प्रेम मानिससँग हुने एक मात्र पवित्र भावना हो । यो सदैव एउटै र उस्तै हुनुपर्ने हो, तर समयसँगै, आधुनिकतासँगै परिभाषा परिवर्तन हुँदो रै’छ । बढ्दो सहरीकरण र बजारीकरणको प्रभावमा प्रेम भावना कम व्यापार बढी हुँदै गएको छ ।
कोही दुई जना प्रेमसम्बन्धमा हुनु सुन्दर कुरा हो । कसैले प्रेमको भावना उजागर गर्दा, कसैको ख्याल राख्दा, सन्चो–बिसन्चो सोध्दा उत्पन्न हुने तरंगले जो–कोही ऊर्जाशील हुन्छन्, तर अचेल विशेषत: सहरमा नवयुवाहरूले प्रेम भावना कम एक–अर्कालाई प्रयोग गरी क्षणिक स्वार्थ सिद्ध गर्ने माध्यम बनाउँदै गएको पाइन्छ । कामकाजमा व्यस्त युवायुवतीले पनि सम्बन्धको उपयोग अनेक तवरले गरेको देखिन्छ । प्रेमको अन्तिम गन्तव्य विवाह हुँदै होइन, यो त शाश्वत चलिरहनुपर्छ । आधुनिक युवाहरूमा विवाह गर्नुभन्दा पनि स्वतन्त्रतापूर्वक कसैसँग समस्या नहुन्जेल सम्बन्धमा रहने परिपाटी बढेको देखिन्छ । खुला रूपमा र पर्दापछाडि सहरमा के–कस्ता सम्बन्धका नयाँ शैली प्रचलनमा छन्, एकछिन सरसर्ती हेरौं है त ।
लिभिङ टुगेदर : सम्बन्धमा रहने यो शैली अलि पुरानै हो । यसमा कुरा मिलुन्जेल केटा र केटी सँगै रहन्छन् । पछि सम्बन्धको घनत्व बढ्दै गए विवाह पनि हुन सक्छ । विवाह गर्नुभन्दा पहिले एक–अर्कासँग कत्तिको सहज हुन सकिन्छ भन्ने कुराको परीक्षण गर्न पनि जोडीहरू यसरी बस्छन् ।
लिभिङ सेपरेट्ली मिटिङ टुगेदर : यो शैलीमा विवाहित वा अविवाहित दुवै युवायुवती रहन सक्छन् । सहरिया जीवनशैली, स्वतन्त्रताको चाहना, कार्यव्यस्तता आदिले गर्दा समाजका लागि विवाह गरिदिने तर बेग्लाबेग्लै बस्ने तर आवश्यकताको सिद्धान्तअनुसार यौनसम्बन्धका लागि वा अन्य कुराका लागि बेलाबखत भेट्न जाने, सन्चो–बिसन्चो सोध्ने यो भर्खरै सुरु भएको नयाँ शैली हो । यसमा जोडीहरू एक–अर्काप्रति बफादार नै रहन्छन् भन्न सकिँदैन, तर समाजका अगाडि श्रीमान्–श्रीमतीका रूपमा देखिन सक्छन् ।
लिभिङ एलोन : यो शैलीमा कामकाजी युवाहरू आफ्नो घर भए पनि परिवारसँगै बस्दैनन् । उनीहरू अन्तै डेरा वा फ्ल्याट भाडामा लिएर वा किनेर बस्छन् । परिवारसँग बस्दा नियम र मर्यादामा बस्नुपर्ने, आफूले चाहेको समय वा तौरतरिकाले खान–बस्न नमिल्ने, आफ्नो प्रेमीसँग चाहेको बेलामा भेट्न वा बेड सेयर गर्न नमिल्ने हुँदा युवाहरू एक्लै बस्न रुचाउँछन् । परिवारमा रहँदा विवाह गर्न दबाब बढ्ने तर एक्लै बस्दा आफ्नै तरिकाले यौनचाहनाको व्यवस्थापन गर्न र यौन साथीसँग सम्बन्ध राख्ने स्वतन्त्रता पाइने हुँदा युवाहरू यसतर्फ आकर्षित भएका हुन् ।
