ चुके, किनभने कथा सरल हुनु कमजोरी होइन तर आवश्यक पात्रहरूलाई सही प्रकारको गति नदिनु र अनावश्यक पात्रहरूलाई जोड दिनु नै चलचित्र गोपीको कमजोरी हो । चलचित्र हेर्दै जाँदा कतिपय पात्रको दृश्य आउँदा एकदम उराठ लागेर आउँछ । जुन विषयलाई लिएर चलचित्र बनाइएको हो त्यो नै पो बिर्सिएको हो कि जस्तो पनि लाग्छ ।
गणेश भट्टराई, नयाँकुरो डटकम
सय कडा दश
रामशरण पाठकद्वारा निर्देशित चलचित्र सय कडा दशमार्फत व्यंग्यकार मनोज गजुरेल पहिलो पटक चलचित्र कलाकारका रूपमा देखा परेका छन् । भ्रष्टाचार विरुद्ध प्रेम भन्ने नारा बोकेको यो चलचित्रमा गजुरेलसँगै राजाराम पौडेल, करुणा श्रेष्ठ, अमृत ढुंगाना, उत्तम न्यौपाने आदि कलाकारले अभिनय गरेका छन् ।
समीक्षक टिप्पणी
सय कडा दशलाई म सामाजिक अभियन्ता चलचित्र भन्न रुचाउँछु । चलचित्रमा मनोरञ्जनभन्दा सन्देश बढी छ । अख्तियार र सरकारले बोक्नु पर्ने सन्देश यो चलचित्रले बोकेको छ । सन्देश दिने हिसाबले चलचित्र राम्रो बनेको छ । भ्रष्टाचारीले यो चलचित्र हेर्यो भने भविष्यमा भ्रष्टाचार गर्नुअघि दश पटक सोच्न बाध्य हुन्छ । यद्यपि चलचित्रको मेकिङमा कमी–कमजोरी छ । खासगरी पात्र चयन तथा पटकथामा धेरै नै कमजोरी छ ।
डब्बु क्षेत्री, राजधानी दैनिक
यो वर्ष प्रदर्शन भएका अधिकांश चलचित्रको मुख्य समस्या भनेकै पटकथा हो । सय कडा दशमा पनि त्यही समस्या दोहोरिएको छ । चलचित्रको विषयवस्तु जति नै राम्रो भए पनि लेखन तथा प्रस्तुतीकरण राम्रो भएन भने त्यो कमजोर हुन्छ । यो चलचित्रको कथा अब्बल छ, तर संरचना कमजोर छ । चलचित्रको व्याकरणलाई पछ्याइएको छैन । यसको ग्रामरमै समस्या छ । यद्यपि सन्देशको दृष्टिकोणले जति जनाले चलचित्र हेर्नु भएको छ, सबैले राम्रो मान्नु भएको छ ।
विष्णु शर्मा, मुभिमाण्डु डटकम
समग्रमा चलचित्रको सन्देशबाहेक अन्य कुरा खासै प्रभावकारी लागेन । भ्रष्टाचारीलाई आत्मग्लानी गराउने कथा भए पनि प्रस्तुतीकरण राम्रो छैन । चलचित्रमा समावेश गरिएका कतिपय कुरा प्राक्टिकल लाग्दैनन् । यो चलचित्रले भ्रष्टाचार विरुद्ध जागरुक त गराउँछ तर प्रस्तुतीकरण नै फितलो छ । विषयवस्तु राम्रो भए पनि मेकिङ फितलो भएपछि कसको के लाग्छ र ?
लक्ष्मण सुवेदी, नयाँ पत्रिका दैनिक
रणवीर
दक्षिण भारतीय चलचित्र निर्देशनको अनुभव संगालेका गोविन्द सिहं भण्डारीको निर्देशनमा तयार भएको चलचित्र रणवीरमा सुशील सिटौला, शुभेच्छा खड्का, सुपुष्पा भट्ट, प्रशान्त ताम्राकार, टिका पहारी, हरिहर अधिकारी, रवि गिरी, भोलाराज सापकोटा आदि कलाकारले अभिनय गरेका छन् । यो चलचित्र एक्सन लभ स्टोरी विधामा आधारित छ ।
समीक्षक टिप्पणी
चलचित्र रणवीरको मूल कथा अभिनेता सुशिल सिटौलाको वरिपरि घुमेको छ । एक्सनले भरिएको ट्ेरलरमै सिटौलालाई अभिनेता प्रशान्त ताम्राकारसँग घम्साघम्सी गर्दा नसुहाएको थुप्रै प्रतिक्रिया आएका थिए । सुशीलकै कारण चलचित्र नचल्ने शंका पनि रिलिजपूर्व नगरिएको होइन् । यद्यपि चलचित्र हेरेपछि सुशीलको अभिनयले प्रशंसा पाएको छ । अग्लो कद र शारीरिक बलका प्रशान्तसँग उनको भिडन्तले दक्षिण भारतीय चलचित्रको झझल्को दिन्छ । बदला लिन उनले शारीरिक बनावटमा ल्याएको परिवर्तन पनि तारिफयोग्य छ ।
मनिष अञ्जान, फिल्मीखबर डटकम
सुकिलो मुकिलो मान्छे, हेर्दै खाई लाग्दो ज्यान, बदलाको भाव र गुण्डाले हिरोलाई आफ्नो अगाडि ल्याउन हिरोइनको प्रयोग गरेको छ भने त्यो एक्सन चलचित्र नै हो । कुनै एक्सन फिल्म कथानक हुन्छ, कुनै भयानक । चलचित्र रणवीर कथानक त त्यति लाग्दैन, तर भयानक चाहिँ छ । त्यसैले रणवीर कथानक भन्दा पनि सिचुएसनल एक्सन फिल्म हो । चलचित्रले बलियो कथा बुन्न नसक्नु यसको कमजोर पक्ष सावित भएको छ । चलचित्रमा दक्षिण भारतीय चलचित्रको शैलीलाई मात्र आधार बनाइएको छैन, कथा पनि उतैबाट उतारिएको छ । त्यही कथा भित्रको तानाबाना नेपाली समाजमा प्रस्तुत गर्दा केही अपाच्य समेत देखिन्छ ।
समीर बलामी, फिल्मीफण्डा डटकम
एक्सन चलचित्रको संख्या कम भएका बेला रणबीरले त्यसको अभाव पूर्ति गरेको छ । दक्षिण भारतीय चलचित्रको अनुभवलाई निर्देशक भण्डारीले सकारात्मक रूपले प्रस्तुत गरेका छन् । चलचित्रको पृष्ठभूमि संगीत राम्रो छ । मेकिङमा कम्प्रमाइज गरिएको छैन । यद्यपि केही कमिकमजोरी नभएका होइनन् । पात्र छनोटमा ध्यान दिन सकिएको भए यो चलचित्र अझ उत्कृष्ट बन्न सक्ने थियो ।
बैकुण्ठराज पराजुली, फिल्मीनेपाल डटकम