कमनप्लेस कमनफन : प्रेम बेग्लै कुरा हो, यौन बेग्लै कुरा हो, तर प्राकृतिक रूपमै एक–अर्काप्रति आकर्षित भएपछि यौनसम्बन्ध हुनु ठूलो कुरा होइन । सम्बन्ध राख्न सधैं होटल वा रिसोर्ट जानु एकदमै खर्चिलो कुरा हो । त्यसको व्यवस्थापन गर्न मन मिल्ने साथीहरू मिलेर एउटा फ्ल्याट भाडामा लिन्छन् र दामासाहीले त्यसको खर्च बेहोर्छन । त्यो समूह केटाको पनि हुन सक्छ, केटीहरूको पनि हुन सक्छ वा दुवैको पनि हुन्छ । उनीहरू समूहमा बसे जसरी बस्छन् र एक–अर्काको आवश्यकताअनुसार यौनसाथी लिएर उक्त स्थानको उपयोग गर्छन् । युवाहरूका लागि यो सुरक्षित र सस्तो उपाय हो ।
स्लिपिङ टुगेदर : यो शैलीमा प्राय: विवाहितहरू हुन्छन् । उनीहरूको विवाह अरू कसैसँग भएको हुन्छ तर मानिस असन्तुष्ट प्राणी हो, त्यसैले ऊ अरूसँग पनि आकर्षित हुन्छ नै । आफ्नो श्रीमान् वा श्रीमतीबाट नपाएको सन्तुष्टि प्राप्त गर्न वा कमी परिपूर्ति गर्न कतिपय महिला–पुरुषले बेलाबखत विवाहेत्तर सम्बन्ध राख्न पुग्छन् । उनीहरूबीच उच्च स्तरको सहमति हुन्छ । उनीहरू आफ्नो परिवारसँगै बस्छन् तर बेलाबखत अर्को पक्षबाट आफ्नो चाहना पूरा गर्छन् । सामाजिक रूपमा कतै भेटेका बेला त्यहीअनुरूप आफूलाई प्रस्तुत गर्छन् । यस्तो सम्बन्धमा युवाका साथै अधबैंसेहरू पनि हुन्छन् । कतिपय पुराना प्रेमीहरू जसको अनेक कारणले अन्तै विवाह भयो तर माया टुटेको हुँदैन, उनीहरू पनि यस्तै सम्बन्धमा रमाइरहेका हुन्छन् ।
बेस्टी : केटाको बेस्टी केटी पनि हुन सक्छ वा केटा नै पनि हुन सक्छ । केटीको हकमा पनि यही कुरा लागू हुन्छ । बेस्टी भन्नाले मिल्ने साथी बुझ्नुपर्छ । केटीकेटी वा केटाकेटा बेस्टी समलिंगी पनि हुन सक्छन् वा बाईसेक्स्युल पनि हुनसक्छन् । उनीहरू सँगै रहेर भावनात्मक वा शारिरिक चाहना पूरा गर्छन । बेस्टीहरू ठ्याक्कै प्रेमी नभै जगेडा प्रेमीजस्ता हुन् । आफूले खोजेजस्तो केटा वा केटी नपाउन्जेल उनीहरू बेस्टीबाट काम चलाउँछन् । सहमतिमा यौनसम्बन्ध राख्छन् र रमाउँछन् । श्रीमान्–श्रीमती हुन्जेल उनीहरूसँग पनि रमाउँछन् तर भएन भने बेस्टीले त्यसको परिपूर्ति गर्छ ।
यसरी अनेक तवरका सम्बन्धहरू समाजमा विकसित भैरहेका छन् । कतिलाई यस्तो पनि हुन्छ र भनेर अचम्म पनि लाग्ला तर भित्रभित्र यस्तो सम्बन्ध र व्यवहार फैलिरहेको छ । समाज आदर्शको मुखुण्डो लगाएर र ढोंग रचेर हिंडिरहन्छ तर पर्दापछाडि अनेक लीला पनि चलिरहेकै हुन्छ ।
कसैलाई लालच देखाएर, भ्रममा राखेर, झूटो भावना देखाएर कसैको उपयोग नगर्नुहोस्, जे–जस्तो सम्बन्ध राख्नुहुन्छ प्रस्ट भएर राख्नुहोस् जसले पछि आफूलाई, आफ्नो साथीलाई तथा एक–अर्काको परिवारलाई हानि नगरोस् । आफैंले बनाएको र राखेको सम्बन्ध आफ्नै लागि गलपासो नबनोस् । स्वस्थ रहनुुहोस्, मस्त रहनुुहोस् ।
facebook.com/abeeralthapa
Twitter@abeeralthapa